जुत्ता सिलाएरै महिनामा लाख कमाई !

जुत्ता सिलाएरै महिनामा लाख कमाई !

  • मंसिर २४, २०७७ बुधवार
  • १९:१०:०० बजे
  • 8.6K
    SHARES
  • जुत्ता सिलाएरै महिनामा लाख कमाई !

    राजन रेग्मी, बागलुङ

    नगरपालिका—२ का प्रेमबहादुर किसानको अनिल अर्जुन जुत्ता पसलमा अचेल ग्राहकको भीड बढ्न थालेको छ ।

    कोरोना महामारीका बीच विस्तारै विद्यालयहरु खुल्न थालका कारण स्कुल पोशाकका लागि जुत्ता किन्नेहरु बढ्दैछन् । त्यसै माथि मंसिरको महिना लगनको महिना पनि हो । विवाहमा जन्त जानका लागि पार्टी शुजको आवश्यकता पर्छ ।

    त्यसले गर्दा पनि ग्राहको संख्या बढ्न थालेको हो । बाटामो हिँड्दै गर्दा च्यातिएका जुत्ता चप्पल सिलाउन आउने पनि उत्तिकै हुन्छन् ।

    कोरोना महामारीका कारण लक डाउन भएपछि ठप्पै भएको जुत्ताको व्यापार अहिले विस्तारै लयमा आउन थालेको छ ।

    बागलुङ नगरपालिका—३ गुठी बसपार्कका किसानले आफ्नो पुर्खाले गर्दै आाएको जुत्ता सिलाउने पेशा अंगाले । उनीसंग त्यो बाहेक अर्को विकल्प पनि थिएन । तर उनलाई त्यही पेशाले निकै उपलब्धी दिएको छ ।

    अब उनी पछिको पुस्ताले जुत्ता सिलाउने काम गर्नुपर्ने छैन । जुत्ता सिलाएर मनग्य आम्दानी गरेका उनले छोराहरुलाई यो पेशामा आउन नपर्ने गरी तयार गरिसकेका छन् ।

    दुई सन्ताका पिता किसानले जुत्ता सिलाएर जेठो छोरालाई अध्ययनका लागि अस्ट्रेलिया पठाए । छोरा बुहारी अहिले अस्ट्रेलियामा अध्ययन गर्छन । छोराले कम्युटर इन्जीनियरिङ र बुहारीले नर्सिङ पढ्छिन् ।

    कान्छो छोरा विज्ञापन विषय लिएर पोखरामा स्नातक पढ्दैछन् ।  किसान भन्छन्,‘मैले त बुबाले गर्दै आएका काम गरें, त्यो बेला पढ्ने अरु काम गर्ने भन्ने पनि थिएन, छोराहरु भने अब आफ्नो खुट्टामा उभिने भएका छन् ।’

    छोरालाई विदेश पठाउँदा २५ लाख खर्च भएको उनी सम्झन्छन् । ‘जुत्ता सिलाएर र नयाँ जुत्ता बनाएर बेचेरै छोरालाई विदेश पठाएको हुँ, अर्को छोराको खर्च पनि यहीबाट निकालेको छु,’ उनी भन्छन् ।

    उनले यो पेशामा २५ वर्ष विताएका छन् । नयाँ जुत्ता पनि आफै सिलाएर आफै विक्री गर्छन् । च्यातिएका जुत्ताहरु पनि सिलाउँछन् ।

    जुत्ताबाटै महिनामा एक लाख रुपैयाँ कमाउने गरेको उनको भनाई छ । ‘अहिले कोरोना कारण अलि समस्या भएको मात्रै हो नभए मैले जुत्ताबाटै महिनामा एक लाख रुपैयाँ त सजिलै कमाउँथे,’ उनले खुसी हुँदै आफ्नो कुरा सुनाए ।

