बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलन्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वाताबरणमनत्री विकास लम्सालले उद्योग ग्रामको पूर्वाधार निर्माणका लागि शिलन्यास गरेका हुन् ।
उद्योग सञ्चालनका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरुको तयारी
गरी उद्योगमा लगानी गर्न चाहाने व्यक्तिहरुलाई आकर्षित गर्नका लागि सरकारले उद्योग ग्रामको अवधारणा ल्याएको हो ।
शनिबार शिलन्यास गरिएको उद्योग ग्राममा सडक, पर्खाल, विद्युत, खानेपानी, शौचालय लगायतका भौतिक संरचनाहरु तयार गरिनेछ ।
उद्योग ग्रामको शिलन्यास गर्दै मन्त्री लम्सालले स्वदेशमा रोजगारीको सिर्जना गरी देशलाई समृद्ध बनाउनका लागि यो कार्यक्रम अघि सारिएको बताए ।
‘हरेक पालिकामा उद्योग ग्राम स्थापना गर्ने योजना छ, अहिले बागलुङमा दुई पालिका यसका लागि छनोट भएका छन्,’ उनले भने,‘ गाउँ गाउँमा उद्योग व्यवसाय स्थापना गर्ने र त्यस मार्फत समृद्धिको सपना पूरा गर्ने सरकारको लक्ष्य छ ।
आज उद्योग ग्रामको मात्र होईन हाम्रो समृद्धिको सपनाको शिलन्यास भएको छ ।’
शिलन्यास कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर थापा, गण्डकी प्रदेशसभा सदस्य चन्द्र बहादुर बुढा, उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल लगायतले बोलेका थिए ।
बागलुङमा यो वर्ष बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका उद्योग ग्राम स्थापनाका लागि छनोटमा परेका छन् ।
उद्योग ग्रामको निर्माणसंगै ताराखोला क्षेत्रमा रहेका स्थानीय उत्पादनहरुलाई उद्योग मार्फत उत्पादन
तथा प्रशोधन गरी बजारमा ल्याउन सहज हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।