ईश्वर सुवेदी बागलुङ : जिल्लाको गल्कोट नगरपालिका वडा न ४ को वडा कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
भवन उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिक र जनप्रतिनिधिले हातेमालो गरेमा मात्र विकास सम्भव रहेको बताए । उनले सार्वजनिक भवन तथा कुनै पनि पूर्वाधार निर्माण गर्नको लागि जग्गा व्यवस्थापन गर्न विषय आफैमा अति जटिल विषय रहेको भन्दै गलकोट नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता प्रति आभार व्यक्त गरे ।
कतिपय ठाँउमा कुनै पनि संरचना निर्माणका लागि जग्गाकै अभाव भएर संरचना निर्माण हुन नसकेको बताउँदै गैरेले गलकोट नगरपालिका वडा नम्बर ४ ले जग्गा व्यवस्थापन गरी वडा कार्यालयको भवन निर्माण गर्नु वडाबासीको लागि सुखद पक्ष रहेको समेत बताए ।
गैरेले फरक प्रसँगमा दुई तिहाईमा रहेको केन्द्रिय सरकारमा रहेका दलहरुले स्थानीय सरकार र जनताको भावनाको मर्मलाई नबुझेर सत्ताको लोभमा लागेकाले देशमा वर्तमान राजनीतिक अस्थिरता सिर्जना भएको भन्दै अबका दिनमा आम नेपाली नागरिक सचेत भई मत व्यक्त गर्न समेत आग्रह गरे ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले जनतालाई प्रशासनिक काममा कुनै समस्या नहुने गरी गलकोट नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा, नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख शिवनारायण गोशली, गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष डिलाराम सुवेदी,
समाजसेवी फम बहादुर खत्री, न्यू लाइफ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा, खरुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमराज गैरे, गोल्डेन बोर्डिङ स्कुलका प्रिन्सीपल चुडामडी शर्मा, सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष चिन्तामणी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकास अन्तर्गत गलकोट नगरपालिकाबाट विनियोजित २५ लाख बजेटमा गत वर्ष नगरप्रमुख गैरेद्वारा शिल्यान्स गरिएको भवन आर्थिक वर्ष २०७७÷७८ मा गलकोट नगरपालिकाबाट १६ लाख बजेट विनियोजन गरी वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको हो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नम्बर ४ खरुवा निवासी हाल जापानमा कार्यरत व्यवसायी भिम बहादुर खत्रीले गलकोट नगरपालिका भित्रका कक्षा ६ देखि १० सम्म पढाई हुने विभिन्न विद्यालयका १० जना विपन्न परिवारका विद्यार्थीहरुलाई जनही १५ हजारका दरले छात्रवृद्धि वितरण गरेका थिए ।
उक्त अवसरमा नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा गलकोट नगरपालिका वडा नम्बर ४ भित्रका विपन्न १६ घर परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर बक्स वितरण गरिएको वडा सचिव हेम बहादुर अधिकारीले जानकारी बताए । कार्यक्रममा वडा कार्यालय भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता गलकोट नगरपालिका वडा नम्बर ४ का जानकुमारी न्यौपाने, देवीकला सुवेदी र कृष्णप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नम्बर ४ भित्रका सम्पूर्ण आमा समुह विद्यालय उपभोक्ता समिति र क्लबलाई फोहोर व्यवस्थापन गर्नका लागि बाल्टी वितरण गरिएको थियो ।
कार्यक्रममा वडा सचिव हेम बहादुर अधिकारीले वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षयता कार्यपालिका सदस्य शिव कुमारी खत्रीको स्वागत र वडा सचिव हेम बहादुर अधिकारी र भुमे प्राथमिक विद्यालयका शिक्षक कल्पना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।