बागलुङ : लामो समयको रस्साकस्सी गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । विभीन्न मन्त्रीहरुको असन्तुष्टीका बापजुद मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले शुक्रबार मन्त्रीपरिषद विस्तार गरी ११ सदस्यीय बनाएका छन् ।
गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदमा बागलुङबाट दुई जना मन्त्री बनेका छन् । बागलुङबाट नेपाली काँग्रेसका प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेल र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा सागर मन्त्री बनेका हुन् । कँडेल समानुपातिक र बुढा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा क बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
कँडेलले गण्डकी प्रदेश सरकारको पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय राजनीतिमा आएको हलचल र अदालतले नेकपालाई विभाजन गरेर नेकपा एमाले र माओवादी केन्द्र बनाईदिएपछि गण्डकी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरसंगै सुरु भएको सरकार परिवर्तनका प्रयास सुरु भएको थियो ।
नेकपा भित्रको अन्तरसंघर्षमा केपी शर्मा ओलीलाई साथ दिएकै कारण पृथ्यवीसुब्बा गुरुङले गण्डकी प्रदेशमा मुख्यमन्त्री पद गुमाउनु परेको थियो । लामो समय गठबन्धन भित्रैको आन्तरिक समस्याका कारण मुख्यमन्त्रीले मन्त्रीपरिषद विस्तार गर्न सकेको थिएनन् ।
यस्तो छ मनिभद्र शर्मा कँडेलको राजनीतिक जीवन
बागलुङ जिल्लाको साविक लेखानी गाविस वडा नं. २ हालको काठेखोला गाउँपालिका—८ निवासी पिता पुरुषोत्तम कँडेल र आमा अक्षरादेवी कँडेलको कोखबाट कान्छो सुपुत्रको रुपमा मिति २०१२ साल फागुन महिनाको ६ गते उनको जन्म भएको हो । उहाँका तीन दाजुभाई र चार दिदिबहिनी रहेका छन् । लेखानी, विहुँ र पैयुपाटा, बागलुङ बजार र काठमाडौं पुगेर उनले एम.ए.सम्मको अध्ययन गरेका छन् भने अध्ययनसँगै आफ्नो राजनैतिक तथा सामाजिक गतिविधिलाई अहिलेसम्म क्रियाशिल रुपमा अगाडी बढाई बढाए ।
वि.सं. २०२६ सालमा अमर उच्च माविमा अध्ययन गर्दाको समयमा नै आफुलाई विद्यार्थी राजनीतिक गतिविधीमा आवद्धता जनाई सोही वर्ष गठित भएको विद्यार्थी युनियनको कोषाध्यक्षमा चयन भएका थिए ।
वि.सं. २०२७ सालमा नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा देश भरका प्रजातन्त्रमा आस्था राख्ने विद्यार्थीहरुलाई संगठीत गर्दै स्थापित गरेको संस्था नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । महेन्द्र (हालः धवलागिरी) बहुमुखी क्याम्पसको स्ववीयु सभापतिमा वि.सं. २०३२ सालमा निर्वाचित भई विद्यार्थी हकहितमा काम गर्दै गर्दा रोजगारीको लागि शिक्षण पेशमा आवद्ध भई विहुँ अमर उच्च माविमा लामो समय अध्यापन समेत गराए । यसै समयमा वि.स.२०३५ सालमा लोकतन्त्रमा आस्था राख्ने शिक्षकहरुलाई संगठित गराई लोकतन्त्रवादी शिक्षकहरुको भुमिगत संगठनको जिल्ला सचिव भई पेशागत हकहितमा उत्रिएका थिए । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ बागलुङको संस्थापक सदस्य र सल्लाहकार समते भई आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।
