विचार

उत्तरगंगा सानी भेरी र धौलागिरी

उत्तरगंगा सानी भेरी र धौलागिरी

  • माघ २७, २०८१ आइतवार
  • २१:१२:३४ बजे
  • 4.3K
    SHARES
  • उत्तरगंगा सानी भेरी र धौलागिरी

    सानी भेरी नदिको उद्गम स्थल कहाँ हो ? 
    उत्तर – धौलागिरी हिमाल । 
    सामान्य ज्ञानको प्रश्नहरुको उत्तर यहीँ भेटिन्छ । सामान्य पियनदेखि खरिदार, सुब्बा, अधिकृत बन्न पढिने बडेमानको ठेली पुस्तकहरुमा भेटिने उत्तर ।

    पियनदेखि हाकिम बन्न खोज्नेहरुले रटेर बसेका हुन्छन् । भलै प्रश्न आईदिएन भने जिल्ल पर्नुको विकल्प छैन । धौलागिरी ( ८१६७) मिटर नेपालको छैटौ र विश्वको सातौ अग्लो चुचुरो देशका विभिन्न जिल्लाहरुबाट देख्न सकिन्छ । धौलागिरीको सुन्दरतामा मोहित भई कैयौ कवि कवयित्रीहरुले कविताहरु रचेका छन्, गीतकारले गीतहरु लेखेका छन् भने थुप्रै गायकले गीत गाएका छन् । मौसम खुलेको बेला कोसौँ टाढा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट सहजै देखिने धौलागिरीको चुचुरोलाई ढोरपाटनको ढिस्कोमा घण्टौ समय लगाएर निस्कनु पर्छ । मतलब ढोरको खाल्डोबाट देख्न भने सकिदैन । ढोरपाटनको फाँटहरु चिर्दै उत्तरगंगामा मिसिने ति स–साना खोला खोल्साहरुका उत्पति के धौलागिरीको कोखबाट नै भएको हो त ? यसै विषयको वरपर केन्द्रित रहेर आज लेख्ने प्रयास गर्नेछु । 
      
    ढोरपाटन उपत्यकाको विशाल फाँटको दक्षिण सुर्तिबाङ पाखाको फेदमा जम्माजम्मी २३ घरहरु छन् । ६ घर मगरहरुको बाँकी सबै दलित (विश्कर्मां) समुदायको । त्यहीँ बस्तीमा सानो पानी घट्ट चलाउन मिल्ने घट्टे कुलो छ । कुलोको आफ्नै महत्व रहेको छ । बस्ती तल करिब पाँच/सात मिटर दूरीको फरकमा दुई वटा पानीको मुलहरु छन् । एउटालाई कुलो बनाएर मुक्तिनाथको १ सय ८ धारा जस्तै कङ्क्रिटको त्रृmतिम बाइस धाराहरु बनाईएका छन् । त्यहाँको २२ धाराहरुको कथन र मुक्तिनाथको धाराहरुको किम्बदन्तिको मेल खान्छ । यहाँ धाराबाट झरेको पानी थापेर नुहाउन मिल्ने बनाइएको छ । त्यस पानीले नुहाएमा पुन्य मिल्ने जनविश्वास रहिआएको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन हजारौँ भक्तजनहरुले २२ धारामा नुहाउने र ढोर बराहको दर्शन गर्ने गर्दछन् । 

    अर्को मुल पूजा गरिने या भेडाको बली दिइने ठाँउ, जहाँ वरपर घर आकारमा बाँध लगाइएको छ । सिमेन्ट प्लास्टर गरी रंगरोघन गरिएको छ ।  सानो पोखरी बनाइएको छ । धुपिको लिङ्गो ठडाएर ध्वजा र घण्टीहरु झुन्डाइएका हुन्छन् । जनैपूर्णिमाका दिन पूजा गरिन्छ । जानकारहरुको अनुसार, ‘पहिले त्यस ठाउमाँ मन्दिर रहेछ । पछि देवताले घाम ताप्न पाएनन् भनी स्थानीय झाँक्रीको सल्लाहमा छानो भत्काइएको रहेछ ।’ हुन त ढोरपाटन वरपरका सबैभन्दा बुद्धिजीवी, डाक्टर, अगुवा, समाजसेवी जे भने पनि नै धामी झाँक्री हुन् भन्दा फरक नपर्ला । यतिले उनीहरुको परिचय नपुग्न पनि सक्छ । उनीहरुले समाजमा जे भने पनि चल्छ । 
           
