बागलुङमा मठमन्दिर खुले, पार्टी प्यालेसमा पनि सञ्चालन

बागलुङमा मठमन्दिर खुले, पार्टी प्यालेसमा पनि सञ्चालन

  • भाद्र २७, २०७८ आइतवार
  • १८:४५:२८ बजे
  • 5.0K
    SHARES
  • बागलुङमा मठमन्दिर खुले, पार्टी प्यालेसमा पनि सञ्चालन

    बागलुङ: बागलुङमा अब मठमन्दिर र पार्टी प्यालेस सञ्चालन हुने भएका छन् ।

    कोरोना महामारी नियन्त्रणका लागि भन्दै प्रशासनले लगाएको निशेधाज्ञा थप खुकुलो पार्दै मठ मन्दिर खुला गर्ने र पार्टी प्यालेसहरु पनि निश्चीत मापदण्ड लागु गरेर सञ्चालन गर्न दिने भएको हो । आईतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसीएमसी बागलुङको बैठले निशेधाज्ञालाई थप खुकुलो पारेको हो ।

    कोरोनाको संक्रमणदर विस्तारै कम हुँदै गएकोले स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गर्दै सबै क्षेत्रलाई चलायमान गराउँदै लैजाने तयारी अनुसार पार्टी प्यालेस र मन्दिरहरु पनि खुला गर्न दिने निर्णय गरिएको बताईएको छ ।

     कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारीस अनुसार जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आदेश जारी गर्दै सिनेमाहल, पार्टी प्यालेस, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, व्युटी पार्लर, ट्रेनिङ सेन्टर लगायत सेवा एवं स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरेर मात्रै सञ्चालन गर्न पाउने बताईएको छ ।

    यी सेवाहरु सञ्चालन गर्नुपूर्व सेवाग्राही प्रवेश गर्नुअघि थर्मल स्क्यानरबाट तापक्रम नाप्ने, पर्याप्त भेन्टीलेसनको व्यवस्था गर्ने, प्रत्येक सिफ्टको कार्यक्रम सम्पन्न भएपछि कार्यस्थललाई अनिवर्या रुपमा निस्संक्रमण गर्ने, मास्क र सेनीटाईजरको प्रयोगलाई अनिवार्य गर्ने, सिनेमाघरको टिकेट बुकिङलाई अनिवार्य रुपमा लागु गनुपर्नेछ ।

     सबै प्रकारका व्यवसाय तथा पसलहरु बेलुका ७ बजेसम्म मात्रै जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरी सञ्चालन गर्नुपर्नेछ ।

    मठमन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक स्थलहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्था गरी दर्शन, नित्य पूजा, ध्यान र प्रार्थना लगायतका कार्यहरु स्वास्थ्य मापदण्डलाईलाई कडाईका साथ लागु गरेर सञ्चालन गर्नुपर्नेछ । धार्मिक स्थलको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्ने, दर्शनार्थी प्रवेश गर्नुपूर्व थर्मल स्क्यानरबाट तापक्रम नाप्ने, मास्कको प्रयोगलाई अनिवार्य गर्ने, पूजाका लागि लाईनमा बस्दा भौतिक दुरी कायम गर्नेगरी व्यवस्थापन गर्नुपर्नेछ । 

    विद्यालयहरु तत्कालका लागि भौतिक उपस्थीतिमा पठन पाठन नगर्ने, गर्नैपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लक ठाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिसग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्नेछन् ।

    परिवारमा कोभिड—१९ संक्रमण पुष्टी भएका व्यवसायीहरुले संक्रमित आईसोलेसनमा रहुन्जेल आफ्नो व्यवसाय सञ्चालन नगर्ने र सो को अनुगमन उद्योग वाणिज्य संघ र नगरपालिकाले गर्नेछ ।

    सांस्कृतिक तथा धार्मिक चाडपर्वहरु भिडभाड नगरी आफ्नै घरमा मात्रै मनाउने, वैवाहिक तथा संस्कारजन्य कार्यक्रम घरबाट मात्रै सञ्चालन गर्ने, पार्टी प्यालेस तथा होटलबाट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी २५ जना भन्दा बढि व्यक्तिहरु सहभागी हुन नपाईने । 

    वैवाहिकतथा संस्कारजन्य कार्यक्रमहरु नजिकको प्रहरी ईकाईमा जानकारी दिएर मात्रै सञ्चालन गर्नुपर्नेछ ।

    यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा स्वास्थ्य प्रोटोकलको पालना गरी सञ्चालन गर्ने, आवासी होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसलले जनस्वास्थ्य मापण्डको पालना गरी सञ्चालन गर्ने, सहकारी संस्थाले घरदैलो मार्फत बचत संकलन गर्ने कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरु, बीमा कम्पनी, मनी ट्रान्सफर समेत नियमित रुपमा सञ्चालन गर्ने,  दाहसंस्कार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी २५ जना भन्दा बढि भेला नहुने, सबै सरकारी तथा गैरसरकारी कार्यालयले स्वास्थ्य सुुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ । 

    प्रशासनले अत्यावश्यक काम नपरी बाहिर नहिँड्न समेत भनेको छ । सांस्कृति जात्रा महोत्सव सांकेतिक रुपमा मात्रै गर्नुपर्नेछ ।

    तालिम गोष्ठी सेमिनार सञ्चालन गर्दा २५ जना भन्दा बढि सहभागी नगराउने, सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । प्रशासनले तोकेका मापदण्डहरु पालना नगरी अटेर गरेमा कोडिभ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुनेछ ।

    लामो समयपछि धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुला भएपछि जिल्लामा पर्यटन चहलपहल बढ्ने अपेक्षा गरिएको छ । चहलपहलसंगै कोरोना संक्रमणेको जोखिम पनि बढ्ने भएकाले सतर्क र सुरक्षा अपनाउनु प्रशासनले आग्रह गरेको छ । 

    सम्बन्धित समाचार