बागलुङ : बागलुङमा करिब ९८ प्रतिशत रोपाई सकिई सकिएको छ । समयमै पानी परेको कारणले यस वर्ष छिटो रोपाई सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले जानाकारी दिए ।
यसवर्ष समयमै पानी परेकोले पहिले भन्दा छिटो रोपाई सकिएको उनले बताए । पहिलेका वर्षहरुमा मनसुन ढिला सक्रिय भएकाले ढिला रोपाई हुने गर्दथ्यो । जिल्लाको जैमिनी नगरपालिकाको केहि भेगमा रोपाई गर्न बाँकी छ । अन्य पालिकाहरुमा पूर्ण रुपमा रोपाइँ सकिएको छ ।
जैमिनी नगरपालिकाको केहि स्थानमा ढिला मकै लगाएको कारणले गर्दा मकै ढिला फलेको हुनाले रोपाई गर्न ढिला भएको भट्टराईले जानकारी दिए । बागलुङमा हाल कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ ।
हाल जिल्लाको करिब ७ हजार ७ सय बिस हेक्टर जमिनमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जानाकारी दिएको छ । कोरोनाको कहरका कारण धेरै व्यक्तिहरु गाउँमा फर्केको र समयमै पानी परेकोले गर्दा यस बर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको केन्द्रले जनाएको छ ।
बागलुङमा अहिले स्थानीय जातका धानलाई विषेश प्राथमिकतामा राखेर लगाउने गरेको पाईन्छ । जिल्लामा अहिले गुडुरा, पोखरेली, जेठोबुढो लगायतका स्थानिय जातका धान लगाईने गरेको छ ।
तर, पछिल्लो समयमा उन्नत जातका खुमल चार, खुमल दश, राधा सात, जरन, माछापुच्छ«े लगायतका धानहरुमा कृषकहरुको ध्यान गएको छ ।