निशेधाज्ञामा बागलुङको बैंकले नै सेवाग्राही बोलाएपछि...

निशेधाज्ञामा बागलुङको बैंकले नै सेवाग्राही बोलाएपछि...

  • भाद्र १, २०७८ मंगलवार
  • १८:५५:२७ बजे
  • 7.1K
    SHARES
  • निशेधाज्ञामा बागलुङको बैंकले नै सेवाग्राही बोलाएपछि...

    राजन रेग्मी

    बागलुङ

    घटना १ :
    अघिल्लो बिहिबारबाट जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको निषेधाज्ञा जारी छ । सोही क्रममा गत बिहिबार जिल्ला प्रहरी कार्यालय बागलुङले निषेधाज्ञा उल्लङ्घन गरेर हिँड्ने केही व्यक्तिलाई बागलुङ नगरपालिका –२ लोकतान्त्रिक चोकमा होल्डिङ गराईराखेको थियो ।

    होल्डिङमा करिब ३०–३५ व्यक्तिहरु थिए । सोही क्रममा एक व्यक्ति प्रहरीलाई जवाफ दिदै भने,‘सर मलाई बैँकबाट फोन आएर, बैँकले बोलाएर बैँकमा गएर आएको हँु, कामका लागि बैँकबाट फोन आयो सो कारण म बैंकमा काम सकेर आएको हुँ ।’ प्रहरीलाई सो कुरा विश्वास लागेन उनले बैँकलाई पनि प्रहरीकै अगाडि सम्पर्क गरे ।

    प्रहरीले पनि आफै बैँकका कर्मचारीलाई सम्पर्क गरी सम्झाएको थियो । 

    घटनाः २

    बेनी नगरपालिका–१ का मोहन महतले जिल्लामा शाखा कार्यालय रहेको मुक्तिनाथ बिकास बैँक अन्र्तगतको लघुबित्तबाट ऋण लिएका थिए ।

    उनको प्रायः रकम असार मसान्तमै लघुवित्तलाई रकम तिरिसकेको थिए । बैँकमा करिब १५ हजार मात्र तिर्नको लागि बाँकी रहेको थियो । उनले श्रावण ३ गते बैँकका कर्मचारीलाई श्रावण मसान्तमा सबै रकम दिन्छु भनेर बाचा गरेका थिए । श्रावण ३२ गतेको दिन उनलाई बैंकबाट पैसा तिर्नका लागि बैँकमा आउनका लागि फोन आएको उनी बताउँछन् । 

    कोरोनाको समयमा बैँकबाट फोन आएको र जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको निषेधाज्ञामा बेनी नगरपालिकाबाट आफु बागलुङ आउन नसक्ने जानकारी दिएको भए पनि आउनका लागि बैँकले दबाब दिएकाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आफुले मौखिम रुपमा जानकारी दिएको महतले बताए ।

     उनले भने,‘मलाई बारम्बार बैँकबाट फोन आएको थियो, म निषेधाज्ञाका कारण बैँकमा जानै सक्दिन, बैँकको कर्मचारी आउनुहुन्छ भने म रकम दिन्छु भनेर भनेको थिए । कोरोनाको समय त्यहीमाथी बागलुङमा निषेधाज्ञा छ, प्रहरीले जतासुकै कडिकडाउ गरेको छ । यस्तो अवस्थामा बैँकमा जान असम्भव नै छ ।’  तर बैँकले भने, बेनी नगरपालिका खुल्ला भएका कारण बेनीबाट रकम जम्मा गर्न सुझाव दिएको जनाएको छ ।

    अहिलेको समयमा रकम जहाँबाट पनि जम्मा गर्न सकिने बैँकका प्रमुख बताउँछन् । 

    यी दुई घटनाबाट बैँकहरुले आन्तरिककामका नाममा सेवाग्राहीहरु बोलाएर काम गर्ने गरेको प्रष्ट हुन्छ । जिल्ला प्रशासन कार्यालय बागलुङले जारीको गरेको निषेधाज्ञा सूचनाको ख.३ मा बैँक तथा वित्तीय संस्था नखोल्नका लागि आदेश दिएको छ ।

    तर, अत्यावश्यक खण्डमा भने प्रशासनसंग समन्वय गर्न सकिने जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा जनाईएको छ।  तर, यहाँको बैँकहरुले प्रशासनको निर्देशन अटेरी गरेको छन् । जिल्ला प्रशासन कार्यालय बागलुङबाट जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गरी उनीहरुले विभिन्न बहानामा ग्राहकहरु कार्यालयमै बोलाएर काम गर्ने गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमका अनुसार बैंकहरुको छाता संगठनलाई यस विषयमा जानकारी गराईएको बताएका छन् । आन्तरिककामका मात्र बैंक खोल्न पाईनेछ ।

    उनले भने,‘यही विषयमा विभिन्न सूचनाहरु आईसकेपछि बैंकर्स बागलुङलाई सम्पर्क गरी यस विषयमा ध्यानाकर्षण गरिएको छ ।’ नियम विपरित बैँक सञ्चालन गरे कारबाही हुने उनले बताए । 

    यता, बैकर्स बागलुङका अध्यक्ष दीपक शर्माले भने कुनै पनि बैँकले प्रशासनकोे आदेशको अवज्ञा नगरेको बताएका छन् । बैँकले आन्तरिककाम मात्र गरेको उनले बताए । उनले भने,‘जिल्लामा सञ्चालनमा रहेका बैैंकले निशेधाज्ञाको अवज्ञा गरेका छैनन् । तर, बैँकले आन्तरिककार्यहरु भने गरिरहेको छन् । आन्तरिकरुपमा त प्राय बैँकहरु सञ्चालनमा रहेको छन् । तर, क्यास कारोबार भने भएको छैन ।’

    बैँकको नाम लिएर ओहोर–दोहोर गर्ने व्यक्तिहरुलाई पनि बिना काम हिँडडुल गर्ने व्यक्ति सरह काराबाही गर्न बैकर्स बागलुङले आग्रह गरेको शर्माले जानकारी दिए । 

     

    सम्बन्धित समाचार