करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

  • माघ ६, २०७७ मंगलवार
  • १०:२१:१८ बजे
  • 3.5K
    SHARES
  • करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

    काठमाडाैँ : तलब, भत्ता लगायत अरू सेवा-सुविधाका आधारमा बैंकिङ क्षेत्र धेरै माथि छ। कोरोना प्रभावले अन्य धेरै क्षेत्रका पेसाकर्मीको तलब, ज्याला प्रभावित भयो। तर बैंकिङ क्षेत्रमा काम गर्ने कसैको पनि तलब-सुविधा कटौती भएन। 

    अन्य क्षेत्रको तुलनामा बैंकमा काम गर्ने कर्मचारीको औसत मासिक तलब, भत्ता उच्च रहेको राष्ट्र बैंककै अध्ययनले देखाउँछ। गत आर्थिक वर्ष कोरोनाको असरले बैंकका कर्मचारीको तलब, भत्ता वृद्धि न्यून देखिए पनि अघिल्लो वर्ष २५ प्रतिशत बढेको राष्ट्र बैंकको ुस्यालरी इन्डेक्सु मा उल्लेख छ। जुन बृद्धिदर अन्य सबै क्षेत्रका कर्मचारीकोभन्दा धेरै हो। 

    कोरोनाको प्रभाव देखाएर कुनै पनि बैंकले आफ्ना कर्मचारीको तलब, भत्ता कटौती गरेको थाहा छैन, नबिल बैंकका सिइओ अनिलकेशरी शाहले भने। वित्तीय क्षेत्र पारदर्शी हुनुमा कर्मचारीको सेवा-सुविधा राम्रो हुनु पनि प्रमुख कारण रहेको उनको भनाइ छ।

    बैंक मात्रै नभई अन्य क्षेत्रमा पनि कर्मचारीको सेवा-सुविधा राम्रो होस्, ताकि चियापान खर्चका नाममा सेवाग्राहीसँग कसैले घुस नलिऊन्,  उनले भने। बैंकमा काम गर्ने कर्मचारीले मासिक तलबका अलवा सञ्चित

    बिदाको भत्ता, संस्थाको नाफाबाट प्राप्त हुने भत्ता, दसैं भत्ता, सामाजिक सुरक्षा कोष, बीमा लगायत सुविधा पाउँछन्।  त्यस्तै सस्तो ब्याजमा (आधार दरमै) घर, गाडी किन्न कर्जा पनि पाउँछन्। यी सुविधा सबै पदमा लागू छ।

    सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले बर्सेनि करोडमा तलब-भत्ता बुझ्ने गरेका छन्। तलब-भत्ताबाहेक सिइओले बैंकबाट गाडी, चालक तथा इन्धन सुविधा पाउँछन्। टेलिफोन, इन्टरनेट, पत्रपत्रिका लगायत खर्च पनि पाउँछन्।  

    एक सिइओ एउटै बैंकमा दुई कार्यकालसम्म मात्रै रहन पाउने कानुनी व्यवस्था छ। एक कार्यकाल भनेको ४ वर्ष हुन्छ। त्यसपछि अर्को बैंकमा जानुपरे ६ महिनाको कुलिङ पिरियडु लागू गर्नुपर्छ। अर्थात् एक बैंकको जागिर छाडेपछि अर्को ६ महिनासम्म कुनै पनि वित्तीय संस्थामा जागिर खान पाइँदैन। 

    बैंकका सिइओ हुन आवश्यक योग्यता राष्ट्र बैंकले नै तोकेको छ। तोकिएको योग्यता पुगेकालाई सञ्चालक समितिले सिइओ नियुक्त गर्न सक्छ। यसको जानकारी सात दिनभित्र राष्ट्र बैंकलाई गराउनुपर्ने प्रावधान छ।

