बागलुङ : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भोलीका दिनमा माधव नेपाल पनि एमाले पार्टीमै ओत लाग्ने बताएका छन् ।
नेकपा एमाले बागलुङको जिल्ला कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेता पाण्डेले अहिलेको व्यवस्था र देश बचाउनका लागि एमाले बलियो हुनुपर्ने बताए । ‘नेकपा एमाले बलियो भयो भने मात्रै यो व्यवस्था र देश बच्छ, आन्दोलन बच्छ,’ उनले भने,‘आन्दोलन बच्यो, एमाले बच्यो भने माधव नेपाल पनि एमालेमै ओत लाग्ने हो ।’
एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्य समेत रहेको नेता पाण्डेले माधव नेपालले आफैले प्रस्ताव गरेको कुरामा सहमती हुँदा पनि कार्यान्वयन नगरी पार्टी फुटाएर ठिक नगरेको उल्लेख गरे ।
‘कार्यदलमा माधव नेपालले आफैले प्रस्ताव गरेको कुरामा सहमती भएको थियो, तर उहाँले त्यसलार्य कार्यान्वयन नगरेर ठिक गर्नुभएन,’ नेता पाण्डेले भने ।
एमाले एकढिक्का हुने र परिवर्तनको आधारशीला तय गर्ने पाण्डेको दाबी छ ।
‘चुनावी गुटबन्दीले गर्दा अहिले हामीलाई आफ्नै साथीलाई दुस्मन देख्ने बनाएको छ,’ उनी भन्छन्,‘हामीले पार्टीलाई नयाँ शिराबाट व्यवस्थीत गरेर लैजानुपर्ने हुन्छ । अबको एजेण्डा समृद्धिको एजेन्डा हुनुपर्छ ।’ एमालेलाई युग सुहाउँदो पार्टी बनाउनका लागि त्यही खालको नेता कार्यकर्ता उत्पादन गर्न सबैले मेहनत गर्नुपर्ने उनको तर्क थियो । ‘अहिलेको युग विज्ञानको युग हो, पार्टीमा योग्य नेता कार्यकर्ता तयार हुने र जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दा पहिलो दिनबाटै समृद्धिको लागि काम गर्ने क्षमता विकास गर्नुपर्छ । त्यसका लागि पार्टीका सबैले मेहनत गरौं,’ उनले भने ।
नेकपा जोगाउनका लागि दोस्रो तहका नेताहरुले भूमिका नखेल्नु गल्ती भएको उनले स्वीकार गरे ।
‘नेकपा नै हामील जोगाउन सक्थ्यौं, दोस्रो तहका नेताहरुले ठूला नेताको पछि लागेर अलिकति हस्तक्षेप गरेको भए नेकपा नै बच्थ्यो,’ उनले भने,‘त्यहाँ गल्ती भयो तर एमाले जोगाउनका लागि हामी लागेको छौं । अब देशको नेतृत्व गर्ने एमाले नै हो ।’ यो दुई वर्षको बीचमा पार्टीमा भएको किचलोले भएको क्षतिपूर्तिका लागि मेहनतका साथ संगठन निर्माणमा लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।
कम्युनिष्ट आन्दोलन जोगाउनका लागि सबै एकढिक्का हुनुपर्ने र एमालेले त्यसको अगुवाई गर्ने उनको भनाई थियो ।