काठमाडौं : भारतले उपहारमा दिएको खोपले खोप अभियान सुरु भए पनि नेपालले थप खोप पाउन कठिन भएको छ । कुनैपनि कम्पनीले नेपाललाई खोप दिने चाहना नदेखाएपछि हाल सञ्चालित खोप अभियान प्रभावित हुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै नागरिकलाई खोप दिने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु भने तीन महिनामा उक्त लक्ष्य पूरा गर्न नसकिने बताउँछन् । स्वास्थ्य सेवा विभाग आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिंह तिङ्करीले खोप खरिद प्रक्रिया नै सुरु नभएको बताए ।
स्वास्थ्य मन्त्रालयले ७२ प्रतिशत खोप लगाउन कम्तिमा पनि २ वर्ष लाग्ने अनुमान गरेको छ । जतिसक्दो छिटो खोप ल्याउने पनि कुनै पनि कम्पनीले खोप बिक्री गर्न इच्छा नदेखाएपछि स्वास्थ्य मन्त्रालय चिन्तित देखिएको छ ।
‘कम्पनीहरुले उत्पादन कम भएको र आफ्नै देशमा खपत हुने भएकाले अहिले तत्काल खोप दिन नसक्ने जनाएका छन्’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन् ।
स्वास्थ्य मन्त्रालयले खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । नेपालमा सेरमको खोपले मात्रै आपतकालीन प्रयोगको अनुमति पाएको छ ।
भारतले खोप अनुदानमा दिनुअघि नै खोप समितिले उत्पादक कम्पनीहरुलाई पत्राचार गरेको थियो । उक्त पत्रमा खोप दिन इच्छुक कम्पनीलाई उपलब्ध गराउन सकिने खोपको परिमाण, मूल्य र उपलब्ध हुने समयको माग गरिएको थियो । ‘हामीले २र३ वटा कम्पनीलाई २र३ पटक नै पत्र पठाएका थियौं तर अहिलेसम्म जवाफ आएको छैन’ महाशाखा प्रमुख तिंकरीले भने, ‘उक्त पत्रको जवाफ नआइकन खरिद प्रकिया सुरु हुन्न ।’
औषधि व्यवस्था विभागले अहिलेसम्म सेरम इनिस्च्युटको कोभिसिल्ड खोपलाई मात्र आपतकालीन अनुमति दिएकाले सेरमकै खोप प्राथमिकतामा रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार नेपालमा अन्य कम्पनीको खोपले आपतकालीन प्रयोगको अनुमति नपाएसम्म सेरमकै खोप निर्विकल्प हो ।
सेरम इनिस्च्युटले १० लाख डोज खोप अनुदानमा दिएर सोही कम्पनीको खोप खरिद गर्न नैतिक दबाबसमेत दिएको मन्त्रालयका अधिकारीहरुको तर्क छ । ‘अनुदान लिएपछि खरिद पनि त्यही कम्पनीको गर्नुपर्ने नैतिक दबाब हामीलाई छ’ एक अधिकारी भन्छन् ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतको ३ प्रतिशत खोप पनि मार्चसम्म आइपुग्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यस अलावा अन्य खोप ल्याउन छलफल चलिरहेको मन्त्रालयका प्रवक्ता डा. गौतम बताउँछन् । उनका अनुसार अन्य ४ कम्पनीसंग खोप खरिदका लागि छलफल चलिरहे पनि निष्कर्षमा पुगेको छैन । अनलाईनखबरबाट