जेनजी विद्रोह आध्यात्मिक आँखाबाट हेर्दा

जेनजी विद्रोह आध्यात्मिक आँखाबाट हेर्दा

  • आश्विन २५, २०८२ शनिवार
  • १२:४७:०१ बजे
  • 4.1K
    SHARES
  • जेनजी विद्रोह आध्यात्मिक आँखाबाट हेर्दा

    देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।-बालकृष्ण सम ।

    एउटा बिरामी वा घाइतेलाई काँधमा बोकेर अस्पताल पुर्‍याउनुमा जति आनन्द र पुण्यलाभ प्राप्‍त हुन्छ त्यो भन्दा कयौं गुणा पुण्यलाभ मानिसहरूलाई आध्यात्मिक आकाशतर्फ प्रवाहित गर्नुमा हुन्छ । मेरो ध्यय जलिरहेको आँतमा आतङ्कको आगो झोस्नु पट्क्कै होइन । बरू आर्तहरूको चहर्‍याइरहेको घाउ तथा व्यथित हृदयमा प्रेमको पानीपट्टी लगाएर शीतलता प्रदान गर्नु हो । नढाँटीकन भन्नुपर्दा नाथे म एउटा सामान्य नागरिक हुनुको नाताले देश जलेको पीडालाई कम्प्युटरको क्यानभाषमा उतार्ने प्रयत्नस्वरूप यी हरफहरू आँशुले लेख्दैछु ।

    संसार अन्धो छ । त्यसमा पनि आँखा देख्ने मानिस ज्यादै कम् छन् । यो ध्रवुसत्य हो –'त्यति क्लेश एउटा दाउरेलाई नहुन सक्दछ जति क्लेश एउटा वनमालिकलाई वन विनाशको भारी चासो, चिन्ता र पीडा हुन्छ ।'

    समग्रमा म एउटा साधारण व्यक्तिको स्वच्छ चरित्र र स्वाभिमान निर्माण गर्ने उपक्रमदेखि कुनै राजनेता र देशको प्रतिष्‍ठा वा मानकमा बग्रेल्ती प्रतिशोध र पापको घडाले आफ्नो हुकुम र हैकम जमाउन पुग्दा हेर्दाहेर्दै आँखा अगाडि एउटा व्यक्ति, समाज, घर, परिवार, देश र इमान कसरी जल्छ र खरानी हुन्छ भन्ने कुरा आध्यात्मिक कोणबाट पर्गेल्ने प्रयास गर्नेछु । साथै,  कुनै पनि व्यक्ति, पथभ्रष्‍ट शाषक तथा नेताहरूले अध्यात्मलाई स्वीकार नगर्दाको परिणाम कति भयावह र चर्को मूल्य चुकाउनुपर्नेछ यसको पनि हिसाब हुनेछ ।

    आउनुहोस्: दूधको दूध र पानीको पानी छुट्‍याउने प्रयत्न गरौं ।

    वास्तवमा मानिस सत्य बोल्नुपर्छ । सत्य लेख्नुपर्दछ । सत्यदेखि डराउनु हुँदैन । सत्यकै पक्षमा उभिनुपर्दछ र सत्यकै पक्षमा आवाज बुलन्द गर्नुपर्दछ । तर दु:खको कुरा आज प्राय: मानिसहरू सीधै असत्यको मार्ग पच्छ्याइरहेका छन् ।

    कुनै पनि घटनाको गजुर एकै क्षणमा निर्माण हुदैंन, यो य कयौं लामो समयको कालखण्ड वा उतारचढावको परिणाम हो । त्यस्तै मानिसमा कुण्ठित आवेग, उन्माद, अधैर्य, असन्तुलन, असन्तुष्‍टि, क्रोध, विचलन, अन्याय र अत्याचारको पराकाष्‍ठा त्यो 'पहाड' हो जो एक पटक विष्फोट हुनासाथ हजारौं-लाखौं टुक्राहरूमा विभक्त हुनपुग्दछ अर्थात् त्यो विष्फोट भएपछि मात्र थाहा हुन्छ कि त्यसको आवाज वा क्षति कति भयानक र विभत्स हुन्छ भनेर । ताजा उदाहरणका रूपमा गत भाद्र २३ र २४ गते भएको भएको जेनजी आन्दोलनलाई  लिन  सकिन्छ जुन् नेपाली जनता प्रतक्ष्य यसको साक्षी एवं भुक्तभोगी छ ।

