बागलुङ : वैदेशिक रोजगारीका लागि बेल्जिय पुगेका बागलुङेहरुले ढोरपाटनका बाढी पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।
बागलुङ समाज बेल्जियमको अगुवाईमा रकम संकलन गरेर ढोरपाटनका बाढी पीडितका लागि सहयोग गरिएको हो । बागलुङ समाज बेल्जियमले बेल्जियममा संकलन गरेको रकम बिहीबार बागलुङ समाज बेल्जियका अध्यक्ष राजु थापा, उपाध्यक्ष कर्णबहादुर अधिकारी, अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देब पौडेलले ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन् ।
बेल्जियमा संकलन भएको ५ लाख ५० हजार रुपैयाँ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले आफुहरु प्रदेशमा भए पनि जिल्लामा आपत विपद आईपर्दा मुटु दुख्ने बताए । ‘हामी विभीन्न बाध्यताले प्रदेशको धर्तीमा छौं,’ उनले भने,‘मन भने संधैं बागलुङकै माटोसंगै जोडिएको छ । यहाँका गाउँ ठाउँमा केही हुँदा पीडा हामीलाई पनि हुन्छ । विपदमा भएको क्षतिपूर्ति त गर्न सकिदैन केही भए पनि राहत होस् भनेर यो सहयोग संकलन गरी हस्तान्तरण गरेका हौं ।’
उनले प्रदेशमा र स्वदेशमा समस्यामा परेकाहरुको सहयोगका लागि समाजको स्थापना भएको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देब पौडेलले बागलुङ जन्मथलो भई विश्वका विभीन्न मुलुकमा पुगेकाहरुबाट सहयोग संकलन गरी बागलुङका विभीन्न क्षेत्रमा हातेमालो गर्ने बताए । ‘विश्वका विभीन्न देशमा समाज गठन भएका थिए,’ उनले भने,‘हामीले सहयोग र सद्भाव बढाउनका लागि अन्तर्राष्ट्रिय बागलुङ समाज बनाएका छौं । भाईचारा सद्भाव र सहयोगको लेनदने गर्नका लागि यसको स्थापना भएको हो ।’
सहयोग रकम बुझेपछि ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले सबैको सहयोगबाट खण्डहरुमा परिणतमा भएको भूँजीखोलाको तटीय बस्तीको पुनस्थापना हुने बताए । ‘अकल्पनीय प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भयो,’ उनले भने,‘पुनस्थापनाका लागि ठूलो रकम लाग्नेछ, यसरी विभीन्न क्षेत्रबाट आएको सहयोग र सरकारको सहयोगले पुनः निर्माण हुने अपेक्षा गरेका छौं ।’
बागलुङ समाज बेल्जियमको सहयोग हस्तान्तरण गर्न अध्यक्ष राजु थापा, उपाध्यक्ष कर्णबहादुर अधिकारी,
अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देब पौडेल तथा काठेखोला गाउँपालिका—४ तंग्रामका वडाध्यक्ष केशव थापा बुर्तिबाङ पुगेका थिए ।