    यदि राष्ट्र बैंकले योग्यता र आचरण उपयुक्त नदेखे अर्को सिइओ नियुक्तिका लागि सञ्चालक समितिलाई निर्देश गर्छ। राष्ट्र बैंकको मापदण्डभित्र रहेरै सञ्चालकहरूले तलब-भत्ता दिने गरेको बताउँछन् माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला। 

    बैंकहरूले सिइओको तलब-भत्ता सार्वजनिक गर्नुपर्छ तर अरू कम्पनीका सिइओको सेवा-सुविधा थाहा नहुँदा उहाँहरूको चर्चा नभएको हुन सक्छ, उनले भने। यद्यपि आफूहरूको तलब-भत्ता अन्य धेरै क्षेत्रका प्रमुख कार्यकारीको भन्दा राम्रो रहेको उनले बताए। 

    कर्मचारीलाई सेवा-सुविधा राम्रो हुँदा उसले खटेर काम गर्ने र त्यसले समग्र उत्पादनमा टेवा पुग्ने नबिलका सिइओ शाहको भनाइ छ।पफर्मेन्स पनि हेरौं न, कोरोनाका बेला कतिपय अस्पतालले नै सेवा रोके तर बैंकिङ सेवा अवरूद्ध भएन।

    संक्रमणको त्रासका बाबजुद कर्मचारी खट्नुभयो, उनले भने, कर्मचारीको उच्च पफर्मेन्सकै कारण नाफा राम्रो छ। अर्कोतर्फ बैंकले सेयरधनीलाई दिने लाभांश पनि राम्रो छ। कर्मचारीलाई धेरै तलब-सुविधा दिँदा कम्पनीलाई नोक्सान पर्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ छ।

    बैंकहरूले कर्मचारीलाई राम्रो सेवा-सुविधा दिएर, लगानीकर्तालाई पनि उत्कृष्ट प्रतिफल दिन सकेकै छौं, उनले भने। पैसा कमाउन घुस नै लिनुपर्ने, भ्रष्टाचार नै गर्नुपर्ने वा आफ्नो कम्पनी नै खोलेर काम गर्नेलाई कम सुविधा

    दिनुपर्ने मान्यता पनि बैंकिङ क्षेत्रले चिर्न सकेको उनले बताए। प्रमुख कार्यकारी मात्रै नभई अरू पद र नयाँ भर्ना भएका सबैको सेवा-सुविधा राम्रो रहेको उनले बताए।

    आफ्नो युवावस्था कुनै क्षेत्रमा समर्पण गरिसकेपछि, भोलि काम गर्न नसक्ने अवस्था हुँदा उसँग केही नहुने वा उपचार लगायत खर्च जुटाउन नसक्ने अवस्था आउनु भनेको एकदमै नराम्रो पक्ष हो, शाहले भने।

    बैंकका कर्मचारी वा सिइओको तलब-भत्ताजस्ता सुविधा धेरै भन्नुभन्दा पनि अन्य क्षेत्रका कर्मचारीको पनि सेवा-सुविधा राम्रो बनाउनेतर्फ जोड दिनुपर्ने उनी बताउँछन्। 

    बैंकिङ क्षेत्रमा सरकारीभन्दा निजीको सेवा-सुविधा राम्रो छ। प्रायः सरकारी जागिरलाई राम्रो मानिँदै आएको हाम्रो परिवेशमा बैंकिङ क्षेत्र भने निजी नै उत्कृष्ट देखिन्छ। निजी बैंकका सिइओले बुझ्ने तलब-भत्ताभन्दा सरकारी बैंकका सिइओले बुझ्ने तलब-भत्ता आधा कम छ।  

    सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, नेपाल र कृषि विकास बैंकका सिइओको वार्षिक तलब(भत्ता ५० लाख रूपैयाँ हाराहारीमा छ। नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारीले गत आर्थिक वर्ष ४६ लाख ९६ हजार रूपैयाँ बुझेका छन्।

    कृषि विकासका सिइओ अनिल उपाध्यायलाई मासिक २ लाख ५० हजार, सो बराबर दसैं भत्ता, औषधि उपचारमा ५० दिनको तलब-भत्ता सुविधा छ।

