बागलुङ : आईएमई ग्रुपको करिब ३० करोड लगानीमा बागलुङमा सुविधा सम्पन्न होटल इला कम्फर्ट सञ्चालनमा आएको छ । उक्त होटलको शनिबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे । आईएमई ग्रुप अध्यक्ष चन्द्र ढकालले आफ्नो गृह जिल्लामा आमाको लागि घर खोजी गर्ने क्रममा होटलमा लगानी गर्न पुगेको बताए ।
‘मैले उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने क्रममा सबै परिवार यहाँ बागलुङमा आएका थियौं,’ढकालले भने,‘त्यो बेलामा होटल रेड एप्पलमा पर्याप्त कोठा नभएपछि हामी परिवारका सदस्यहरु पनि सबै एउटै होटलमा बस्न पाएनौं । त्यतिबेला आमाले भन्नुयो—यहाँ हाम्रो आफ्नै घर भएको भए सबै एकै ठाउँ बस्न पाईन्थ्यो नि । त्यसपछि आमाको लागि घर बनाउने ठाउँ खोज्दै जाँदा यहाँ होटल बन्ने वाताबरण बन्यो ।’
बागलुङ बजारको झण्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त थ्रीस्टार होटल सरहको भौतिक पूर्वाधारबाट पाँच तारे होटल बराबरको सुविधा उपलब्ध गराउने उनले बताए । ‘यो ठाउँ प्राविधिक शिक्षाका लागि भनेर लिईएको थियो, मापदण्ड अनुसार जग्गा अपुग भएपछि हामीले यहाँ होटल बनाएका छौं,’उनी भन्छन्,‘यहाँ केही हुँदैन भन्ने निराशा चिर्नका लागि हामी काम गर्न खोजिरहेका छौं ।’ उक्त होटलमा न्यूनतम ६ हजारदेखि २५ हजार रुपैयाँ पर्नेसम्मका ३० वटा कोठा रहेको बताईएको छ । होटल इला ढकालका आफ्नै छोरा सचिन ढकालले सञ्चालन गर्ने जिम्मा पाएका छन् ।
‘आफ्नो जन्मठाउँमा केही गर्नुपर्छ भनेर हामीले होटल इला कम्फर्ट सञ्चालनमा ल्याएका छौं,’होटल अध्यक्ष समेत रहेको सचिनले भने,‘पर्यटनका लागि यो क्षेत्र निकै सम्भावनायुक्त छ । त्यसकारण पनि हामीले यसमा लगानी गरेका छौं ।’ होटलको सुभारम्भ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेले निजी क्षेत्रको सहयोगले नेपालको पर्यटन विकास सम्भव भएको बताए । ‘सबै क्षेत्रमा सरकारले लगानी गरेर सक्दैन, सकारले वाताबरण सिर्जना गर्ने र निजी क्षेत्रले लगानी गरेर नै देश विकास हुने हो,’मन्त्री पाण्डेले भने,‘देशको पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान अतुलनीय छ ।’
उनले धौलागिरी क्षेत्रमा थुप्रै पर्यटन क्षेत्रको सम्भावना भएको हुँदा निजी क्षेत्रले यसमा पनि ध्यान दिन जरुरी रहेको बताए । लगानीमैत्री वाताबरण सिर्जना लागि अध्यादेश ल्याएको समेत बताए । ‘निजी क्षेत्रको लगानीलाई सहज बनाउनका लागि अध्यादेश ल्याएका थियौं,’उनी भन्छन्,‘त्यसले व्यवसायिक क्षेत्रमा लगानीको वाताबरण बन्नेछ ।’ उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चन्द्र ढकालले आफुहरु निन्तर पर्यटन पूर्वाधार निर्माण अगाडि बढेको बताए ।
‘७ प्रदेशमा सातै वटा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने हाम्रो योजना अनुसार अगाडि बढेका छौं, बागलुङ यो मेरो गृह जिल्ला पनि हो अहिले हामीले गरेको सानो लगानी हो,’ढकालले भने,‘केही दिन अगाडि आएको अध्यादेशले केही राम्रो संकेत मिलेको छ ।’ उद्योग वाणिज्य महासंघले पब्लिक कम्पनी स्थापना गरेर लगानी गर्ने काममा अगाडि बढेको उनले जानकारी गराए ।
‘हामीले ढोरपाटनमा महासंघको बैठक बसेर नेपाल डेभलपमेन्ट पब्लिक कम्पनी बनाएर १० अर्ब पुँजीको संकलन गरेका छौं,’उनले भने,‘त्यस मार्फत देशका ठूला योजनाहरुमा निजी क्षेत्रले हातेमालो गर्न चाहान्छ । सरकारले लगानीको वाताबरण बनाईदिएको खण्डमा हामी काम गर्छौं ।’ होटल उद्घाटनको क्रममा प्रतिनिधि सभा सदस्य दिपक गिरी, जीवन परियार, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले सुविधा सम्पन्न होटल सञ्चालन हुँदा यहाँको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताए । होटल इला कम्फर्ट सञ्चालनमा आएसंगै बागलुङमा अन्य व्यवसायीलाई पनि लगानी गर्नका लागि विश्वास बढेको बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन् ।
सुविधा सम्पन्न होटल खोज्दै रातारात पोखरा फर्किने पर्यटकहरुलाई बागलुङमै राख्नका लागि महत्वपूर्ण योगदान हुने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको भनाई छ । पोखरादेखि ७२ किलोमिटरको दुरीमा रहेको बागलुङमा धार्मिक तथा पर्यटकीयस्थलको रुपमा बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय, नेपालकै लामो झोलुङ्गे पुल, भैरवस्थान लगायतका ठाउँहरु छन् । पछिल्लो समय एक दर्जन हाराहारीमा सुविधा सम्पन्न होटल सञ्चालनमा रहेको बागलुङमा तारे होटल सरहको सेवा सुविधा उपलब्ध गराउने इला कम्फर्ट पहिलो हो ।