    किसानले २५ वर्ष अगाडी जुत्ता सिलाउन सुरु गर्दा भारतबाट ६ हजार रुपैयाँमा मेसिन लिएका थिए । आफ्नो परिश्रम र मेहनतले गर्दा अहिले लाखौ कमाउन सक्ने भएको उनी बताउँछन् । 

    ‘जे काममा लागियो त्यसमा मेहनत गर्नुपर्छ, मेहनत गर्दै गए सफल भईन्छ,’ उनले आफ्नो अनुभव सुनाए । अहिले काम थोरै गर्ने र धेरै पैसा कमाउन अभिलाषाका कारण नेपालीहरु विदेश भौंतारिनु परेको उनको बुझाई छ ।

    कमाएको रकम बचत गर्ने बानीले पनि उनलाई सजिलो बनाएको छ । ‘मैले कमाएको रकम अनावश्यक ठाउँमा खर्च गर्दिन, घर खर्च हुने बाहेक अरु बचत गर्छु,’ उनले भने,‘फजुल खर्च घटाउने हो भने पनि आफ्नो जीवन सहजता पूर्वक चलाउन सकिन्छ ।’ 

    जुत्ता सिलाएर प्रेमबहादुरले घर खर्च र छोराहरुको पढाई खर्च मात्रै जोहो गरेका छैनन् । बागलुङमा घर घडेरी पनि जुत्ता सिलाएरै जोडेका छन् ।

    ‘यही आम्दानीबाट बागलुङमा आरसिसि घर बनाए, एउटा घडेरी पनि किनेको छु,’ उनले भने,‘अर्को पनि घडेरी किन्ने तयारीमा छु । अहिले त कमाईबाट घर खर्च चलाउन पर्दैन ।

    घर भाडामा लगाएको पैसाले नै घर खर्च चल्ने गरेको छ ।’ सुरुमा आफै जुत्ता सिलाएका उनल बीचमा काठमाडौंमा कालिगढ झिकाएर पनि जुत्ता बनाए । 

    जुत्तामा डिजाईन दिनका लागि त्यो जरुरी थियो । अहिले आफै जुत्ता सिलाउँछन् । व्यापार सामान्य हुँदा बेला पनि मासिक ५० हजार कमाई कहीं जाँदैन । विवाह र विद्यालय खुल्ने सिजनमा सबैभन्दा बढि जुत्ताको व्यापार हुन्छ ।

    बोली बचन व्यवहार र मेहनतले नै सबै भएको उनी बताउँछन् । ‘मानिसहरु काम गर्न लाज मान्छन्, लाज मान्ने मान्छेले प्रगति गर्न सक्दैन,’ उनले भने,‘मलाई मेहनत गर्न लाज लाउँदैन ।

    त्यसले गर्दा पनि राम्रै भएको छ । एक पटक आएका ग्राहकहरु दोहो¥याएर आउनुहन्छ ।’ जुत्ता बनाउने कच्चा पदार्थ भने उनले काठमाडौं पोखरा लगायतका ठाउँबाट ल्याउने गरेको उनी बताउँछन् ।

    यस पटक कोरोना कारण समस्या भएको उनले बताए । ‘यसपाली कोरोनाका कारण मलाई ७/८ लाख रुपैयाँ घाटा भयो, पसलको भाडा पनि घरबाट लिएर तिरें,’ उनले भने,‘लक डाउन खुलेपछि हिले सामान्य चलेको छ ।’

    राम्रो र गुणस्तरीय जुत्रा विक्री गर्ने भएका कारण एक पटक किनको ८० प्रतिशत ग्राहक आफ्नोमा पुनः जुत्ता किन्न आउने गरेको उनको

    भनाई छ ।  कच्चा पदार्थको आयातमा सरकारले केही सहुलियत दिए आफुहरुलाई सजिलो हुने प्रेमबहादुर बताउँछन् । 

     

  • सम्बन्धित विषय:

  • # जुत्ता
  • # महिनामा लाख कमाई

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार