गलकोट : “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी“ भन्ने मुल नाराका साथ शुक्रबार गलकोट हटियामा ६४ औँ सहकारी दिवस मनाइएको छ । यस अवसरमा स्थानीय सरकारको सहकारी व्यवस्थापनमा भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ ।
गल्कोट नगरपालिकाको सहयोग र समन्वय, सहकारी सञ्जाल गलकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सहकारीको माध्यमबाट समग्र
गलकोटलाई समृद्धि बनाउनमा ठूलो सहयोग गरिरहेको बताए ।
केन्द्र सरकारले स्थानीय सरकारलाई सहकारी समन्बधी अधिकार दिए पनि आवश्यक जनशक्ति उपलब्ध नगराएको भन्दै स्थानीय रुपमा उपलब्ध जनशक्ति व्यवस्थापन गरेर सेवा दिदै आइरहेको बताए । सहकारीहरुले रोजगार गुमाएका र बेरोजगारहरुलाइ स्वोरोजगार बनाउनका
लागि खेलेको भूमिकाको चर्चा गर्दै विधि र पद्धति अनुसार सहकारी चल्नु पर्नेमा गैरेले जोड दिनुभयो ।नगरपालिकाले सहकारीको अनुगमन तथा निगरानी गरिरहेको बताउँदै, आगामी आर्थिक वर्षमा सहकारीकर्मीहरुको सुझाव र सल्लाहमा नगरपालिका सहकारी मैत्री हुने गरि
सहकारी नीति ल्याउने समेत जानकारी गराए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भन्डारी जिल्ला सहकारी संघका सदस्य चिन्तामणी शर्मा, सहकारी सञ्जाल गलकोट नगरपालिकाका सदस्य घनश्याम गौतम, गौमुखी कृषि सहकारीका अध्यक्ष शिव कुमारी खत्री लगायतले बोलेका थिए ।
सो अवसरमा सहकारीकर्मीहरुले जनचेतना मूलक नारा लगाउदै हटिया बजार परिक्रमा गरेका थिए । कार्यक्रम सहकारी संजालका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष छुमबहादुर थापाको स्वागत र सदस्य घनश्याम चालिसेको संचालनमा सम्पन्न भयको थियो ।