    पानी बगेको ठाउँमा सानो स्वीमिङ पुल आकारको पोखरी बनाइएको छ । त्यहाँबाट बगेको पानी जम्मा गरी कुलो बनाई स्थानीय मन बहादुर पुनले पानी घट्ट बनाएका छन् । उनले  वि.सं. २०६० देखि पानी घट्ट चलाउदै आएका छन् । हिउदँमा ढोरमा मान्छे नबस्ने भएकाले सुनसान हुन्छ । वर्षादमा मात्रै चल्छ । हिउँदको समयमा घट्ट साहु पनि औल (बोबाङ) झर्ने गर्छन् । स्थानीयले २६०० मिटर माथिको क्षेत्रलाई ढोर र १८०० मिटर तलको क्षेत्रलाई औल भन्ने गर्छन् । गर्मी हुने क्षेत्रमा वर्षादको समयमा लामखुट्टेको टोकाइले औलो ज्वरो लाग्ने हुनाले औल भन्ने गरेका हुन् । कुनै समय लामखुट्टेको टोकाईले लाग्ने औलोको महामारी नै फैलिएको थियो । तराईबाट लामखुट्टे बिस्तारै पहाड उक्लिन थालेपछि ढोरपाटनवासीहरु ढोर निस्किन्थे । हिजोआज लामखुट्टे पनि ढोरवासीहरुसगँै गर्मी याममा ढोरपाटन उक्लिन्छ । ढोरपाटनको मौसम तातेर लामखुट्टे उक्लिएका हुन् कि ? लामखुट्टेहरुमा चिसो पचाउने क्षमताको वृद्धि भएको हो ?
        
    आकारमा सानो घट्टे कुलोले मुहानबाट लगभग आठ सय मिटर उत्तर बगरे ढोर खोलालाई भेट्टाएको छ । ढोर खोला कैयौं गुणा ठुलो छ, तर धार्मिक दृष्टिकोणको कारण घट्टेकुलोको महत्व बढेको हो । दक्षिणमा मुहान भई उत्तरतर्फ बगेको नदीलाई धार्मिक दृष्टिकोणको आधारमा महत्वको साथ हेरिने हुदाँ घट्टे कुलोलाई सम्मानका साथ उत्तरगंगा भनिएकोे हो । त्यसैलाई पबित्र जल (गंगा) भनि भक्तजनहरुले पुज्ने गर्दछन् । वास्तविक उत्तरगंगा त्यहीँ ढोरबराहा मन्दिरबाट बगेका घट्टेकुलो हो । 
       
    केही दिन पहिले बजारमा आएको चिरण पुनको शब्द तथा चर्चित गायक थानेस्वर गौतमको स्वरमा निस्किएको लोकगीत सामाजिक सञ्जालका प्लेटफर्महरु ‘युट्युब, टिकटक, फेसबुक रिलहरु’ मा खुबै देख्न र सुन्न सकिन्छ । गण्डकीका पश्चिम ग्रामीण भेकमा घन्किने एफ.एमहरुमा त दिनमा दश पटकभन्दा बढी यहीँ गीत घन्किन्छ हिजोआज ।

    दरमखोला फनफनि घुम्यो गलकोटका बिच हजुर
    माछी तलतल बग्यो, उमेर माथि माथि
    तर पनि छाडेन कहिल्यै, रिनै रिनको भारी हजुर 
    उत्तर गंगा उत्तरै बग्यो, ढोरपाटनको बिच हजुर

    गीतको केही अशं माथि समेटिएको छ । गीतमा ढोरपाटन बिच बगेको खोलालाई उत्तरगंगा भनिएको छ । बोलिचालिको भाषामा उपत्यकामा बग्ने खोलालाई उत्तरगंगा भन्ने गरिएता पनि वास्तवमा त्यसो भने होइन । पाखाथर, छेन्तुङ, गुर्जाघाटबाट बग्दै आएका साना तथा ठूला खोला र खोल्साहरु उत्तरगंगामा मिसिएपछि नवी, भुजी, निसेलढोर, डमचन, सेरा र तकसम्म उत्तरगंगा भनिन्छ । त्यस्तै हुकाम र मैकोट गाउँको खोच भई आएको पेल्मा खोला जाङ गाउँमाथि बगरमा मिसिएपछि उत्तरगंगाले नाम परिवर्तन गरि सानी भेरी हुन्छ ।
          
    उत्तरगंगा नमिसिएसम्म त्यहाँ माथिका खोला खोल्साहरुको स्थानीयहरुले परापूर्वक कालदेखि गरि दिएको न्वारनको नाम भने ठाउँ अनुसार भिन्दाभिन्दै छन् । ढोरपाटनदेखि उत्तरमा जलजलासम्मका साना खोला, सोता, खगर, खर्क, खोल्सा हुदैँ बगेको नदीहरुको कुरा गर्दा पाखाथरमा बीच गाउँमा रहेको ढोरखोलाको मुहान गर्पा छेरा (धुरी)को पूर्वी भाग हो । छेन्तुङ र भार्ते बिचको भार्ते खोलाको शिर दलसिंङ्गे देउरालीको पूर्व छेन्तुङ भाग हो । तुलनात्मक रुपमा ठुलो गोरुघाट (गुरगार) खोलाको शिर बुकीका थुम्काहरु फुर्से देउरालीको उत्तर बार्से, ढुक, टिकाधारा, राजवन, लाम्मेला, लक्करे, नुनथला जुन गाई, भैसी, भेडा, च्याङ्ग्रा चरण क्षेत्रहरु हुन् । बार्से (भेडा चरण क्षेत्र), नौलाखोला, रुवालचौर हुँदै स–साना मुहानहरु मिसिएर जम्मा भई आएको खोलालाई गुर्जाघाट भनिन्छ । जलजलाको फाँटमा मुहान भई आएको आकारले सानो मुस्किलले हिउदँको समयमा पानी घट्ट चल्न सक्ने खोला गुर्जाघाट गाउँ पुछार गुर्जाघाट खोलामा मिसिन्छ । 
        
    गोरुघाट खोलाको नाम बारेको कथन बडो रोचक रहेको छ । पहिले जमनामा गोठालाहरुले गाईगोरु चराउदाँ खोला वारिपारि गराई राख्नु पर्ने हुन्थ्यो । गाईवस्तु चराउँदै गर्दा खोला बढ्ने गर्दथ्यो । खोलाको मुहान बुकी क्षेत्रमा मुसलधारे पानी परेमा एक्कासी उर्लिएर रुख बिरुवाहरुसहित धमिलो आउने गर्दथ्यो । जसलाई स्थानीयहरु गार आएको भन्ने गर्दथे । अहिले पनि स्थानीयहरु जराबुटा, काठमुढासहित अचानक उर्लिएर आएको खोलालाई गार आएको नै भन्ने गर्दछन् ।  गार कतिबेला आउँछ गोठालाहरुलाई थाहा नै हुँदैनथ्यो । एक दिन गार उर्लिएर आएछ । गाई गोरुहरु गार पार गर्नलाई मुस्किल भएछ । कयैन प्रयास गर्दा पनि पार गर्नै सकेन छन् । एक जना गोठालाको बलियो गोरुले बल्लतल्ल पार गरेछ । त्यसपछि अन्य गाईगोरुहरु सबैले नदि पार गरेछन् । त्यसपछिका दिनहरुमा जतिनै ठुलो गार आए पनि गाईगोरुले त्यहीँ ठाउँबाट वारपार गर्न थालेछन् । उक्त गाईगोरु पार गरिरहने ठाउँ/घाटलाई गोठालाहरुले गोरुघाट भन्न थालेछन् । अहिले उक्त खोलालाई गुरघार त कसैले गुरघाट भन्ने गर्दछन् ।    
               
    यसरी हेर्दा ढोरपाटनका चौर, चुरेन, पुथा, गुर्जा हिमालहरुको पूर्वी क्षेत्र स्थानीय भाषामा बुकीका थुम्का, खर्क र खगरबाट मुहान भै ढोर खोला, भार्टे खोला, गुरघार, गुर्जाघाट र जलजला खोलाहरु आएका छन् । त्यसमा सानो पानी घट्ट चलाउन मिल्ने अनगिन्ती खोला, खहरे, खोल्सा र सोताहरुको पानी मिसिएका छन् ।  तिनीहरुको हिमालसँगको कुनै साइनो छैन । मुहानको उच्च भूभाग फुर्से देउराली र बार्से धुरी हुन् ति धुरीका थुम्काहरुले मौसमी हिउँ बाहेक हिउँसँग स्पर्श गर्न पाउँदैनन् । हिउँदमा मौसमी हिउँ पर्दाको हिउँ पग्लिएर आएमा अर्कै कुरा । झन धौलागिरीको हिमालको पानीसँग त कुनै आइनो साइनो छैन । 
        
    त्यस्तै पेल्मा गाउँँको पूर्वी भेगमा बग्ने घुस्तुङ खोलाको मुहान जल्पा तालको उत्तरी भेग ठाकुर, फागुने धुरीको पश्चिम भेग, मनसुन मेला, फल्याघर, सात वन र मुर्चुला धुरीको पश्चिम भाग हो । त्यस्तै हुकाम मैकोट बिचको पेल्मा खोलाको शिर भुजुङे ताल, स्याङखोला, दोगाडी, पुर्वाङ, सुनदह, जाङ्ला भञ्ज्याङ र पुथा हिमाल हुन् ।  पुथा र चुरेन हिमालको केही भाग को पानी मिसिएकाले आकारमा मैकोट खोला उत्तरगंगा भन्दा केही ठूलो छ । तर धौलागिरी हिमाल सित मैकोट खोलाको पनि कुनै साइनो छैन । धौलागिरी रेन्ज अन्तरगत पर्ने केही हिमालहरु ढोरपाटन नजिक पर्ने भएता पनि ति हिम चुचुराहरुबाट पग्लिएको पानी उत्तरगंगासम्म मितेरी लगाउन आउँदैन । उत्तरगंगामा मिसिने खोलाहरुको धौलागिरी हिमालसगँ नजिकको साइनो छैन । अन्तमा लोक सेवा आयोगले सोध्ने 
    सानी भेरी नदिको उत्गम स्थल कहाँ हो ?
    उत्तर– धौलागिरी हिमाल किन ?

  • सम्बन्धित विषय:

  • # उत्तरगंगा
  • # सानी भेरी

  • जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार