इमेज पीडित

राष्ट्रिय सहकारी बैंकमा इमेज पीडितको ताला 

राष्ट्रिय सहकारी बैंकमा इमेज पीडितको ताला 

  • जेठ २६, २०८२ आइतवार
  • १८:१०:४८ बजे
  • 3.6K
    SHARES
  • राष्ट्रिय सहकारी बैंकमा इमेज पीडितको ताला 

    बागलुङ : इमेज पीडित संघर्ष समितिले राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालयमा तालाबन्दी गरेको छ । आईतबार सूचनाको हक माग गर्दै कार्यालय गएको टोलीले मागे अनुसारको सूचना तथा जानकारी प्राप्त नभएपछि कार्यालयका सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर बाहिरबाट कार्यालयमा ताला लगाएको हो । राष्ट्रिय सहकारी बैंकले किस्ता किस्तामा इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर जग्गा लिलामीको सूचना निकालेपछि पीडितहरुले त्यसबारे सूचना माग गरेका थिए ।

     पोखरा र बागलुङको घर जग्गा यस अगाडि नै लिलाम भैसकेको छ भने बुर्तिबाङको घरजग्गाको लिलामीका लागि शुक्रबार सूचना प्रकाशित गरेको बताईएको छ । सूचना प्रकाशित भएको थाहा पाएपछि संघर्ष समितिले देवकुमार नेपाली, इमेज सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबीच भएको सम्झौतापत्र, धितो जग्गाको मन्जुरीनामाको पत्र, बैंक स्टेटमेन्ट र लिलाम सूचना निर्णयको प्रतिलिपी माग गर्दै राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालय पुगेको थियो । 

    सूचनाको हक खोज्दा नपाएपछि ताला लगाएको इमेज पीडित संघर्ष समितिको संयोजक डिलबहादुर कार्कीले बताए । ‘देवकुमार नेपालीको एक अर्ब पर्ने सम्पत्ती सहकारी बैंकले सुटुक्क सूचना निकालेर १२ करोडमा लिलाम गर्न लागेको थाहा पाएपछि हामीले सूचना माग गर्न कार्यालय गएका थियौं,’उनले भने,‘हामीले सूचना नपाएपछि ताला लगाएका हौं । अहिले सिडिओ कार्यालयमा छलफलमा छौं ।’ इमेज पीडितले ताला लगाएपछि राष्ट्रिय सहकारी बैंकका कर्मचारी र सेवाग्राही समेत भित्रै थुनिएका छन् ।

     जिल्ला प्रशासन कार्यालयमा छलफल भैरहेकाले आफुहरुले सुरक्षा दिएर बसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सहकारी मार्फत झण्डै दुई अर्ब बढि घोटाला गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा छन् ।  

  • सम्बन्धित विषय:

  • # इमेज

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार