बागलुङ : बागलुङका नेवार समुदायले शुक्रवार घण्टाकर्ण पर्व मनाएका छन । नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो ।
यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण त्यति भिड र उल्लास छैन । विभिन्न शक्तिपीठमा पूजाआजा गरी घण्टाकर्ण मनाउने परम्परा रहेपनि यस पटक कोरोनाको कारण प्रभाववित भएको छ ।
नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन छ ।
नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाईजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत दिइन्छ । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धान्नकै लागी भएपनि पर्व मनाएको जनाइएको छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको नेवा संस्कृतिकर्मी युक्तजंग राजभण्डारीले बताए ।
पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसैत परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ ।
घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर नारायण चोकमा उभ्याइएको थियो । मकैको डाँठ, पराल आदि प्रयोग गरेर राक्षसको आकृति झल्कने तीनखुट्टे बुख्याँचा बनाउने गरिएको छ । नेवार समुदायका घरघरबाट कपडाका पुतली बनाएर घण्टाकर्णलाई लगाइदिने गरिन्छ । उनले भने, ‘ग्रहदशा कटोस्, लुतो हराओस् भनेर चामल, नुन, मास, बेसार, सिक्का पैसा पनि चढाउने चलन छ ।’
दिनभर नारायणचोकमा राखेपछि साँझपख नेवारी बाजागाजासहित बजार घुमाउँदै हनुमान पौवा नजिक लगेर घण्टाकर्णलाई जलाइएको थियो ।
नरभक्षी राक्षस घण्टाकर्ण मारिएको दिनको सम्झनामा परापूर्व कालदेखि नै उक्त पर्वको थिति बसेको हो । बर्सेनि साउन कृष्ण चर्तुदशीका दिन घण्टाकर्ण पर्व मनाइन्छ । नेवारी संस्कृतिमा घण्टाकर्ण पर्वपछि लाखे नाच शुरु हुन्छ । लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्णलाई मारेपछि पति वियोगमा विह्वल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ ।
झण्डै २ सय ३५ वर्षअघि भक्तपुर, बनेपा लगायतका ठाउँबाट बागलुङ बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएको नेपाल भाषा मंकाःखलः बागलुङका पूर्व अध्यष काजी गाउँले श्रेष्ठले बताए ।
पुस्तान्तरणको अभावमा नागनागिनी सहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।