बागलुङ : परिवारका सदस्य बेपत्ता पारिएको बागलुङका दुई व्यक्तिले खोजी गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।
जिल्लाको निसीखाला गाउँपालिका—४ का खुमलाल शर्मा र जैमिनी नगरपालिका—१० राङ्खानीका विमल केसीले आफ्नो परिवारबाट बेपत्ता पारिएका सदस्यको खोजी गरिदिन र बेपत्ता पार्ने कार्यमा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।खुमलाल शर्माले १६ वर्ष अगाडि तत्कालीन विद्रोही माओवादी पक्षबाट बेपत्ता पारिएकी आफ्नी श्रीमती शुशिला शर्मा र केसीले २०
वर्ष अगाडि राज्य पक्षबाट बेपत्ता पारिएका आफ्ना छोरा गणेश केसीको खोजी गरिदिन र उनीहरुलाई बेपत्ता बनाउने कार्यमा संलग्न रहेकाहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका हुन् ।
२०६२ सालको मंसिर १६ गते माओवादीले आफ्नो श्रीमतीलाई घरबाटै लगेर बेपत्ता पारेको शर्माले बताएका छन् । ‘म त मुस्ताङमा ज्याला मजदुरी गर्थें, म नभएको बेला मेरै घरमा माओवादीले पार्टी कार्यालय राखेको रहेछ,’शर्माले भने,‘२०६२ साल मंसिर १६ गते मेरो श्रीमतीलाई माओवादीले लगेर बेपत्ता पारेपछि म घर फर्केको हुँ । अहिलेसम्म उनको अवस्थाको बारेमा जानकारी पाउन सकेको छैन ।’
घरमै पार्टी कार्यालय राखेपछि आफ्नो श्रीमतीसंग माओवादी नेताकै अनैतिक सम्बन्ध भएर गर्भवती भएपछि बेपत्ता पारिएको उनको गुनासो छ ।
‘म त बाहिर थिएँ यहाँका अरुले भने अनुसार मेरो श्रीमतीसंग अनैतिक सम्बन्ध राखेर गर्भवती समेत बनाएपछि बेपत्ता पारिएको भन्ने सुनिन्छ,’ शर्माले भने । आफ्नो श्रीमती बेपत्ता पारिएपछि उनको खोजीमा भौतारिक शर्माले अहिलेसम्म पनि श्रीमतीको बारेमा कुनै जानकारी पाउन सकेका छैनन् ।
श्रीमती बेपत्ता हुँदा सानै रहेका छोराछोरीको बिहे भैसक्यो । कान्छो छोरा समेत २१ वर्षका भैसके ।
‘अहिले त छोराछोरी बुझ्ने भैसके, त्यो बेला मलाई आमा खाई भनेर छोराछोरीले सोध्दा दिने जवाफ थिएन,’ उनी भन्छन्,‘खोज्दै धाएको छु अहिलेसम्म केही पत्तो पाउन सकेको छैन ।’ त्यतिबेला आफ्नो श्रमती बेपत्ता पार्ने कार्यमा संलग्न रहेको भन्दै शर्माले आइतबार नेकपा माओवादीका तत्कालीन जिल्ला इन्चार्ज बागलुङ नगरपालिका वडा नम्बर ११ का टेकबहादुर केसी, तत्कालीन गाउँ सभा इन्चार्ज साविक बोहरागाउँ गाविस वडा नम्बर ९ गोपाल विक ‘अर्जुन’, इरिया इन्चार्ज मिना र सह–इन्जार्च भिषण गरी चार जना विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
विगतमा आफ्नो श्रीमतीको बारेमा सोधी खोजी गर्दा माओवादीका स्थानीय नेताहरुले बढी बोले ज्यान जाने भन्दै धम्काउने गरेको उनले बताए ।
‘त्यो बेला त सबैतिर खोजी गर्ने अवस्था पनि थिएन, मैले सोध्दा त्यहीका माओवादी नेताहरुले बढी बोलेमा ज्यान जाला भनेर धम्काउने गर्थें, शान्ति प्रक्रिया सुरु भएपछि खोज्दै आएको छु, केही अत्तोपत्तो छैन,’ उनले भने । श्रीमती बेपत्ता भएर बेखबर त छँदैछन् त्यसैमाथि बेपत्ताहरुको सूचीमा समेत उनको श्रीमतीको नाम छैन । सशस्त्र द्वन्द्वकालमा बागलुङबाट २४ जना बेपत्ता पारिएकोमा एक जना पछि सम्पर्कमा आएकी थिइन् । २३ जना अझै बेपत्ता छन् ।