नेपालमा सुरु भएको बहुदलीय व्यवस्थाका पक्षधरमा वि.सं. २०३६ सालमा जिल्ला प्रचार प्रसार समितिको सदस्य पदमा रही आन्दोलनमा लागेको कारण तत्कालिन अञ्चलाधिसबाट स्थायी शिक्षक पेशाबाट निस्कासनमा परेका थिए । ततः पश्चात पनि आफ्नो यात्रालाई निरन्तरता दिँदै नेपाली काँग्रेसको संगठन बिस्तार गर्दै २०३७ साल फागुन ८ गते सम्पन्न प्रशिक्षण सहितको अधिवेशनबाट जिल्ला सचिव पदमा निर्वाचित भएका थिए ।
वि.सं. २०४२ सालमा भएको देशव्यापी सत्याग्रहमा पाँच महिना बागलुङ कारागारमा याताना सहित जेल जीवनयापन पश्चात पनि नेपाली काँग्रेसको संगठन विस्तारमा निरन्तर क्रियाशील भई २०४६ सालमा जिल्ला उपसभापति भई संगठन विस्तार गरी २०४८ देखि २०५२ सम्म जिल्ला सभापति भईकाम गरेको । तत् पश्चात भएको आठौं देखि १३ औं महाधिवेशनसम्म आउँदा जिल्लामा निरन्तर रुपमा महाधिवेशन तथा महासमितिमा चयन हुँदै आएका छन् । तेह्रौ महाधिवेसनका लागि जिल्ला अधिवेसनमा जिल्ला सभापति उठेका उनी सफल बन्न सकेनन् ।
विद्यार्थी हुँदै शिक्षण पेशामा रही विभिन्न ढंगबाट पार्टीको संगठन विकास र बिस्तारको आरोपमा तत्कालिन पञ्चायती शासक, विभिन्न नाममा स्थापित कम्युनिष्ट घटक र उनका जिल्ला निकट संगठन र राज्यको तर्फबाट समेत सयौं पटक शारीरिक, मानसिक र भौतिक रुपमा समेत आक्रमणमा परेता पनि आफुले बोकेको सिद्धान्त र नेपाली काँग्रेसको अभियानमा निरन्तर क्रियाशिल हुँदै आएका शर्मा कँडेललाई वि.सं. २०३६ सालमा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहलाई लिएर बहुदलको प्रचार प्रसार गर्ने क्रममा बानपा–३ (साविक कालिका गाविस)मा सहकर्मी पदमबहादुर के.सी. र उनी माथी सुनियोजित तरिकाले सांघातिक आक्रमण भएको थियो भने २०४२ सालको सत्ताग्रहमा सक्रिय भएको आरोपमा पाँच महिना शारीरिक तथा मानसिक यातानासहितको जेल जीवन व्यतित गरेका छन् ।
२०४६ साल चैत्र २६ गते भएको प्रजातन्त्रको पुनःप्राप्ती पश्चात भएको २०४८ सालको संसदीय निर्वाचनको क्रममा तत्कालिक सत्ताधारी राजनैतिक शक्ती निकट व्यक्तिहरुद्धारा बागलुङ बजारमा सांघतिक आक्रमण भएकोबाट घाईते भई लामो समय उपचार पश्चात पुनः राजनैतिक गतिविधिमा सक्रिय भई वि.सं. २०५० सालमा जिल्लाको क्षेत्र नं. २ को सुखौरा गाविसमा प्रशिक्षण र इकाईको अधिवेशन गराउँदै गर्दा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताद्धारा आक्रमण हुँदा उनी लगायत नेपाली काँग्रेसका नेता हर्कबहादुर खत्री समेत घाईते भएका थिए ।