    शास्‍त्रमा भनिएको छ- "यदि समाजका अनुत्तरदायी नेताहरूले सनातन धर्मको परम्परालाई नै विखण्डित पारिदिए भने त्यसबा समाजमा अव्यवस्था फैलिन पुग्दछ । फलस्वरूप मानिसहरू जीवनको मूल उद्देश्य भगवान विष्णुलाई नै बिर्सन पुग्दछन् । यस्ता नेताहरूलाई नै अन्धा भनिन्छ र यिनीहरूका पछि लाग्नेहरू अवश्य नै अस्तव्यस्तको स्थितिमा पुग्दछन् ।"-पेज ६१, श्रीमद्‍भगवद्‍गीता यथारूप ।

     यही नै आजको तीतो यथार्थ हो । सनातन धर्मको परम्परालाई नै विखण्डित पार्ने पथभ्रष्‍ट र अन्धा नेताहरूको 'पिछलग्गु' भएर कतिञ्जेल बाँचिरहेने ? प्रष्‍ट रूपमा भन्नुपर्दा भ्रष्‍ट नेताहरू मात्र दोषी छैनन्, जनताहरू पनि दोषी छन्  । उचालेको कुकुरले मृग मार्दैन भन्ने थाहा हुँदाहुँदै पनि काँधमा बोकेर हिँड्ने जनताहरू नै बढी जिम्मेवार छन् ।

    आफ्ना मतदाता वा कार्यकर्ताहरूको सम्वेदना / सहानुभूति बटुल्नका खातिर आफ्नो छाती अगाडि दुई हात ल्याएर जोड्नु, सन्चो विसन्चो सोध्नु, चिल्लो कुरा गर्नु, तेल घस्नु, सियो बनेर पस्नु, चुनाब जितेपछि हात्ती भएर निस्कनु, रोष्‍टमका अगाडि सिंह झैं गर्जनु र कुनै जरूरी काम देखाएर त्यहाँबाट कुलेलम ठोक्नु पत्रु नेताहरूको आनुवांशिक गुण तथा विशेषता नै हो । त्यस्तै नेताहरूले जस्तो मादल बजाउँदछन् त्यस्तै नाच्नु कार्यकर्ताहरूको विशेषता हो, भलै आँगन टेढो किन नहोस् । बकाइदा नेताहरूको प्रशस्ती गाउनु, धूलो टक्टक्याउनु, ङिच्च दाँत देखाउनु,  हाँसोमा लय मिलाउनु, नेता रोएको देखेपछि आवश्यकता अनुसार डाँको छोडेर रूनु, मुख वाउनु, बर्बराउनु, वेहोश हुनु, मुर्झाउनु, लम्पसार पर्नु, कोरीको पाउ मोल्नु, खुट्टा ढोग्नु, काम पट्याउनु,  देउसीरे भट्‍याउनु.... झोले कार्यकर्ताहरूको अभिन्न गुणहरू हुन् ।

    पत्रु नेताहरू जग हँसाउन ज्यादै पोख्त हुन्छन् । अभिनय कलामा माहिर । कार्यकर्ताहरूलाई पछि लगाएर हिँड्नका शौखिन । नेताहरू अघि अघि, पिछलग्गुहरू पछि पछि, झिँगा धपाउँदै । बाइरोडको बाटोमा गाडी गुडाउँदै, पिछलग्गुहरू स्कर्टिङ गर्दै धूलो उडाउँदै ......! यो हाम्रो नेपालको सदियौं पुरानो राजनैतिक सभ्यता र परम्परा नै हो, जो भविश्यमा पनि कायम रहनेछ, निरन्तर ।

    बिडम्बना !