    राष्ट्रिय वाणिज्यका सिइओ किरणकुमार श्रेष्ठले अघिल्लो वर्ष ४० लाख ६५ हजार रूपैयाँ बुझेका थिए। यी ३ सरकारीबाहेक अरू कुनै पनि वाणिज्य बैंकका सिइओको वार्षिक तलब-भत्ता एक करोड रूपैयाँभन्दा कम छैन।

    केही बैंकले गत आर्थिक वर्षमा दिएको तलब-भत्ता दुई सिइओले बाँडेका छन्। एक सिइओ बाहिरिने र अर्को नियुक्त हुँदा दुई सिइओलाई तलब-भत्ता वितरण भएको हो। ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंक यसका उदाहरण हुन्। 

    २७ वाणिज्य बैंकमध्ये प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओले सबभन्दा बढी तलब-भत्ता बुझेका छन्। दुवैले गत आर्थिक वर्ष ३ करोड रूपैयाँ बढी तलब-भत्ता बुझेका छन्। 

    हेरौं कुन बैंकका सिइओको तलब-भत्ता कति? 

    बैंक

    सिइओ

    वार्षिक तलब-भत्ता (रूपैयाँमा)

    सानिमा

    भुवनकुमार दाहाल

    १ करोड ४६ लाख १५ हजार

    नबिल

    अनिलकेशरी शाह

    १ करोड ६२ लाख ३४ हजार

    मेगा

    अनुपमा खुन्जेली

    १ करोड ७० लाख ३२ हजार

    माछापुच्छ्रे

    सन्तोष कोइराला (हाल)

    सुमन शर्मा (निवर्तमान)

    २ करोड २३ लाख ११ हजार

    सिटिजन्स

    गणेश पोखरेल

    १ करोड ३१ लाख ९० हजार

    प्राइम कमर्सियल

    नारायणदास मानन्धर

    १ करोड ८५ लाख १९ हजार

    एनआइसी एसिया

    रोशन न्यौपाने

    २ करोड ५० लाख ५९ हजार

    लक्ष्मी

    अजयविक्रम शाह

    १ करोड ९ लाख ८० हजार

    स्टान्डर्ड चार्टर्ड

    अनिर्भन घोष दस्तिदार

    २ करोड ८७ लाख ५५ हजार

    सनराइज

    जनक शर्मा पौड्याल

    १ करोड ३५ लाख ५ हजार

    एसबिआई

    दिपकुमार दे

    १ करोड ७४ लाख ५९ हजार

    कुमारी

    सुरेन्द्र भण्डारी

    २ करोड ३८ लाख ३१ हजार

    हिमालयन

    अशोक समशेर राणा

    १ करोड ७९ लाख ७७ हजार

    नेपाल बंगलादेश

    ज्ञानेन्द्र ढुंगाना

    १ करोड ४१ लाख

    बिओके

    शोभनदेव पन्त

    २ करोड ८१ लाख ३ हजार

    एनसिसी

    रमेशराज अर्याल

    १ करोड ३५ लाख ८८ हजार

    ग्लोबल आइएमई

    रत्नराज बज्राचार्य (हाल)

    पर्शुराम कुँवर (निवर्तमान)

    १ करोड २६ लाख ८६ हजार

    एनएमबी

    सुनिल केसी

    १ करोड ७५ लाख २८ हजार

    प्रभु

    अशोक शेरचन

    ३ करोड ४२ लाख ३० हजार

    इन्भेष्टमेन्ट

    ज्योतिप्रकाश पाण्डे

    ३ करोड ६ लाख ३४ हजार

    सेन्चुरी कमर्सियल

    तुलसीराम गौतम

    १ करोड ५४ लाख ५६ हजार

    स्रोतः बैंकहरुले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदन 

  • सम्बन्धित विषय:

  • # करोड बढी तलब

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार