बागलुङ : जिल्लाको बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवा सुरु भएको छ ।
बागलुङ नगरपालिका, एनआरएनए बेलायत, स्वेयनफेन ट्रस्ट, चार भञ्ज्याङ तमु समाज बेलायत र अन्तर्राष्ट्रिय बागलुङ समाजको संयुक्त सहकार्यमा बागलुङ नगरपालिका स्थीत स्वास्थ्य शाखामा शुक्रबारबाट टेलिमेडिसिन सेवा सुचारु गरिएको हो । दुर्गममा नागरिकहरुको स्वास्थ्यमा देखिएको स्वास्थ्य जटिलताको पहिचान गरी विशेषज्ञ चिकित्सक मार्फत उपचार पु-याउने लक्ष्यका साथ बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवा सुचारु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
सेवाका लागि विभिन्न देशमा करिब आठ सय विषेशज्ञहरु निःशुल्क सेवा दिनका लागि सधै तत्पर रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेले बताए ।
विश्वका करिब ८ सय विशेषज्ञहरु निःशुल्क सेवा दिनको लागि तत्पर हुनुहुन्छ, हामीले पहिलै टेलिमेडिसिन सेवा सञ्चालनका लागि तयारी गरिरहेका थियौ,’ उनले भने,‘तर दुर्भाग्यबस हामीले कोरोना भाईरसका कारण सोचे अनुरुपको काम गर्न सकेनौं तर ढिलै भए पनि हामीले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएका छौं । यसले बागलुङ नगरपालिका मात्र नभई समग्र बागलुङ जिल्ला सहित साबिकका धौलागिरि अञ्चलका विभिन्न रोगबाट समस्यामा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने तयारीमा छौँ ।’
टेलिमेडिसिन सेवाबाट मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामी तथा दिर्घरोग भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरहरुबाट उपचार पाउने भएका हुन ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल भन्छन्,‘धेरै दीर्घरोगी, मानसिक बिरामीलाई टेलिमेडिसिन सेवाले निकै राम्रो भूमिका खेल्ने देखिन्छ हामीले बिरामीको सम्पूर्ण फाईल ईमेलको माध्यमबाट फाउन्डेसनलाई पठाउछौैं, फाउन्डेसनले औषधी मिले नमिलेको एकिन गर्छ र सुझाव दिन्छ ।
पहिले दुर्गम ठाउँमा मात्र टेलिमेडिसिन सेवा सुरु थियो भने अहिले हामीले बागलुङ नगरपालिका भित्रै सेवा सुरु गरेका छौं । यसले विभिन्न दीर्घरोगी, मानसिक समस्या भएका बिरामीलाई निकै सहजता पुराउने छ भन्ने विश्वास गरेका छौं ।’
यहाँबाट बिरामीको स्वास्थ्य जाँच सम्बन्धी कागजपत्र स्वीफिन फाउन्डेसनमा पठाउने र फाउन्डेसनबाट कम्तीमा सात मिनेटदेखि बढिमा एक घन्टामा विशेषज्ञ डाक्टर सम्पर्क आउने अन्तर्राष्ट्रिय बागलुङ समाज बागलुङका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले बताए । त्यती मात्र नभई, हरेक वर्ष विदेशबाट विषेशज्ञहरु घुम्ती सेवाका लागि पनि आउने गरेको कँडेलले बताए ।
उनले भने,‘ सेवा दिनको लागि बस्नुभएको चिकित्सकहरुले बिरामीको प्रकृति हेरेर बढिमा एक घण्टा समय भित्र सम्पर्क आउने गर्छन् । बिरामीको पहिलेको अवस्था के थियो र अहिलेको अवस्था कस्तो भन्ने कुरा राम्रोसंग नियालेर सल्लाह र औषधी सुझाव दिने काम गर्नेछन् ।’ बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले ईन्टरनेटको माध्यमबाट बिरामीको समस्याबारे विशेषज्ञलाई जानकारी गराउनेछ । विशेषज्ञको सल्लाह अनुसार औषधी उपचार हुनेछ ।
औषधी भने स्वेनफेन ट्रस्ट र बागलुङ नगरपालिकाको संयुक्त सहकार्य गरेर उपलब्ध गराउने अन्तर्राष्ट्रिय बागलुङ समाजले जनाएको छ । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको अध्यक्षतामा गरिएको सुभारम्भ कार्याक्रमको सञ्चालन बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका डिल्ली पौडेलले गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले स्वागत मन्तव्य राख्नु साथै टेलिमेडिसिनको उपयोगिताको बारेमा चर्चा गरेका थिए ।