संगठन बिस्तार, कार्यकर्ताको संरक्षण र काँग्रेसको विजयी यात्राका लागि कटिबद्ध नेता माथी पटक पटक भएको आक्रमणले समेत विचलित नभई २०५४ सालको भएको स्थानिय निर्वाचनको प्रचार प्रसारको क्रममा क्षेत्र नं. २को दमेक गाविसमा नेपाली काँग्रेस बागलुङका शिर्ष नेता गोविन्द प्रसाद शर्मा कँडेल र उनी माथी विपक्षी अन्य दलहरुबाट आक्रमण भई करिब वर्ष दिनको उपचार पश्चात पुनः राजनैतिक क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।
तत्कालिन विद्रोही नेकपा माओवादीद्धारा नेपाली काँग्रेसमा लागेको र आफुहरुलाई सहयोग नगरेको आरोपमा हत्या गर्ने योजना बनाएको जानकारी पाए पछि गाउँ भन्दा बाहिर रहेर संगठनको काम गर्दै गरेको आरोपमा वि.स. २०५९ साल भाद्र २८ गतेका राती घरमा आगजनी गरी गाँस बाँस कपास विहिन अवस्थामा काठमाडौंमा विभिन्न कार्यकर्ताको सहयोग र ऋण गरी करिब चार वर्षको कष्टकर जीवनयापन गरेका उनी नेपालमा भएका पटक पटकमा आन्दोलन र फेरिएको राज्य व्यवस्थाबाट पनि प्रत्यक्ष लाभदायी पदमा पुग्ने वातावरण नभएर पनि काँग्रेसकै कार्यकर्ता र नेताहरुको संरक्षण र संगठन विस्तारमा जुटेका कँडेल २०६२÷६३मा भएको जनआन्दोलन नेतृत्व गरेको आरोपमा करिब एक महिनाको जेल जीवन र मानसिक यातना समेत भोगेका थिए ।
नेपालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा जिल्ला भर संगठनमा क्रियाशिल रहेको भन्दै आफ्नो मुख्य कार्यक्षेत्र भन्दा बाहिर क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार भई प्रचारप्रसारको क्रममा जिल्लाको क्षेत्र नं. २ को हुग्दीशिर गाविसमा राष्ट्रिय जनमोर्चासहितका अन्य विभिन्न दलका नेताहरुसमेतको योजनामा सांघातिक आक्रमण भएको थियो । सो क्रममा बाबुराम क्षेत्री, बलिभद्र कँडेल, दिर्घराम कँडेल, तुलसीराम कँडेल, राजन जिसी, प्रकाश क्षेत्रीलगायतका व्यक्तिहरु घाईते भएका थिए ।
सञ्चारको समस्याको बाबजुद पनि घाईतेहरुको तत्काल उपचार गराई अगाडी बढ्ने क्रममा पुनः गल्कोटको जंगलमा आक्रमणको प्रयास भएको थियो ।
राजनैतिक यात्रासँगै अध्ययनशिल व्यक्तिको रुपमा आफुलाई स्थापित गराउन सफल भएका छन् । उनले लेखेको विभिन्न लेख रचनाहरु विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छनु भने विभिन्न वैचारिक गोष्ठी तथा आन्तरिक ताथ बाहुय प्रशिक्षणहरुमा सहभागीता र प्रशिक्षण समेत दिईसकेका छन् । जनताको सेवासँगै राज्यको पुर्नसंरचनामा विश्वास राख्ने कँडेल आफुनो जन्म गाउसँगै जिल्लाका विभिन्न क्षेत्रको विकासमा स्पष्ट विचार र योजना भएका नेताको रुपमा चिनिन्छन् । सिंचाई, विद्युत, कृषि, मोटरबाटो, विद्यालयलगायतका विभिन्न क्षेत्रको विकासमा जुटेका कँडेल जिल्ला शिक्षा समिति बागलुङको सल्लाहकार (२०६३–६५) भई सफल कार्यकाल व्यतित गरेका छन् ।
अमर क्याम्पस विहुँको व्यवस्थापन समिति सदस्य रही काम गरेका छन् । उनी लेखानी उच्च माविको दुई कार्यकाल व्यवस्थापन समिति र जिल्लाका अन्य विद्यालयहरुको भवन निर्माण र शिक्षाको स्तरन्नोतिका लागि सदैव क्रियाशिल रहँदै आएका छन् ।
