बागलुङ :जिल्लाको तमानखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यलाई तीब्रता दिएको छ ।
नेपालको संविधान २०७२ मा स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न सक्ने व्यवस्थालाई मध्येनजर गर्दै तमानखोलाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीब्र बनाएको हो ।
स्थानीय स्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, भेषभुषा, चालचलन
तथा रहन सहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावनाहरु समावेश गरेर पाठ्यक्रम तयार गरिनेछ ।
गाउँपालिकाले आगामी शैक्षिक शत्रबाट नै लागु गर्नेगरी पाठ्यक्रमको तयारीमा लागेको तमानखोला गाउँपालिका शिक्षा शाखा प्रमुख पुरन घर्तीले बताए ।
‘हामीले स्थानीय पाठ्यक्रम निर्माणको कामलाई तीब्र बनाएका छौं,’ उनले भने,‘पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको छ ।’ पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ ।
उक्त पुस्तक आगामी शैक्षिक शत्रबाटै पढाउन सुरु हुने घर्तीले बताए । ‘आगामी २०७८ को शैक्षिक शत्रमा कक्षा १ मा यो विषय लागु हुनेछ,’ उनले भने,‘त्यसपछि क्रमशः कक्षा पाँचसम्म यो विषयको पठन पाठन हुनेछ ।’
हप्ताको चार दिन पठन पाठन हुनेगरी १०० पूर्णाङको पाठ्यक्रम निर्माण भैरहेको उनले जानकारी दिए । १०० पूर्णाङ्कलाई पनि दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाज गरिएको छ ।
‘अनिवार्य खण्डलाई सबै विद्यालयले अनिवार्य रुपमा पढाउनुपर्नेछ,’ उनले भने,‘ ऐच्छिक खण्डमा रहेका विभीन्न क्षेत्र छनोट गरेर पठन पाठन गराउन सक्नेछन् ।’ ऐच्छिक खण्डमा पनि दुई वटा उपखण्ड रहेका छन् ।
उपखण्ड क मा ९ वटा क्षेत्र मध्ये ३ वटा र उपखण्ड ख अन्तर्गत ५ क्षेत्रमध्ये दुई वटा रोजेर बढाउनुपर्ने उनले बताए ।
पाठ्यक्रमको अनिवार्य खण्डमा स्थानीय रहन सहन, चालन चलन संस्कृति, भाषा, ऐतिहाँसिक व्यक्तिहरुको जीवनी, पर्यटकीय क्षेत्र, कृषि, पशुपालनलाई समावेश गरिएको छ ।
अनिवार्य खण्डमा सैद्धान्तिक विषयमा बढि जोड दिईएको छ भने ऐच्छिक खण्डलाई बढि प्रयोगात्मक बनाउने प्रयास गरिएको छ ।
ऐच्छिक खण्डमा पर्यटन व्यवसाय, साना तथा ठूलो उद्योग, गाउँपालिकाका मुख्य खेती, पशुपालन लगायत क्षेत्रहरु समावेश गरेर प्रयोगात्मक हुनेगरी विस्तृत कुराहरु समावेश गरिएको छ ।
गाउँपालिकाले पालिका अध्यक्ष संयोजक र शिक्षा शाखा प्रमुख सदस्य सचिव रहेको पाठ्यक्रम निर्माण समिति निर्माण गरेर पाठ्यक्रम निर्माणको काम अगाडी बढाएको हो ।
पाठ्यक्रम निर्माणका क्रममा स्थानीय देखि राष्ट्रिय विज्ञहरुको राय सुझाव लिएर तयार पार्ने काम भैरहेको गाउँपालिकाले जनाएको छ ।
तमानखोला गाउँपालिका भित्रको अवस्था र सम्भावनाबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने र उनीहरुलाई त्यसतर्फ लाग्नका लागि प्रेरित गर्ने उद्देश्यले पाठ्यक्रम निर्माणका काम अगाडी बढाईएको तमानखोला गाउँपालिका—५ का वडाध्यक्ष एवं सामाजिक विकास शाखा प्रमुख हिराबहादुर विकले बताए ।
‘हामीले यहाँका बालबालिकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरु पढायौं,’ उनी भन्छन्,‘तर यही घर आगनको रहन सहन र चाल चलन भने भुल्दै र बिर्सदै जाने अवस्था सिर्जना भयो । त्यसले गर्दा पनि स्थानीय पाठ्यक्रमको आवश्यकता देखियो ।’
राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका यहाँको गतिविधि, रहन सहन समावेश गर्न गर्नका लागि आफ्नै पाठ्यक्रम बनाउने काममा लागेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।
‘तमानखोलाका बालबालिकालाई स्याउ खेतिका बारेमा पढाउनको खासै अर्थ रहन्न किनकी यहाँ स्याउ उत्पादन हुँदैन,’ उनले भने,‘यहाँको जडिबुटीको प्रवद्र्धन महत्वबोध, यहाँ उत्पादन हुने कृषि उपजको व्यवहारिक ज्ञान सिकाउनका लागि व्यवहारिक पाठ्यक्रम तयारी गर्दैछौं ।’
पाठ्यक्रममा लोप हुँदै जान थालेको मगर भाषा र छन्त्याल भाषा पनि समावेश गरिनेछ ।
‘अहिले तमानखोलामा मगर, छन्त्या भाषा एकदमै कम बोलिन्छ,’ बुढा भन्छन्,‘अहिले चलन चल्तीमा रहेको शब्दहरु पनि हराएर जाने अवस्था नआओस् भने ती भाषालाई पनि प्राथमिकताका साथ समावेश गरेका छौं ।’
अहिले नै पाठ्यक्रममा मगर र छन्त्याल भाषालाई मुख्य बनाउन अप्ठ्यारो भएकाले मगर र छन्त्याल भाषामा प्रयोग हुने शब्दहरु बारेमा जानकारी गराईने उनले बताए ।
‘एकैचोटी सबै गर्छु भन्दा केही पनि नहुने र असफल हुने अवस्था पनि हुन्छ, त्यसैले अहिले नै भाषा भन्दा पनि भाषामा प्रयोग हुने शब्दहरुको अर्थ बुझाउनेगरी पाठ्यक्रमको विकास भएको छ,’ बुढाले भने ।
तमानखोलामा मगर छन्त्याल जातिको बाहुल्यता छ । मगर छन्त्यालको सघन बस्ती रहेको र ३७ प्रतिशत कुल जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ ।
पाठ्यक्रममा पालिका भित्र रहेका ऐतिहासिक मठ मन्दिर, पालिकाको विभीन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुको जीवनी पनि समावेश हुनेछ । ‘स्थानीय व्यक्तित्वको बारेमा यहाँकालाई नै थाहा भएन,
तमानखोलाको अवस्थाको बारेमा थाहा भएन,’ बुढा भन्छन् ।