    निदाएको अभिनय गर्नेलाई ब्यूँझाउन सकिदैंन । हामी अझै पनि राजनीतिक वृत्तमा देखिएको 'पिछलग्गु' फोवियाबाट पूर्ण मुक्त सकिरहेका छैनौं । हाम्रो आसक्ति र लोलुपता तिनै पथभ्रष्‍ट नेताहरुको नाभीसँग गाँसिएको छ । हाम्रो स्तर कथित 'झोले, झम्पट र स्‍त्रीलम्पट कार्यकर्ता' को साधारण सदस्य तथा दुई कौडीको हैसियतबाट खास माथि उठ्न सकिरहेको छैन । मानौं हामी सिसिफस हौं जो दैविक श्रापका कारण अनन्तकालदेखि 'सिसिफसको ढुँगा' बोक्ने नियतिबाट गुज्रिरहेका छौं अर्थात् हामीलाई राजनीतिक श्राप परेको छ । कहिले राणा शासनको अन्त्य, कहिले राजतन्त्र, कहिले पञ्चायत, कहिले बहुदलीय प्रजातन्त्र, कहिले जनयुद्ध, कहिले गणतन्त्र त कहिले लोकतन्त्र । हुँदाहुँदा आज देश रणतन्त्र अर्थात् रणसंग्राम बन्न अभिशप्‍त छ । देश परिवर्तनको नाममा मान्छे मारेर रगतको आहालबाट उम्रिएको राजनीतिक दल र गठबन्धनले देशमा उलटपुलट र हेरफेर ल्याउँछ भन्ने जनताको विश्‍वासले नराम्रोसित हावा खायो । यस्तो लाग्थ्यो कि राजसंस्था अन्त्य हुनासाथ देशका सारा समस्याहरू एकै झट्कामा समाप्‍त हुन्छन् / हुनेछन् । त्यसपछि गणतन्त्रको बाटो हुँदै लोकतन्त्र आयो । यसले पनि कुनै लछारपछार लाउन सकेन ।

    समस्या जिउँका त्यूँ !

    आज देश संघीय लोकतन्त्र र धर्मनिरपेक्षताको धमिलो नदीमा उँधो बगिरहेको छ । जनताहरू एउटै नदीका दुई किनार भएर बग्न विवश छन् । एकथरी जनता राजसंस्थाको पक्षमा छन् । अर्को विपक्षमा । जनता दुई शिरामा विभाजित छन्, काँक्रोको चिरा झैं । एक पक्षले कुनै राम्रो कुराको समर्थन गर्दछ, अर्कोले तत्काल खण्डन र विरोध गर्दछ । सर्वसहमति, समन्वय र समाधानको त कुरै छोडौं । ऊ सीधै जाई लाग्न खोज्दछ । पाखुरा सुर्कन्छ । मुढेबल देखाउँछ । मान्छे नै गिँड्न खोज्छ ।

    आजकल सामाजिक सञ्जालको बहुमार्ग पच्छ्याउँदै मानिसहरू प्रतिशोधको भावनाले अभिप्रेरित भएर हिंस्रक रूपमा प्रस्तुत भइरहेका छन् । संयमता र धैर्यता टुट्दै गएको छ । मानिसहरू टुट्‍टै गएका छन् । हरेक कुरा सहन गर्न सक्ने न्यूनतम् सामर्थ्य  पनि गुमाउँदै गइरहेका छन् ।

    संविधानद्वारा प्रद्वत मौलिक स्वतन्त्रताको पिठ्यूँमा टेकेर गरिएका कथित अपशब्दहरूको प्रयोग, वीषवमन, कटाक्ष, छेडखानी, व्यङ्य, ताउरमाउर, आग्रह-पूर्वाग्रह र तथानाम गालीगलौजको पराकाष्‍ठा सामाजिक सञ्जालका भीत्ताहरुमा छ्यापछ्याप्‍ती देख्न सकिन्छ । सामाजिक प्रयोगकर्ताहरू सबैले यसको गम्भीर महशुश गरेको हुनुपर्दछ । ती भद्दा प्रतिक्रिया 'कमेन्ट'  हरू अत्यन्त लज्जास्पद र घृणित छन् / हुन्छन् जसको कुनै सीमा नै छैन । मानौं सामाजिक संञ्जाल 'व्यक्तिगत पेवा' हो । सम्बन्धित नियमक संस्था वा संयन्त्रको अभावका कारण सामाजिक सञ्जाल यस्तो सजिलो माध्यम बन्दैछ कि मानिसहरूको दमित कुण्ठा, आक्रोश, आवेग, उन्माद र असन्तुष्‍टि पोख्ने साझा रङ्गमञ्च हो, जहाँ जसले जे बोले वा लेखे पनि छुट छ । कतिसम्म भने मानिसहरू एक अर्कालाई शब्दवाण वा झटारो नहानेसम्म खाएको खुराक अपच हुने स्थितिमा पुगिसकेका छन् । समग्रमा मानिसहरू कुनै न कुनै कारण वा वहानामा प्रतिशोधको भावनाले अभिप्रेरित छन् । मानिसहरू सामाजिक सञ्जालको सदुपयोगभन्दा बढ्ता दुरूपयोग गरिरहेका छन् ।

    आखिर हामी कस्तो संस्कार र संस्कृतिको देखासिकी गरिरहेका छौं ? हामी कता जाँदैछौं ? हाम्रो समाज कता जाँदैछ ? पथभ्रष्‍ट नेता, विवेकहीन कार्यकर्ता र चोरहरूको बिगबिगीले भरिएको समाजमा सुख, शान्ति र स्थिरता कसरी सम्भव होला ? अनि कसरी विश्‍वास गर्नु कि मध्यरातको निद्रा टुटेपछि भोलि बिहान नयाँ जीवन र नयाँ आशाको सूर्य उदाउनेछ भनेर ?

    स्मरणीय छ- कुनै पनि जंगल विनाशका लागि सलाइको एउटै काँटी पर्याप्‍त हुन्छ । तर त्यही जंगलमा भएको भीषण आगो निभाउनलाई हजारौं ट्याङ्कर, हेलिकप्‍टर र पानीको फोहरा प्रयोग गर्नुपर्दछ ।

    शास्‍त्रमा भनिएको छ: राज्यको राजा होस् वा प्रशासन प्रमुख होस्, स्कूलको शिक्षक होस् या घरको बाबु होस् यी सबै सर्वसाधारण अबोध मानिसहरूका स्वभाविक नेता मानिन्छन् । यस्ता सबै प्रकारका स्वभाविक नेताहरूको आफ्ना आश्रितहरूप्रति एउटा ठूलो जिम्मेदारी हुन्छ । अत: तिनीहरू सबै नैतिक तथा आध्यात्मिक नियमका प्रामाणिक पुस्तकहरूसँग राम्ररी परिचित हुनु आवश्यक छ ।-पेज १५९.,श्रीमद्‍भगवद्‍गीता यथारूप ।

    वास्तवमा सरकार जनताको अभिभावक हो । नेताहरूले आफ्ना प्यारा जनताहरूलाई आध्यात्मिक नियमका प्रामाणिक पुस्तक, इतिहास, भौगोलिक अखण्डता, माटोको सुगन्ध, राष्‍ट्रप्रेम, भौतिक तथा सांस्कृतिक सम्पदाको महत्त्वलाई यथाशक्य प्रशिक्षित एवं सुशिक्षित गर्नु अत्यन्त आवश्‍यक छ । जब कि हामी बुद्ध र शान्तिको देश भनेर गर्व गर्दछौं तर यही देशमा विभिन्न आन्दोलन तथा विद्रोहको नाममा रगतको खोला बग्दछ । आगजनी हुन्छ । खरबौंको सम्पत्ति एकै क्षणमा खरानी बन्दछ ।

    आखिर किन ? दोषी को ? दोष कसको ?

    शास्‍त्रमा बताइएको छ-"भगवद्‍गीतामा बताइएको सिद्धान्तको अनुसरण गर्ने मानिसले आफ्‍नो जीवनलाई परिपूर्ण बनाउन सक्दछ र उसले आफ्नो जीवनको समग्र समस्याहरूको स्थायी समाधान पनि प्राप्‍त गर्न सक्दछ ।"-पेज ३१, श्रीमद्‍भगवद्‍गीता यथारूप ।

    तर बिडम्बना !

    वास्तवमा हामीले अध्यात्मलाई बिर्सियौं । नैतिक मूल्य र मान्यतालाई तिरस्कार गर्‍यौं  । वैदिक सनातन धर्मको मर्मलाई लत्यायौं । । मानौं अध्यात्म भनेको पत्रु हो / वीष हो / मिथ्या हो / जन्मजात शत्रु हो । यही नै वर्तमान पुस्तामा देखिएको समस्याको मुख्य जड हो । जब मानिसमा करुणा, दया, प्रेम, क्षमा, सहनशीलता, धैर्यता, संयमता, मानवता र इमान स्खलित हुँदै जान्छ तब ऊ पथभ्रष्‍ट हुन्छ । अन्तत: आध्यात्मिक सभ्यताको खडेरी परेको मानव समाज जहिल्यै हिंस्रक, अराजक र ध्वंसात्मक हुन्छ जसले गर्दा राष्‍ट्रको अस्‍तित्त्व नै डगमगाउँछ । र, अन्तमा राष्ट्र खरानी / समाप्‍त हुन्छ ।