आर्यआर्जन, साना उद्यम र जिवन स्तरन्नोतीका लागि सहकारी अभियानको मान्यतालाई आत्मसात गरी २०४८ सालमा जिल्ला सहकारी संघको अध्यक्ष समेत भएका थिए । युवाहरुलागि विभिन्न क्षेत्रहरुमा स्वदेशमा रोजगारीको व्यवस्था गर्नु पर्दछ भन्ने मान्यता बोकेर खेलकुद क्षेत्रको सम्मान र सहयोग गरेको भन्दै २०५५ सालमा तत्कालित सरकारद्धारा जिल्ला खेलुकद परिषदको अध्यक्षमा चयन समेत गरेको थियो ।
धार्मिक मठ मन्दिरको संरक्षण र विकास गरी पर्यापर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वासका साथमा लेखानीमा रहेको शिवालय मन्दीर, विहुकोटमा रहेको त्रिपुरेश्वर शिवालय मन्दीर रामकोट, ओमकारेश्वर शिवालय सत्तल एवं बृद्धाश्रम, सर्वसिद्धिधाम पञ्चकोटलगायतका धार्मिक शक्तिपिठहरुको विकासमा जुटेका कँडेलले निर्णयघाटमा निर्माण भएको सत्तल तथा वृद्धाश्रम निर्माण एवं व्यवस्थापनको अध्यक्ष समेत भएर काम गरी सकेका छन् ।
नेपाली काँग्रेसको राजनीतिमा लामो संघर्ष गरेको कँडेल लाभको पदमा पुगेका थिएनन् । नेपालको संविधान २०७२ जारी भएपछि मुलुक संघीयतामा गयो । तीन तहको सरकारको संरचना बन्दा कँडेल २०७४ को निर्वाचनमा प्रदेश सभातर्फ समानुपातिकतर्फ उम्मेदवार बनेका थिए । समानुपातिक सूचीबाट गण्डकी प्रदेश सभा सदस्यमा चुनिएका कँडेलको नेपाली काँग्रेसको गण्डकी प्रदेश सभामा संसदीय दलको नेताको रुपमा पनि चर्चा चलेको थियो । पछि उनले संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई छोडेर उनी प्रमुख सचेतक बनेका थिए ।
सत्तारुढ दल नेकपामा विखण्न आएर काँग्रेस नेतृत्वमा सरकार बन्ने चर्चा सुरु भएसंगै उनलाई मन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो ।
चन्द्रबहादुर बुढा सागरको राजनीतिक यात्रा
चन्द्रबहादुर बुढा मगर जिल्लाको ताराखोला गाउँपालिका—४ मा जन्मिएका हुन् । माओवादी जनयुद्ध लडेर आएका उनको युद्धकालिन नाम सागर हो । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी चन्द्र बुढा सागरको नामले जिल्लाको राजनीतिमा सक्रिय रहेका व्यक्ति हुन् ।
ताराखोला गाउँपालिका—४ मा विक्रम संवत २०२५ साल साउन १९ गते पिता बलबहादुर बुढा र आमा गौमती बुढाको कान्छो सन्तानको रुपमा उनले जन्म लिएका थिए । उनीभन्दा अगाडि परिवारमा आठ दाजु दिदीको जायजन्म भैसकेको थियो । स्थानीय दुर्गा भवानी माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरेका बुढाले नेपाल मावि ताराबाट एसएलसी दिएका थिए । उनले आईएसम्मको अध्ययन गरेका छन् ।
अध्ययनसंगै राजनीतिमा लागेका उनी त्यसपछि अध्यन भन्दा राजनीतिमा सक्रिय हुन थाले । उनमा भर्खर चेतना आउन थालेदेखि नै धनी गरिबबीचको खाडललेको विषयले उनलाई निकै चिमाट्थ्यो ।
