विकासको विनास

बागलुङको कम्पुटोल पहिरोको जोखिममा

बागलुङको कम्पुटोल पहिरोको जोखिममा

  • श्रावण १४, २०७८ बिहिवार
  • २०:०६:३१ बजे
  • 7.1K
    SHARES
  • बागलुङको कम्पुटोल पहिरोको जोखिममा

    बागलुङ : बागलुङ नगरपालिका–३ कम्पुटोलमा बागलुङ नगर खानेपानी आयोजनाले निमाण गर्न लागेको लिफ्टिङ खानेपानी आयोजनाका कारण जमिन कटान गरेको कारण कम्पुटोलका बस्ती नै जोखिममा परेको छ ।

    मनसुन सक्रिय भए यता दिनहुँ अविरल पानी पर्दा देउराली चोकबाट गौडाकोट जाने तल्लो बाटोमा पहिरो जाँदा समग्र कम्पु टोल नै पहिरोको जोखिममा परेको हो । बस्ती मुनिबाट निरन्तर पहिरो गैरहेको र जुनसुकै बेलामा ठूलो पहिरो गई बस्ती नै लैजाने खतरा बढेको स्थानीयले बताएका छन् । स्थानीय पुष्पा केसी भन्छिन,‘हामी यहाँ बसेको १५–१६ बर्ष भैसकेको छ, अहिले सम्म केहि पनि भएको थिएन ।

     तर, अहिले बागलुङ नगरपलिकाको खानेपानी ट्याङकी बनाउने क्रममा गएको पहिरो हो यो । जमिनलाई पहिरोले तानी सकेको छ जसले गर्दा कम्पुटोलको बस्ती पहिरोको जोखिममा परेको छ ।’

    उनले हामीले बारम्बार बागलुङ नगरपालिका र वडा कार्यालयमा गएर ध्यानाकार्षण गराउँदा पनि समस्या समाधान नभएको बताईन् । ‘हिउँद नलागे सम्म काम गर्न समस्या हुन्छ भनेर भन्नु भएको छ । हिउँदसम्म पहिरोले नलगे हुन्थ्यो । सरकारी काम गर्दै नै गएको हो । त्यही भएर सरकारले नै हेरिदिनु पर्छ,’ उनले भनिन् । 

    सरकारी काम गर्दा जोखिम भएको हुनाले सरकारी तवरबाटै समस्याको समाधान हुनु पर्ने स्थानीयको माग रहेको छ । खानेपानी योजनाकै कारण कम्पुटोल जोखिममा परेको हुनाले जति सक्दो चाडो समस्याको समाधान गर्न जानु पर्ने स्थानीयको माग रहेको छ ।

    स्थानिय महेन्द्र श्रेष्ठ भन्छन् ‘ बिभिन्न कारण कम्पुटोल बस्ती नै जोखिममा परेको छ । यतासिघ्र यस क्षेत्रको समस्याको समाधान गर्न नलागे कम्पुटोल क्षेत्र नै पहिरोको चपेटामा पर्न सक्छ । सरोकारवाला निकायले पहिरो व्यवस्थापनका लागी जति सक्दो चाडो सहजिकरण गर्नु पर्दछ ।’

    खानेपानीको योजनाले बस्ती जोखिममा प¥यो भन्दा आफुले बागलुङ नगर खानेपानीका कर्मचारीले गाली गरेको स्थानीय कोपिला पुनले बताईन । खानेपानीको योजना निर्माण गर्दा स्थानीयसंग सहजीकरण नगरेको पनि उनले गुनासो पोखिन । भनिन् ‘खानेपानीको योजना बनाउने बेलामा स्थानीयसंग कसैले एक आखर कसैले सोधेनन्, कसको अनुमतिमा खने, कस्को अनुमतिका कारण कम्पुटोल पहिरोको जोखिममा प¥यो । त्यो कुरा त हेरेर पनि सहजै भन्न सकिन्छ  ।’

    बस्ती मुनिबाट पहिरो र बस्ती माथिबाट ठूला सवारी साधानको लोडका कारण जमिन दिन प्रतिदिन गल्न थालेपछि घरहरु जुन कुनै बेला बग्ने खतरा बढेको छ । पहिरोको चपेटामा परेको बस्तीका स्थानीयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको वडा कार्यलयले जनाएको छ । गत वर्ष पनि पहिरो  जान थालेपछि सामान्य ग्याविन जाली लगाएको भए पनि अहिले पुनः भत्किएको कारण बस्ती जोखिममा परेको छ । लिफ्टिङ खानेपानी आयोजनाको काम समयमा नगरेको कारण पहिरोले स्थानियहरु विस्तापित हुने अवस्थामा पुगेका हुन । 

     बागलुङ नगरपालिका –३ की वडा अध्यक्ष लक्ष्मी बास्कोटा भन्छिन्,‘ एक त कम्पुटोलका भु– बनोट कमजोर छ, त्यस्तै गरी निर्माणको क्रममा रहेको खानेपानी योजना कारण पनि कम्पुटोल पहिरोको जोखिममा परेको छ । प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले उक्त स्थानको अवलोकन गरिसकेको छ । कम्पुटोलको संरक्षणका लागि बेसबाटै पर्खाल निर्माण गर्ने योजना बनाईरहेका छौँ । कम्पुटोलको बस्ती संरक्षणका लागि सबै सरोकारवाला निकायसंग समन्वयन गर्ने काम भैरहेको छ ।’

    जिल्लाको अन्य ग्रामिण क्षेत्रहरु तित्याङ, सिगाना, रेश लगायत गल्कोट नगरपालिका, बडिगाड गाउँपालिका लगायत जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रबाट आउने पिक अप तथा साना सवारीले वैकल्पिक मार्ग भएर उक्त टोलको बाटो भएर हिँड्ने गरेका छन् । 

     

    सम्बन्धित समाचार