बागलुङमा प्रभावकारी बन्दै ग्रामीण स्वास्थ्य सुधार परियोजना 

बागलुङमा प्रभावकारी बन्दै ग्रामीण स्वास्थ्य सुधार परियोजना 

  • श्रावण १०, २०७८ आइतवार
  • १३:००:३७ बजे
  • 4.3K
    SHARES
  • बागलुङमा प्रभावकारी बन्दै ग्रामीण स्वास्थ्य सुधार परियोजना 

    बागलुङ : ग्रामिण स्वास्थ्य सुधार परियोजनाले दुर्गम क्षेत्रका स्वास्थ्य संंस्थाको सेवालाई स्तरीय बनाउन सुरु गरिएको परियोजनालाई जिल्लाभर विस्तार गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

    सरोकारवालाबीचको छलफलका क्रममा विगत तीन वर्षदेखि बागलुङको पश्चिम क्षेत्रमा सञ्चालित परियोजनालाई अन्य पालिकाहरुमा पनि सञ्चालन गर्न सुझाव आएको हो । ठूला अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको स्वास्थ्य संस्थामा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर स्वास्थ्य चौकीको सेवालाई गुणस्तरीय बनाउन यो परियोजना सुरु भएको थियो ।

     परियोजनाले स्वास्थ्य सामग्री वितरण, प्रसुती प्रतीक्षा घर निर्माण, अपाङ्गता भएकाहरुको लागि शिविर तथा आवश्यक सहयोगी सामग्री तथा उपचार खर्च व्यवस्थापन, प्रसुती गृह सुधारको क्षेत्रमा काम गर्दै आएको छ ।

    परियोजनामार्फत ११ वटा प्रसुती गृह निर्माण गरिएको छ । प्रत्येक प्रसुती गृहलाई दुई लाखको दरले सहयोग गरेको थियो । जसमध्ये  ६ वटा नयाँ र पाँच वटालाई मर्मत गरिएको थियो । बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र हुग्दिशिर स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन प्रदान गरेको परियोजना विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए ।

     परियोजनाको स्थानीय व्यवस्थापन विवाईसीले गर्दै आएको छ । तीन वर्षमा बोङगादोभान, खुङखानी, बोवाङ, निसीखोला र बोहोरा गाउँ, हटिया, हुग्दिशिर र ग्वालीचौर स्वास्थ्य चौकीमा नेपाल सरकारले निर्धारण गरेको डि’ बर्गको स्वास्थ्य प्रयोगशाला निर्माणको लागि सामग्री खरिद गर्न दुई लाख ५० हजार रुपियाँको दरले आर्थिक सहयोग गरेको परियोजना अधिकृत जानकी पाठकले बताईन् ।

     नौ वटा स्वास्थ्य एक लाख ३० हजारको दरले भर्खर जन्मेको बच्चालाई न्यानो पार्ने ‘वेवी वार्मर मेशिन’, किरी, देवीस्थान, भण्डार वन, किटेनी, टुनीबोट, सिमाकमा गाउँघर क्लिनिको भवन निर्माण गरेको छ । स्थानीय तहको दुई लाख र परियोजनाको तर्फबाट दुई लाख गरी चार लाखमा दुई कोठे भवन निर्माण भएको पाठकको भनाई छ ।

    निसीको बोहोरा गाउँमा परियोजनाकोतर्फबाट तीन र स्थानीय तहको दुई लाख गरी पाँच लाख लगानीमा प्रसुती प्रतीक्षा घर निर्माण गरिएको छ । 

    बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार लाख र बडिगाडको खर्वाङ स्वास्थ्य चौकीमा ६० हजार रुपियाँ लगानी गरेर प्रतिक्षा घरको व्यवस्थापन गरेको प्रवन्धक गणेश बरुवालको भनाई छ । तीन बर्षको अवधिमा ३० हजारको दरले १८ वटा स्वास्थ्य संस्थामा संक्रमण रोकथामको लागि अटोकेलेप मेसिनसहितका सामग्री प्रदान गरिएको थियो ।

    ‘बेडको अभावमा गुद्रीमा सुत्केरी गराउन बाध्य थियौँ,’ खुंगा सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्य सहायक हिरा गैरेले भनिन्–‘संस्थाले बेड, वेवी वर्मर मेशिस जस्ता सामन दिए पछि धेरै सहज भएको छ ।’ 

    ग्रामिण स्वास्थ्य सुधार परियोजना सबै स्थानीय तहमा विस्तार गर्ने निर्णय भएको छ । जिल्ला स्थित सरोकारावालाको बैठकले ग्रामिण स्वास्थ्य सुधारको क्षेत्रमा परियोजनाले गरेको काम उपभोक्ता मैत्री र आवश्यकतामुखी भएको हुँदा बाँकी रहेका चार स्थानीय तहमा पनि विस्तार गर्न माग गर्ने निर्णय भएको हो ।

    हाल ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, र निसीखोला गाउँपालिकामा परियोजनाले काम गर्दै आएको छ ।

     बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकामा कार्यक्रम विस्तार गर्न सरोकारवाला निकायले सुझाव दिएको ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना प्रबन्धक गणेश बरुवालले जानकारी दिए । स्थानीय तहको माग बमोजिम कार्यक्रमको प्रस्ताव दातृ संस्था फेयरमेड फाउन्डेसनलाई सिफारिस गर्ने उनको भनाई छ । 
    प्रस्ताव पास भएमा आउने सेप्टेम्बर महिनादेखि थप चार स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ ।

    दुरदराजका स्वास्थ्य चौकीलाई आधुनिक सामग्रीसहित स्तरवृद्धिमा परियोजनाले महत्वूर्ण कार्यक्रम गरेको हुँदा बाँकी स्थानीय तहमा पनि कार्यक्रम विस्तार गर्न सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । 

    सम्बन्धित समाचार