काठमाडाैँ : नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशका डा. सागर राजभण्डारीले लगाएका छन्।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेपछि निर्देशक राजभण्डारीले १० बजेर १० मिनेटमा खोप लगाएका हुन्। खोप लगाउनेबित्तिकै पत्रकारहरूसँग कुरा गर्दै उनले आफू खोप लगाउने पहिलो व्यक्ति हुँदा गर्व महशुस भएको प्रतिक्रिया दिए।
उनले खोप सुरक्षित रहेको भन्दै अन्य स्वास्थ्यकर्मीलाई पनि ढुक्क भएर खोप लगाउन अपिल गरेका छन्। खोप लगाएपछि स्वास्थ्यकर्मीहरूलाई कोरोना महामारीविरूद्ध लड्न थप ऊर्जा मिलेको उनले बताए।
पहिले म ६० किलोमिटर प्रति घण्टाको हिसाबले दौडिरहेको थिएँ, आज खोप लगाएपछि भने एक सय २० किलोमिटर दौडिन्छु भन्ने लागेको छ, निर्देशक राजभण्डारीले भने।