नीति कार्यक्रम

कृषिमा आत्मनिर्भर बन्ने गलकोट नगरपालिकाको नीति 

कृषिमा आत्मनिर्भर बन्ने गलकोट नगरपालिकाको नीति 

  • आषाढ ५, २०८२ बिहिवार
  • १९:२२:२८ बजे
  • 3.0K
    SHARES
  • कृषिमा आत्मनिर्भर बन्ने गलकोट नगरपालिकाको नीति 

    बागलुङ : जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोट नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजना सहित आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम सार्वजनिक गरे । उनले त्यसका लागि किसानलाई उत्पादनको आधारमा अनुदान दिने बताए । गलकोट नगरपालिका नगरसभाको बिहीबारबाट सुरु भएको १७ औं अधिवेसनमा उत्पादन कृषकको, प्रोत्साहन नगरको नारा सहित व्यवसायिक कृषि, मौरीपालन व्यवसाय, उद्योग सञ्चालन गरेका व्यवसायीलाई उत्पादनको दायरा, परिमाण क्षेत्रफल लगायतका आधारलाई मापदण्ड बनाएर उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गर्ने उल्लेख छ । 

    नगरप्रमुख गैरेले आर्थिक विकासको मुख्य आधार कृषिलाई मान्दै कृषिमा आधुनिकीकरण सहितको व्यवसायीकरण, खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति सहितको उद्देश्यमा दिगो व्यवसायिक विस्तारद्वारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आय आर्जन उन्मुख गराउने उल्लेख छ । नगरप्रमुख गैरेले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्दै सामुहिक तथा सहकारी खेती प्रणालीमा जोड दिएका छन् । नगरपालिकाले माटोको परीक्षण गर्ने र माटोको उत्पादन क्षमताको आधारमा कृषि प्रणाली अगाडि बढाउन तथा माटोको उत्पादन क्षमतामा विकास गर्न प्राङ्गारिक खेती प्रणालीलाई बढावा दिने उल्लेख गरिएको छ ।

     नगरपालिकाले नगदेवाली उत्पादनलाई विशेष प्राथमिकता दिने जनाएको छ । व्यवसायिक तरकारी खेती, फलफुल खेती, मसलाबाली प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । तुलनात्मक रुपमा कम लगानी र बढि आम्दानी दिने लसुन लगायतका खेतीमा नगरपालिकाले जोड दिनेछ । पशुपालनबाट अधिक आम्दानी लिन नश्ल सुधारको कार्यक्रमलाई जोड दिईएको छ । नगरपालिकाले उन्न्त जातका भैंसी राँगा वितरण गर्नेगरी नीति कार्यक्रम ल्याएको छ । 

    नगपालिकालाई अण्डा र दूधमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालन कुखुरापालन हाँसपालन माछा पालन लगायतका काममा लाग्ने कृषकहरुलाई विशेष प्रोत्साहन गरिनेछ । बाख्राखोर सुधार, गाई भैंसी गोठ सुधारका लागि कार्यक्रम सञ्चालन गर्नुका साथै पशु सेवा केन्द्रबाट ४० प्रतिशत अनुदानमा औषधी वितरण गरिनेछ । नगरपालिका गलकोटै पहिचान बनेको दरमखोलाको असला माछा संरक्षणका लागि माछाले फुल पार्ने समय भदौदेखि मंसिरम्म माछा मार्न प्रतिवन्ध लगाउने र अन्य समयमा व्यवस्थीत गर्नेछ । गलकोट नगरपालिकाको ऐतिहाँसिक धरोहर र पर्यटकीय ठाउँहरुको संरक्षण प्रवद्र्धन र विकास गरी पर्यटन मार्फत आर्थिक विकासमा ध्यान दिने नगरपालिकाको नीति कार्यक्रममा गैरेले उल्लेख गरेका छन् ।

     कोतघर, अन्र्तराष्ट्रिय मूतिकला संग्रहालयको संरक्षण र विकासमा विशेष पहल गर्ने नीति कार्यक्रममा उल्लेख । गलकोट दरबार, घुम्टेको लेक, सिद्धथान, सहस्र झरना, रमुवा, निलुवा, थालेपोखरा, कालीलेक, राम्चेढुङ्का, उदयवुद्ध विहार, चमेरे गुफा, शिवधुरी जागाधुरी लगायत क्षेत्रका प्रचार प्रसार र विकास मार्फत पर्यटन प्रद्धन गर्ने नगरपालिकाले जनाएको छ । गलकोटको पहिचान बनेको असला माछाको प्रतिमा निर्माण गर्ने, रमुवा पाण्डवखानी, निलुवा लगायतका स्थानमा हुने मह शिकारलाई पर्यटनसंग जोड्ने गलकोटको नीति छ ।

     शैक्षिक सुधारका लागि विद्यार्थीलाई विद्यालयमा ल्याउने र टिकाउन सिकाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । परीक्षा प्रणालीमा सुधार गर्दै कक्षा ८, कक्षा ४ र कक्षा १० प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षण गरी नतिजाको आधारमा विद्यालय र शिक्षकलाई प्रोत्साहन गरिनेछ । प्रविधिमैत्री शिक्षालाई जोड दिँदै अंग्रजी गणित र विज्ञान विषयको नतिजा सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गलकोटको तयारी छ । शैक्षिक क्यालेण्डर अनुसार पठन पाठन खेलकुद र अन्य गतिविधि सञ्चालन गर्ने, विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने, विद्यालयको एकीकरण तथा दरबन्दी मिलान गर्ने कार्यलाई अगाडि बढाउने नीतमा उल्लेख छ ।

     स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको गलकोट नगरपालिकाले नगर अस्पतालको स्तरोन्नती गरे दन्त सेवा, रक्तसञ्चार सेवा र फिजीयोथेरापी सेवा सञ्चालनलाई समय सापेक्ष बनाउने, हेमोडाईलाईसिस सेवा सञ्चालनका लागि अध्ययन गरिनेछ । अस्पतालको भवन निर्माणका लागि पहल गर्ने, विपन्न नागरिकलाई उपचार सेवा दिन विपन्न उपचार कोषको स्थापना गर्ने, दीर्घ रोगीहरुलाई मासिक रुपमा पाँच हजार भक्ता चौमासिक भुक्तानी गर्ने नीतिमा लेखिएको छ । हृदयघात रोकथामका लागि उपप्रमुखसंग थ्राम्बोलाईसिस कार्यक्रम सञ्चालन गर्ने, फेमिली हेल्थ प्रोफाईल मार्फत स्वास्थ्य कार्ड छपाई र वितरण गरिनेछ । 

    प्रत्येक विद्यालयका कम्तीमा एक जना शिक्षकलाई प्राथमिक उपचार तालिम प्रदान गर्ने, थप दुई वटा बर्थिङ सेन्टर र सुत्केरी प्रतीक्षा घरको स्थापना गर्ने, क्षयरोगमुक्त गलकोट अभियानलाई प्रभावकारी बनाउने नीति कार्यक्रममा छ । हरेक खानेपानी मुहानको तीन महिनामा कम्तीमा एक पटक परीक्षण गर्ने, गलकोटमा आयुर्वेद सेवा विस्तारका लागि ध्यान दिईनेछ । जातिय र लैङ्गिक रुपमा पछाडि पारिएको समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । नगरपालिकाले गलकोट क्षेत्रभित्र प्रचलित संस्कार र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने, नगर क्षेत्र भित्रको पूर्वाधार विकासलाई दिगो बनाउन वातावरण अनुकुल बनाउने, संघ प्रदेशसंगको समन्वयमा सडकहरुमा नाली निर्माणको कामलाई प्राथमिकता दिने नीतिमा जनाईएको छ ।

     विपद व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, प्राकृतिक विपत्तीबाट हुने क्षति न्यूनीकरणका लागि आपतकालिन कार्य सञ्चालनलाई प्रभावकारी बनाईनेछ । नागरिकको वरिपरिव सेवा भन्ने नारालाई सार्थक बनाउन एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # गलकोट

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार