गलकोट (बागलुङ) : विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक छन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ संचालन गरेका सापकाेटा यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।
निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण सापकोटा बनेका छन् । उनीले १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका हुन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गर्नुभएको दूध आफैँ बजारीकरण गर्दै आएका छन् ।
“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, गाउँबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो” उनले भने । व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन् ।
उहाँको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउँछन् । पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।
“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भने, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा रु १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ।”
उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताए । अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । उहाँ रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा समेत गएका थिए । रासस