सरकारी लिष्ट भने २२ जनाको मात्रै नाम छ । सुशीलाको नाम बेपत्ताको सूचीमा समेत छैन ।
उनको नाम बेपत्ताको सूचीमा नभएपछि उनले राहतको नाममा एक पैसा पनि पाएका छैनन् । ‘सुरुको दिनमा गाह्रो थियो, सम्पर्क पनि थिएन, जिल्लामा आउन सकिएन,’ उनले भने,‘अरुले त बेपत्ता भएका परिवारको सदस्यको नाममा १० लाख रुपैयाँ पाउनुभएको रहेछ । मलाई त सरकारले एक रुपैयाँ पनि दिएको छैन । संघ संस्थाहरुले सामान्य सहयोग गरेका थिए ।’
जैमिनी नगरपालिका—१० राङ्खानीका विमल केसीको छोरा गणेश केसी जम्मा १२ वर्षका थिए । द्वन्दैका समयमा २०५८ साल वैशाखमा घरबाट माओवादीले लिएर गएका उनलाई बलेवामा आइपुग्दा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो ।
‘सेना देखेपछि माओवादी सबै भागेछन्, सानो १२ वर्षको मान्छे भाग्ने कुरा भएन सेनाले समात्यो, त्यसपछि बेपत्ता पारिएको छोराको केही खबर छैन,’ केसीले भने । आइतबार उनले पनि छोराको खोजी गरिदिन र बेपत्ता पार्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनले तत्कालीन कालीदल गुल्मका सेनानी चन्द्रबहादुर पुन लगायत उनको कमाण्डमा खटिएका सेना विरुद्ध जाहेरी दिएका हुन् ।
उनले आफ्नो छोराको तत्काल खोजी गरी अवस्था सार्वजनिक गरिदिन र बेपत्ता पार्नेलाई कारबाही गर्न माग गरेका छन् ।
विगतदेखि नै द्वन्द्वकालीन मुद्दा हेर्दै आएका अधिवक्ता राम शर्माले शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न तत्कालन विद्रोही पक्ष र राज्य पक्ष तयार नहुनु दुःखद भएको बताए । ‘देशमा शान्ति अमन चयन कायम गर्ने भनेर विस्तृत शान्ति सम्झौता भयो तर द्वन्द्वका पीडितहरुले अहिले पनि न्याय पाएका छैनन्, बेपत्ताहरुको अवस्था अहिलेसम्म पनि थाहा हुन सकेको छैन,’ अधिवक्ता शर्माले भने,‘युद्धको बेला बालबालिकाको प्रयोग हुनु र बेपत्ता पारिनु गम्भीर युद्ध अपराध हो ।’
सुशिला शर्मा बेपत्ता प्रकरणमा तत्कालिन माओवादीका जिल्ला सेक्रेटरी टेकबहादुर केसीलाई पार्टी सांस्कृतिक अपचलनको आरोपमा कारबाही समेत गरेको बुझिएको समेत शर्माले बताए ।
आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र माथिल्लो निकायमा जानकारी गराएर दर्ता गर्ने जानकारी पाएको उनको भनाइ छ ।
‘माथिल्लो निकायमा जानकारी गराएर मात्रै मुद्दा दर्ता गर्ने जानकारी गराइएको छ,’ अधिवक्ता शर्माले भने,‘यदि यहाँ मुद्दा दर्ता नभए हामी माथिल्लो निकायमा जान्छौं ।’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले यस विषयमा हेर्नका लागि छुट्टै आयोग समेत बनेका कारण यस बारेमा माथिल्ला निकायहरुमा जानकारी गराउने बताए ।
‘यो विषयमा छुट्टै आयोग बनेको छ हामीले मुद्दा दर्ता गर्ने कारबाही गर्ने अधिकार छैन,’ उनले भने,‘हामीले हाम्रो माथिल्ला निकायहरुमा यसबारेमा जानकारी गराउँछौं ।’