वर्गीय अन्तरले गर्दा समाजमा भैरहेको शोषण दमनको विरुद्ध उनले आवाज उठाउन थाले । नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य रहेका बुढा मगर विद्यालयमा अध्ययनरत रहँदा देखि नै राजनीतिक जीवनमा निकै सक्रिय रहेका थिए । २०३७ सालको जनमत संग्रह÷शिक्षक आन्दोलनबाट प्रभावित उनी मावि तहमा अध्ययनरत हुँदादेखि नै राजनीतिमा लागेका थिए । विद्यार्थी हक, हित र अधिकारको आन्दोलनमा सहभागी उनी विद्यार्थी संगठनको जिल्ला समितिमा रहि लामो समय काम गरेका थिए ।
२०४६ जनआन्दोलनमा विद्यार्थी संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
उनले कम्युनिष्ट पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चामा रही काम गरेको थिए । बुढा मगरले २०५० सालमा पार्टीको युवा संगठन वाइसिएलमा संस्थापक सदस्य भई कार्य सम्पादन गरे । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरे पश्चात पार्टीले सञ्चालन गरेका विभिन्न भूमिगत गतिविधिमा संलग्न रहि महत्वपूर्ण भूमिका खेले । भूमिगत राजनीतिकै समयमा उनले संगठनमै क्रियाशिल निरमाया श्रीष मगरसँग २०५६ सालमा विवाह गरेका थिए । आन्दोलनकै क्रममा २०५३ सालमा प्रहरीको गिरफ्तारीमा परे ।
एक महिनासम्म हिरासतमामा बस्न बाध्य उनले भौतिक तथा मानसिक यातना भोगेका थिए । त्यतिबेला आफुले चरम यातना पाएको उनी अहिले बताउने गर्छन् ।
उनलाई कृषि विकास बैङ्क आक्रमण गरेको घट्नाको आरोपमा घरबाट नै पक्राऊ गरिएको थियो । मुद्दा भने ज्यान मार्ने र हातहतियार तथा खरखजना सम्बन्धी लगाईएको थियो । बुढा मगर २०५४ सालको सुरुदेखि पूर्णकालीन भई छापामार समुहमा सहभागी हुँदै लडाकु दस्ताबाट जनमुक्ती सेनाको अवधारणा अगाडि बढेपछि सांगठनिक काममा सक्रिय रहेका थिए । २०५७ सालमा बागलुङ, म्याग्दी, पर्वतको संयुक्त जिल्ला कमिटिमा आवद्ध र निरन्तर संघर्षमा सहभागी रहेका उनी २०६० सालमा माओवादीको क्षेत्रीय ब्यूरो सदस्य बनेका थिए ।
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका उनी नेकपा एमालेका रामजी प्रसाद शर्मासंग पराजित भएका थिए ।
२०६४ सालपछि निरन्तर जिल्लाको विभिन्न नेतृत्वमा रहेर काम गरे । उनी २०७० सालदेखि केन्द्रीय समिति हुँदै पोलिट ब्यूरो सदस्य बनेका थिए । २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उनले १७ हजार ४ सय १५ मत प्राप्त गरी गण्डकी प्रदेश सदस्य बने । उनका निकटतम प्रतिद्वन्द्वी मञ्जेश बम मल्लले ११ हजार ५ सय ४६ मत प्राप्त गरेका थिए । एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धले बागलुङका सबै निर्वाचन क्षेत्रमा चुनाव जितेको थियो ।
एमाले माओवादीको गण्डकी प्रदेशमा सरकार बन्दै गर्दा पनि उनलाई मन्त्रीको रुपमा चर्चा गरिए पनि उनी पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा अटाएका थिएनन् । तीन वर्षकै दौडानमा सरकार ढलेर नयाँ सरकार बनेपछि उनी मन्त्री बन्ने मौका पाएका छन् ।
पार्टीमा इमान्दार र कर्तव्यनिष्ट नेताको रुपमा पहिचान बनाएका बुढाले मन्त्री बनेपछि आफ्नो पहिचान कायमै राखेर जनअपेक्षा पूरा गर्नुपर्ने चूनौती रहेको छ ।