बागलुङ : नेपाल महिला संघ बागलुङले स्वर्गीय मगलादेवी सिंहको स्मृतिमा बागलुङमा दीप प्रज्वलन गरेको छ ।
स्वर्गीय सिंहको २५ औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ बागलुङले बिहीबार पार्टी कार्यालयमा दीप प्रज्वलन गरी सिंहको सम्झना गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङकी नेतृ पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले मंगलादेवी सिंहले देखाएको बाटोमा नेपाल महिलासंगलाई अगाडि बढाउन सके मात्रै सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताईन् ।
‘नेपाल महिला संघको स्थापना गर्दै गर्दा मंगलादेवी सिंहले देखेको सपनालाई हामीले साकार गर्न सक्यौं भने उहाँप्रति सच्चा
श्रद्धाञ्जली हुन्छ,’ उनले भनिन्,‘महिलाहरुबाट बाहिर निस्कन नसक्ने अवस्थामा एउटा राजनीतिक संगठन निर्माण गरेर महिलाहरुलाई एकत्रित र संगठित गर्ने काम उहाँले गर्नुभएको थियो । उहाँको योगदानलाई टेकेर अहिलेको उपलब्धी हाँसिल भएको हो ।’ नेपाल महिला संघ केन्द्रीय सदस्य पार्वती आचार्यले अब महिलाहरु ३३ प्रतिशत होईन ५० प्रतिशतको हिस्सेदारी लिने अवस्थामा पुगेको भन्दै त्यसका लागि राजनीतिक दलहरुले ध्यान पु-याउनुपर्ने बताईन् ।
‘अहिले महिलाहरु पनि सक्षम भएका छन् तर हाम्रो राजनीति नेतृत्वहरुले मुख्य ठाउँमा महिलालाई पु¥याउन ध्यान दिएको
देखिन्न,’ उनी भन्छिन्,‘अब महिलाहरु ३३ प्रतिशत आरक्षित सिटमा खुम्चिएर बस्ने होईन ५० प्रतिशतको हिस्सेदारी लिन अगाडि बढ्नुपर्छ ।’ कार्यक्रममा सहभागी नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेसनमा वडा तहदेखि नै महिलाहरुको सशक्त र अर्थपूर्ण सहभागिताका लागि जोड दिएका छन् ।
नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव भगवती केसी र सञ्चालन अर्का सचिव उषा पौडेलले गरेकी थिईन् ।
कोरोना महामारीका कारण सिमित व्यक्तिहरु नेपाली काँग्रेस बागलुङको पार्टी कार्यालयमा जम्मा भएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दीप प्रज्वलन गरिएको अध्यक्ष शर्माले बताईन् ।
‘विगतमा खुला ठाउँमा कार्यक्रममा गरिन्थ्यो, कोरोनाले गर्दा यस पटक त्यस्तो कार्यक्रम गर्न सकिएन,’ उनले भनिन् ।
