दिमाख खियाऊ पासा !
गत भाद्र २३ र २४ गते नेपालको शान्त भूमिमा अचानक कहाँबाट आए यी सलहहरू ? कहाँबाट हुन्हुनाए नयाँ प्रजातिका जेन्जी नामका चराहरू ? बाकटे हान्दै कहाँबाट सलवलाए र अचानक कहाँ विलाए दुई दिनमै नयाँ क्रान्तिको विगुल फुकेर ? जसले संसारमा कहीँ नमच्चाएको उधुम र वितण्डता मच्चाएर गयो । धेरैलाई यस्तै लागेको होला ।
विषय प्रवेश
एउटा घर घर जस्तो बन्दछ जुन् घर सुख, सन्तोष र आनन्दले आच्छादित हुन्छ । भनिन्छ- त्यस्तो घरमा नित्य सुख, शान्ति र लक्ष्मीको पनि निबास हुन्छ । तर यसको ठीक विपरीत जुन् घरमा जुन् घरमा बृद्ध, माता पीता र पाहुनाको यथोचित सम्मान वा मर्यादा कायम हुँदैंन वा छोराछोरीहरू स्वच्छाचारी हुन्छन्, भनेको मान्दैनन् र झगडा मात्र गरिरहन्छन्, सधैं कलह हुन्छ भने त्यो घर निश्चय पनि दु:खमय अवस्थामा गुज्रिन्छ । आमा र बुबा एकातिर, छोरो अर्कातिर, छोरी अर्कैतिर अर्थात् सबैजना सबैतिर मुख फर्काउने र मुखमुखै लाग्ने हो त्यो घरमा भाँडभैलो त मच्चिन्छ नै, सम्पूर्ण घरपरिवारको सुन्दर सपना र भविश्य समेत भताभुङ्ग / लथालिङ्ग हुन्छ । र, अन्तमा स्वर्ग जस्तो घर नरक बन्दछ ।
आज देश ठीक यही अवस्थामा गुज्रिरहेको छ । आफ्नो घर र देशलाई एउटै भावनात्मक तराजुमा तुलना गर्ने हो भने यसमा कुनै प्रकारको वादविवाद, मतभेद वा विभेद हुँदैंन, भेटिदैंन । बरू 'वसुधैव कुटुम्बकम्' को छत्रछाँयामा हामी रमाउन पुग्दछौं । हामी सहजै कल्पना गर्न सक्दछौं कि आफ्नो पुत्रले पिताको वाचाल भूमिकामा जहिल्यै शंका उपशंका, खेद प्रकट र तिक्तता महशुस गर्दछ त्यसले पिताको छाती (स्वभिमान) मा कति ठूलो चोट पुग्ला ? एउटा पिता वा राष्ट्रपितालाई जबरजस्त सुनको पिँजडामा कैद गरेर हामी कतिञ्जेल स्वतन्त्र रूपमा विचरण गर्न सक्दछौं ? हामी कतिञ्जेल खुल्ला आकाशमा निर्वाध रूपमा उडान भर्न सक्दछौं ? जब कि हामीलाई परबाट कुनै व्यधाले लुकेर वाण प्रहार गरिरहेको छ । खुल्ला आकाशमा स्वतन्त्र उडान भर्न नपाउँदै परेवालाई झैं गोली ताकेर भूईंमा बजारिरहेको छ । अन्तत: राजनीतिक वितृष्णाबाट वाक्क दिक्क भएर स्वदेशमै आफ्नो भाग्य र भविश्य खोज्दै हिँडेका झण्डै छ दर्जनभन्दा बढी कलिला वचेराहरू व्यधाको शिकार हुन पुगे । परन्तु कयौं चिचिला तथा लालाबालाहरू घाइते वा अपाङ्गको अवस्थामा गुज्रिरहेका छन् ।
आखिर हामी किन यस्तो नियति भोग्न अभिशप्त छौ ?
व्यधाहरूको खेल नै यस्तै हुन्छ । व्यधाहरूको चलखेल बडो कुटिल र कुटनीतिक हुन्छ । उनीहरू चराहरूलाई वशमा पार्न सुरुमा सकुनी योजना बनाउँदछन् । कुनै निश्चित स्थानमा पासो थाप्दछन् अर्थात् षड्यन्त्रको जाल ओच्छ्याउँदछन् । चारो छर्छन् । मीठो मीठो खुराक छर्छन्, सत्बीऊ छरे झैं । जब जराहरू जालमा पर्दछन् तब व्यधाहरू जाल सोहोर्दछन् । अनि छानी छानी भुत्याउँदछन्, तातो पानीमा चोबल्दछन् र सेकुवा बनाउँदछन् । हुन सक्दछ कि कयौं बाठा चराहरू जालबाट उम्किन पनि सक्दछन् । छट्टु मूसो रहेछ भने त जाल नै काटेर भाग्न वा उम्किन सक्दछ तर जति पनि सोझा वा निर्दोष चराहरू छन् ती न भाग्न सक्दछन् न त उम्किन नै । कानूनको जाल जब्बर हुन्छ । ती वचेराहरूले जुन् कानून र भष्ट्रचारको जाल तोड्न खोजे तिनीहरू नै यो पासोको फन्दामा परे । कयौं अनाहकमा मारिए पनि ।
माता पिता आफ्ना सन्तानका लागि चारो खोज्न गएका बखत दिनदहाडै कयौं काला सर्प (गोमन, करेत र अजिङ्गर) हरू प्रवेश गरे, गुणमा रहेका वचेराहरूलाई जिउँदै निल्ने कोशिष गरे / गर्दैछन् ।
त्यति मात्र होइन
कठैबरा ! गुणमा आगो लगाइयो । अग्ला अग्ला वरपीपल, सीमल र कदमका रूखहरूमा क्षति पुग्यो / पुर्याइयो । कयौं रूखहरू उखेलेर तहसनहस पारियो । फेद काटियो । हाँगाविङ्गा भाँचियो / लाछियो । लछारपछार पारियो । जरा उखेलियो । चैतको उराठ खडेरीमा लागेको आगो झैं दन्दनी सल्कियो वस्ती र शहर । नेपाली आकाशमा कालो धूँवा पुत्पुतायो । सिङ्गो वायुमण्डल नै विषाक्त धूँवाले ढाक्यो । सब खरानी । सब ध्वस्त । सबै सखाप ।
अब के हुन्छ ?
अब के हुन्छ यसै भन्न सकिदैंन । नयाँ पालुवा पलाउने सम्भावना निकै कम छ । पुरानो स्वरूपमा फर्किन समय लाग्नेछ । तर आश गरौं जे हुन्छ राम्रै हुन्छ । जे हुन्छ राम्रैका लागि हुन्छ । सबै मिलेर नयाँ र उन्नत विरूवाहरूको खोजी गर्नुपर्दछ । पुराना मक्किएका बूढो रूख (वीषवृक्ष) लाई पुरै विस्थापित गर्नुपर्दछ । छिप्पिएका रूखहरूले राम्रो फल दिन सकेनन् । यी वीषवृक्षहरूले खाली तीतो र टर्रो फल मात्र दिए । यी सेपिला रूखहरूका कारण अन्य अरू रूख र विरूवाहरू पनि राम्रोसँग सप्रिन सकेनन्, झाडी मात्रै । यी रूखहरूमा अब राम्रो फल लाग्ला भन्ने आशा नगरे पनि हुन्छ । यिनीहरूलाई उखेलेर त्यस ठाउँमा नयाँ उन्नत जातका विरूवाहरू रोप्नु नै एक मात्र विकल्प हुनेछ । अब सबै जातका नयाँ विरूवाहरूको सङ्कलन र वृक्षरोपण गर्नुपर्दछ । स्वभाविक रूपमा यी नयाँ विरूवाहरूबाट ताजा र राम्रो फल लाग्ने सम्भावना प्रबल छ । फलहरू पनि लटरम्म फूल्नेछन्, फल्नेछन् । वस्तीमा पुन: हरियाली छाउँनेछ । सारा संसारभरि सुगन्ध फैलिनेछ । आफ्नो गुण छोडेर अन्यत्र वसाइँ सराईँ सरेर गएका चराहरू आफ्नो गुणमा फर्किनेछन् । अब यस प्रकारको सात्त्विक वातावरण सृजना गर्नुपर्नेछ, जुन् हामी नेपाली सबैको साझा जिम्मेवारी र दायित्व हुनेछ ।
अन्यथा ?