    वास्तवमा सभ्य समाज निर्माणका लागि नैतिक शिक्षा तथा अध्यात्मलाई जोड दिन अनिवार्य छ । अध्यात्मले भ्रष्‍टचारमुक्त समाजको परिकल्पना मात्र गर्दैन, समस्याको मूल जरो पत्ता लगाउँदछ र त्यसको दीर्घकालीन समाधान पनि खोज्दछ । अध्यात्मलाई पाखा लगाएर वा वाइपास गरेर गरिएका कुनै पनि छलफल तथा निष्कर्षहरू कामचलाउ मात्र हुन्छन् अर्थात् त्यो छिपछिपे पानीमा माछा मार्ने असफल प्रयास मात्र हुन जान्छ  ।

    राजा वीरेन्द्रको वंशज विनाश हुनु नै नेपालको ठूलो दूर्भाग्य हो । नेपालको इतिहासमा दुई पटक राजा बन्ने सौभाग्य पाएका राजा ज्ञानेन्द्र आफ्नो मुटु, मुकुट र मुलुकको नासो जनतालाई जिम्मा लगाएर राजदरबारबाट बाहिरिनु पर्‍यो । आज नारायणहिटी घिटी घिटी छ । राजालाई सुनको पिँजडाभित्र कैद गरेर नेताहरूले देशमा पालैपालो एकछत्र रजाईं गरे, गरिरहें । अर्को शब्दमा भन्नुपर्दा नेपाल आमालाई नेताहरूले पालैपालो बलत्कार गरे, सामुहिक बलत्कार । फलस्वरूप नेपाल प्राकृतिक दोहन र भ्रष्‍टचारको मुख्य अखडा बन्न पुग्यो । जसले गर्दा भाद्र २३ र २४ गते अप्रत्याशित रूपमा भयानक विद्रोहको डाइनामाइट विस्फोट भयो । अन्तत: निस्पट्ट कालो बादलको घेराबीच आशाको चन्द्रमा बनेर उदायो-'जेनजी पुस्ता' ।   

    एक पटक जोडले चिच्याएर भन्न मन छ- "जेन्जी तिमीले पथभ्रष्‍ट सत्ताधारीहरूको हुर्मत लिएर ठीक गर्‍यौ । शहीदहरूको रगत, भ्रष्‍टचार र पापले मुछिएका महल, पर्खाल र अखडाहरू भत्काएर ठीक गर्‍यौ ।"

    अर्को मनले भन्छ- "जेनजी तिमीले यो पटक्कै ठीक गरेनौ । राष्‍ट्रको बहुमूल्य निधिका रूपमा स्थापित भौतिक संरचना, शालिक र भाँडाकुँडाहरूमा तातो रीस पोखेर कस्तो जब्बर क्रान्तिको सन्देश दिन खोजेका हौ ? कथित विद्रोह वा आन्दोलनका नाममा आफ्नै घर (देश) आगो झोसेर खरानी ताप्ने उत्साह तिमीले कहाँबाट प्राप्‍त गर्‍यौ, यो अन्धो संस्कार तिमीले कहाँबाट सिक्यौ र कुन् वैदिक सभ्यताको अनुसरण गरिरहेका छौ ? होइन भने चित्तबुझ्दो जवाफ देऊ- "तिमी स्वचालित थियौ कि परिचालित ? अन्यथा यो कलङ्को धब्बा मेट्नका लागि तिमी इतिहासको कठघरामा उभिनुपर्नेछ, अवश्यमेव ।"

    आखिर मानिस आफ्नो पाप वा कुकर्मको फल भोग्न किन बाध्य हुन्छ ? अर्थात् हामी किन पटक पटक यस्तो नियति भोग्न अभिशप्‍त छौ ? प्राय: मानिसहरू भन्ने गर्दछन् स्वर्ग र नरक भन्ने कुरा मिथ्या हो । यथार्थमा स्वर्ग र नरक छ जसरी प्रत्येक वस्तुको छाँया हुने गर्दछ ।

    शास्‍त्रमा स्पस्‍ट बताइएको छ: जमिनमा रोपिएको कुनै बीज तुरून्तै उम्रिदैंन । बीजलाई पनि उम्रिनका लागि केही समय लाग्दछ । सुरुमा यो सानो टुसाका रूपमा देखा पर्दछ अनि सानो विरूवा बन्दछ र पछि बल्ल त्यसले एउटा रूखको आकार ग्रहण गर्दछ । रूख बनिसकेपछि त्यो फुल्छ अनि फल्दछ । जब फलहरू पाक्दछन् अनि त्यो रूखको बीउ रोप्नेले त्यसका फलको स्वाद लिन्छ । यसै गरी सर्वप्रथम मानिसले पाप कर्म गर्दछ । उक्त पापलाई पनि रूखको बीजलाई जस्तै उम्रिन र फल्न केही समय लाग्छ । यसका पनि विभिन्न अवस्था हुन्छन् । मानिसले वर्तमानमा पाप कर्म गर्न पूर्णत: बन्द गरे पनि पहिले गरिएका पापको फल उसले भोगिनै रहनुपर्दछ । कुनै पापहरू अझसम्म पनि बीजकै रूपमा बाँकी रहेका हुनसक्दछन् त कुनै फलिसकेका हुन्छन् र फूलिसकेका हुन्छन्, जसलाई हामी अनेक दु:ख र कष्‍टका रूपमा भोगिरहेको हुन्छौं ।-पेज ३७४., श्रीमद्‍भगवद्‍गीता यथारूप ।

    बुढापाकाहरू भन्ने गर्दछन्- "अति गर्नु, अत्याचार नगर्नु । एक दिन पाप धुरीबाट कराउँछ ।"

    जेनजी आन्दोलने यो कुरा प्रमाणित गररै छाड्यो । हामीले प्रतक्ष्य देख्यौं- शहीदहरूको रगत, जनताको पसिना र भ्रष्‍टचारको नूनिलो तलाउमा पौडिएर रमाइरहेका ठूला प्रजातिका माछाहरू यसपालि सजिलै जेनजीको जालमा परे जसमध्य नेपाली ह्‍वेल, सार्क रोहु, गोल्डेन कार्प, सिल्भर कार्प, माँगुर, नैनी, पुण्टीयस, पंगासियस, सहर, रेम्बो ट्राउट, भोटीमाछा, जुङ्गेमाछा, झिँङ्गेमाछा  आदि थिए । गोही, गँगटा, जेपागाँडा, गँड्यौला र बुदुनाहरू भने बाल बाल बचे । पानीसर्प भने भाग्न सफल भयो । ऊ दशदिन पछि कुरबाट बाहिर निस्कियो । कयौं वाम माछाहरू बसाइं सर्ने तरखरमा छन् ।

    जेनजीहरू भन्दैछन्- "कहाँ जालस् मछली मेरै ढडिया !"

    शास्‍त्रमा बताइए अनुसार जीवले गरेका कर्मको आधारमा विभिन्न नरकहरूको भोग तथा कष्‍टको सामना गर्नुपर्ने हुन्छ जसमध्य तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, कुम्भीपाक, कालसूत्र, अन्धकूप, वैतरणी, पूयोद,  प्राणरोध, अयपान आदि प्रमुख हुन् । उदाहरणको रूपमा अत्यन्त हिंस्रक मनुष्य जो आफ्नो स्वादे जिब्रोको सन्तुष्‍टिका खातिर जीवित पशुपंक्षीहरुलाई मारेर खान्छ, त्यसलाई कुम्भीपाक नरकमा जाकिइन्छ र त्यहाँ उम्लिँदै गरेको तेलमा डुबाइन्छ । उक्त पशुको शरीरमा जति रौं हुन्छन् त्यति नै वर्षसम्म त्यसको यही दूर्गति हुन्छ ।

    त्यति मात्र होइन !

    भनिएको छ: वर्णाश्रम धर्मको नियमअनुसार मर्नुभन्दा अगाडि व्यक्तिले आफूले गरेका पापकर्महरूको प्रायश्‍चित गर्नुपर्दछ । पापकर्मीहरूले यो विधिलाई पूरा गर्नैपर्दछ । यदि यस्तो प्रायश्‍चित गरिएन भने त्यो पापी व्यक्तिलाई अवश्‍य पनि नरकमा पठाइन्छ । त्यहाँ पुगेर उक्त व्यक्तिले पाप कर्म गरेको हुनाले कष्‍टमय जीवन भोग्नुपर्दछ ।-पेज ६१,श्रीमद्‍भगद्‍गीता यथारूप ।

    अत: नेपालका सम्पूर्ण पथभ्रष्‍ट नेता र सत्यको बाटो बिराएकाहरूले बेलैमा चेतून् । जेनजीहरूले नेताहरूमाथि गरेको रामधुलाइ त पहिलो किस्तावन्दी मात्र हो । पापको पूर्ण भुक्तान हुन अझ बाँकी नै छ । जीवनको उत्तरार्धमा सन्यास जीवन ग्रहण गरी वानप्रस्थ जानुपर्ने वृद्ध उमेरमा पनि तवातवा राजनीतिक दबदबालाई अघि सारेर प्रतिशोध र अहंकारमा लिप्‍त हुनु शोभनीय हुँदैंन । बरू पापकर्मको प्रायश्‍चित स्वरूप जीवनभर झूटको खेती गरेबापत आर्जित कालोधन स्वतस्फूर्त राज्यलाई दान गरेर पुण्य कमाउनु बुद्धिमानी हुनेछ, तैविषेक । अन्यथा सनातन वैदिक धर्म, जनताको आँशु, शहीदहरूको रगत र रातो कार्पेटमाथि सुटबुटकासाथ जनताको छाती कुल्चिएर हिँडेको तथा चुनाब जित्नकै खातिर जनतासामु झूटो बाचा गरेका एक एक शब्दहरूको पाइ पाइ हिसाब हुनेछ । साथै, आफ्नो कर्तव्य पालनदेखि विमुख भएर सुखको जिन्दगी रोज्नेहरू, निर्दोष प्राणीलाई खेद्‍ने र हत्या गर्नेहरू, बाङ्गो औंला प्रयोग गरेर घिऊ खान पल्किएकाहरू, सिंहदरबारमा आगो झोस्नेहरू, सधैं अर्काको कूभलो वा मात्र चिताउने तथा नेपाल आमालाई सामुहिक बलत्कार गर्नेहरू सबै नरकका भागीदार हुनेछन् । यमराज हातमा बुकीफूल लिएर मूलगेटमा निजहरूको स्वागतार्थ प्रतीक्षारत हुनेछन् ।

     अन्तमा

    जेनजीहरू भ्रष्‍टचारमुक्त राष्ट्रको परिकल्पनामार्फत एक आदर्श राज्य स्थापनार्थ सत्यको पक्षमा आफ्नो आवाज बुलन्द गरिरहेका छन् । असत्यको बाटो अंङ्गाल्ने पथभ्रष्‍टहरूलाई खबरदारी गरिरहेका छन् । अवस्था र व्यवस्था परिवर्तनको शंखघोष गरिरहेका छन् । यसरी परिवर्तनको शंखघोष गरिरहँदा आफूहरू कति शभ्य, शिष्‍ट, शालिन, अनुशासित तथा संयमित छौं भन्ने कुरा पनि हेक्का राख्नु अत्यन्त जरूरी छ । अन्यथा कुशल नेतृत्व र राजनीतिक सुझबुझबिना अन्धाधुन्ध अगाडि बढ्दा जेनजीहरू अफ्‍ठ्यारो ठाउँमा फलेको फर्सी सावित नहोलान् भन्न सकिदैंन । समग्रमा जेनजी आन्दोलन असत्य र सत्यबीचको लडाईँ हो । मानौं यो पाण्डव र कौरवहरू बीचको लडाईं हो । प्रतिशोधको भावनाले अभिप्रेरित राजनीतिक दलका कौरवहरू जेनजीको विरूद्ध तथा विद्रोहमा पुन:एक जुट हुनेछन् । तैपनि जेनजीहरू विचलित हुनेछैनन् । असत्यको मार्गमा हिँडिरहेका पथभ्रष्‍ट शाषक तथा नेताहरूका विरूद्ध गरिएको यो हुँकार मात्र होइन, आगामी पुस्ताका लागि शख्त चेतावनी पनि हो । निश्चय पनि यो सत्यको मार्ग कठिन र चुनौतीपूर्ण छ । तर असम्भव भने छैन ।

    अन्यथा न रहन्छ बाँस न बज्दछ  बाँसुरी ।  नेपाली हामी रहूँला कहाँ नेपालै नरहे ........!

  • सम्बन्धित विषय:

  • # जेनजी
  • # आध्यात्मिक

  • प्रेमराज मिश्र "अभीष्‍ट"

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार