बागलुङ : घरमा कमाएर ल्याउने एक मात्र व्यक्ति श्रीमान थला परेपछि चरम गरिबी र अभाव झेल्न बाध्य भएकी बागलुङ नगरपालिका—६ की अनिता विक परियारलाई आर्थिक सहयोग गरिएको छ ।
बानपा—६ लहरेपीपलकी अनिताको बारेमा थाहा पाएपछि कलाकार रिना केसीको पहलमा संकलन भएको रकम पीडित अनितालाई मंगलबार हस्तान्तरण गरिएको हो । कलाकार केसी मार्फत म्याग्दी रत्नेचौर घर भई अमेरिकामा रहेकी समाजसेवी साबी थापाले २० हजार, काठमाडौंमा रहेका राज केसीबाट पाँच हजार र गलकोट घर भई काठमाडौं बस्ने सन्तु बोहोराले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
सहयोगीहरुबाट संकलन भएको नगद ३० हजार र आफ्नो व्यक्तिगत ५ हजार थप गरी केसीले मंगलबार ३५ हजार रुपैयाँ पीडित अनितालाई हस्तान्तरण गरेकी छिन् ।
कमाएर ल्याउने व्यक्ति नै थल परेपछि अनिताको घरमा साँझ बिहान चुलो बल्न नसक्ने अवस्था भएको थाहा पाएपछि आफुले सहयोगका लागि अपिल गरेको सहयोगीहरुले पठाएको सहयोगमा आफुले समेत थपेर हस्तान्तरण गरेको कलाकार केसीले बताईन् ।
उक्त सहयोग रकम बागलुङ नगरपालिका—६ का वडाध्यक्ष खेमराज सापकोटाको रोहबरमा हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष सापकोटाले विपन्न र दुःखीहरुलाई सहयोग गरेकोमा सहयोगीहरुलाई धन्यवाद दिए ।
श्रीमानको खुट्टा भाँचिएपछि तीन साना बच्चाबच्ची सहित रहेकी अनिताले निकै दुःख कष्ट झेल्दै आएकी थिईन् ।