नेपाली आकाशमा नयाँ उडान भर्न लालायित यी चराहरू पुन:एक ठाउँमा भेला जन्मा भएर संङ्गठित भएनन् भने चराहरूको मौलिक अस्तित्व नै लोप नहोला भन्न सकिदैंन । किनभने यहाँ कावील चराहरूको वथानमा पनि सबै एकै नाशका वा एउटै स्वभावका चराहरू हुँदैंनन् । कुनै चराहरू स्वभावैले शंकालु हुन्छन्, कुनै शंकित हुन्छन त कुनै शशंकित पनि । त्यहाँ कुनै मयुर, तित्रा, लाँचे, लुईंचे, ठेउवा, जुरेली, गौंथली, हेलेसो, सुगा, मैना, धोवीनी, चुकचुके, चुइयाँ, नकटा, बकुल्ला, देवहाँस, राजहाँस, श्याम कुखुरा, च्याखुरा, वट्टाइ, चिलिमे, जलेवा, मेलेवा, चखेवा, परेवा, ढुकुर, बीउ कुहियो, काफल पाक्यो, चिबे, न्याउली, लाटोकोसेरो, भारद्धाज, लववर्ड आदि उल्लेख्य छन् । चराहरूमा सबैभन्दा आकर्षक मयुर, डाँफे, राजहंस, कोइली र सुगाको आ-आफ्नै महत्त्वपूर्ण स्थान वा विशेषता छ । सबैभन्दा बाठो र चलाख पंक्षीहरूमा भँगेरो र भँगेरी हुन्, जसलाई राष्ट्रकवि माधव प्रसाद घिमिरेले आफ्नो कवितामा लयबद्ध गरेका छन्- "कुरा गर्छन् कसरी भँगेंरा र भँगेरी एउटा आँखो तँ हेरी अर्को आँखो म हेरी...।"
स्मरणीय छ- काँडेभ्याकुर नेपालमा मात्र पाइन्छ जुन् संसारकै अत्यन्त दुर्लभ तथा लोपोन्मुख पंक्षीमध्य एक हो ।
तर विडम्बना !
यी सीधासुधा चराहरुको तप्काभन्दा माथि अर्को भिल्ल प्रजातिका हिंस्रक चराहरू छन्: गिद्ध, चील र बाज । जसमध्य गिद्धहरू केवल सिनो मात्र रुचाउँदछन्, यस अन्तर्गत सेतो गिद्ध, लामोठुँडे गिद्ध, राजगिद्ध, सर्पहारी गिद्ध, काककुल प्रमुख हुन् । कुनै निरीह प्राणी वा वस्तुमा हमेशा तीखा आँखा ओछ्याउन पोख्त चीलको आफ्नै जन्मजात हिंस्रक स्वभाव वा प्रवृत्ति हुन्छ । यसमध्य बोक्सी चील, चल्लाचोर भूईंचील, द्रोणक चील, राग महाचील, रणमत्त महाचील आदि प्रमुख मानिन्छन् । चराहरूमा सबैभन्दा खतरनाक चरा बाजको त कुरै नगरौं । बाजमध्य पनि कालो बाज, सेतो टाउके, रातो टाउके, वनबाज, तोपबाज, हुल्लडबाज प्रमुख मानिन्छन् भने सबैभन्दा सानो चरो 'वी हेमिङ्ग वर्ड' देखि संसारकै सबैभन्दा ठूलो चरा 'अष्ट्रिज' हो जसको वजन झण्डै १५०-२५० कें.जी.सम्म हुन्छ । सधैं मध्यरातमा पनि हल्ला गर्ने एउटा बैगुनी चरो 'हुटिट्याँऊ' पनि कम् छैन जसले परस्त्रीलाई कसरी उछिट्ट्याऊँ भन्ने कल्पना गरिरहन्छ रे । त्यस्तै, आपतकालिन समयमा आफ्नो ज्यान बचाउन बालुवामा मुन्टो घुसार्ने 'शूतुरमुर्ग' को पनि आ-आफ्नै बाध्यताहरू हुन सक्दछन्, जसलाई नेपालको परिप्रेक्ष्यमा 'ओलीचरो' वा तित्रे चरोको उपनामले चिन्न सकिन्छ ।
जीव विज्ञानमा 'लेपटोटाइल्स जावानिकस' र 'पंक्षीराज'को उपाधि पाएको चरा 'गरुढ नै हो जो सर्वाधिक सम्पन्न, शक्तिशाली र भगवान विष्णुको वहान समेत मानिन्छ । यदि यी परिवर्तनकामी तथा किर्तिमानी चराहरू गरुढको अभिभावकत्त्वमा वा संरक्षणमा रहेर नयाँ उडान भर्नैपर्ने हुन्छ ता कि गिद्ध, चील, बाजहरूको हिंस्रक दृष्टि त के कालो छायाँ समेत नपरोस् । समग्रमा यसले सम्पूर्ण चराहरूको उद्देश्य, अपनत्त्व र अधिकारको सुनिश्चितता प्रत्याभूत गर्न सकोस् । अन्यथा गिद्ध, चील, बाजहरू पुन: सक्रिय भए भने / सक्रिय हुने अवसर पाए भने यिनीहरूले आफ्नै पिता, पूर्खा र वंशजको सम्पूर्ण अस्तित्त्व सखाप पार्नेछन् । विगत भाद्र २३ र २४ गतेको जस्तो रक्ताम्य परिवर्तन मुढेबलले होइन, नयाँ दिमाख र नयाँ रणनैतिक चातुर्य चाहिन्छ । आगामी फाल्गुण २१ गतेको निर्वाचनको पल्लाभारी कसको पोल्टामा पर्ने हो, त्यो आगामी समयले नै बताउला । दिमाख लगाऊ जेनजी पासा ।
अन्तमा: कागको पनि किन नाम छुटाउनु ! चराहरूको दुनियाँमा कागलाई 'यमदूत', 'अजम्बरी चरो' र मृत व्यक्तिको आत्माको रूपमा पूजा गरिन्छ ।
कागलाई 'जासूसी चरो' को उपमा पनि दिइन्छ, जुन् गिद्ध, चील र बाजभन्दा कयौं गुणा धूर्त र घातक मानिन्छ । कागको वैज्ञानिक 'कोर्भस म्याक्रोरिन्कस' हो । यो काग हाल विश्वका सबै स्थानहरूमा पाइन्छ । हामी सबैले देखेकै छौं कि कागको पुच्छरदेखि शीरसम्म पुरै निख्खर कालो रङले पोतिएको हुन्छ जसको आँखा, कान, नङ्ग्रा, प्वाँख, टूँड र जिब्रो कालो हुन्छ । मलाई लाग्दछ कि कागको बोली मात्र होइन, मन पनि कालो हुन्छ, बिचार र सोच पनि कालै हुन्छ । यो चरोलाई झट्ट विश्वास नगर्नु नै वेश हुन्छ । किनभने द्धेधचरित्ररूपी काग न पूर्णतया माशंहार हो न त शाकाहारी नै ।
स्मरणीय छ- जब काग अकालमा मर्दछ तब कागको मलामीमा सयौं कागहरू एकत्रित हुने गर्दछन् । कागको जस्तो विशाल संख्याको मलामी, सामूहिक विलौना र खैलाबैला अरू पंक्षीमा विरलै भेटिन्छ ।
कागदेखि होशियार !
घरको छतमा कौवा आएर करायो भने सोच्नु –"यो अनिष्टको सङकेत हो । यसलाई तुरुन्त लखेट्नु र भन्नु – 'सुबोल ! सुबोल !'
हो, नेपालको सुन्दर, शान्त र वैदिक सनातन सभ्यताको निलो आकाशमाथि गिद्ध, चील, बाज र कागहरू उडिरहेका छन् ।
उर्फ ! नभन्दै, एक बिहानै एउटा काठे काग टौवामाथि आएर करायो –काँ, काँ काँ.....!
सुबोल ! सुबोल ! सुबोल !