बागलुङ : जिल्लाको बलेवामा प्याराग्लाईडिङ सञ्चालनका लागि पूर्वाधार निर्माणका काम सुरु भएको छ ।
पर्यटन विकासका लागि प्याराग्लाईडिङ सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम मंगलबार देखि सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले विनीयोजन गरेको २० लाख रुपैयाँमा विभीन्न भौतिक पूर्वाधार निर्माण कार्य थालिएको छ ।
उक्त पूर्वाधार विकासका लागि थालिएको कामको मंगलबार गण्डकी प्रदेश सरकार उद्योग, वन वाताबरण तथा पर्यटनमन्त्र विकास लम्सालले शिलन्यास गरेका छन् । पूर्वाधार निर्माण कार्यक्रमको शिलन्यास गर्दै मन्त्री लम्सालले पर्यटनका विकासबाट आर्थिक समृद्धिमा पुग्न सकिने बताएका छन् ।
उनले युवाहरुलाई विदेश जान छोडेर देशमै पर्यटन विकासको क्षेत्रमा लाग्न समेत आग्रह गरे । ‘पर्यटनको विकासबाट हामीले समृद्धि हाँसिल गर्न सक्छौं,’ उनले भने,‘अहिले धन कमाउन विदेश गएका युवाहरुलाई यही राखेर पर्यटनको विकासमा लगाउन सकियो भने युवाहरुले यही रोजगार पाउनेछन् र उनीहरुले आर्थिक आर्जन पनि गर्नेछन् ।’ उनले १०÷१० किलोमिटरको दुरीमा पर्यटकीय पूर्वाधारहरु तयार गर्नुपर्ने बताए ।
उनले गण्डकी प्रदेशमा पोखरापछिको पर्यटकीय गन्तव्य बनाउनका लागि यहाँका जनप्रतिनिधिहरु सक्रियताका साथ लाग्नुपर्ने बताए । ‘पोखरा त गण्डकीको मात्रै होईन नेपालकै उत्कृष्ट पर्यटकीय ठाउँको रुपमा गनिन आउँछ,’ उनी भन्छन्,‘पोखरापछि गण्डकी प्रदेशमा अर्को पर्यटनको केन्द्र बागलुङलाई बनाउनुर्पछ र बनाउन पनि सकिन्छ । त्यसका लागि यहाँका सरोकारवाला र जनप्रतिनिधिहरुले योजनाबद्ध ढंगबाट अगाडी बढ्नुपर्छ ।’
नेकपा भित्र मौलाएको आन्तरिक किचलोतर्फ संकेत गर्दै लम्सालले जनताले आफुहरुलाई राम्रो गर्नका लागि जनमत दिएकाले पार्टी नफुट्ने बताए । ‘हामीलाई जनताले राम्रो काम गर्नका लागि जनमत दिएका हुन्,’ उनी भन्छन्,‘अहिले पार्टी फुट्दैन । छलफल र बहसहरु हुनु स्वभाविक हो ।’
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, सावित्रा राना, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, जलजला गाउँपालिका पर्वतका गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिका—१३ का वडाध्यक्ष नारायण पौडेलको अध्यक्षता, बानपा—१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीको सञ्चालन र प्याराग्लार्इंडिङ पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव भरत बागलुङेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस वर्ष प्रदेश सरकारले विनीयोन गरेको २० लाख रुपैयाँबाट बानपा—१३ को पहरेमा महिला पुरुष शौचालय, महिला पुरुष चेन्जिङ रुम लगायत तारबार गर्ने योजना छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङ्कोटबाट विस्थापित हुने प्याराग्लाईडिङका लागि गण्डकी प्रदेश सरकारले विकल्प खोजको हो । गण्डकी प्रदेश भित्रका विभीन्न पाँच ठाउँमा गरिएको परिक्षणमा बागलुङको बलेवा प्याराग्लाईडिङका लागि सबैभन्दा उत्तम देखिएको छ ।
सडक सञ्जाल, दृश्यावोलकन तथा अन्य पर्यटनका पूर्वाधारहरुका कारण पनि बलेवामा प्याराग्लाईडिङ सञ्चालन सहज हुने विश्वास गरिएको छ ।