बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा रहेका ६ वटा राजनीतिक दलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले विधि विधान विपरीत मनोमानी रुपले क्रियाकलाप गरेको भन्दै यस्ता गलत क्रियाकलाप रोक्न भन्दै चतावनी दिएका छन् ।
नगर प्रमुख नेपालीले यस्ता गलत क्रियाकलाप तत्काल नसच्याय थप आन्दोलनका कार्यक्रम अगाडी ल्याउने भन्दै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी नगर प्रमुख नेपालीले लिनुपर्ने बताएका छन् । उनीहरुले ढोरपाटन नगरपालिका देशकै भ्रष्ट पालिका रहेको भन्दै नगर प्रमुखले आफूखुसी गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,
नेकपा क्रान्तीकारी र जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरपालिकाले गरेका गलत क्रियाकलालाई तथ्यगत रुपमा चाँडै जनता माझ ल्याउने जनाएका छन् । नगर प्रमुखले मनोमानी रुपले काम गरेको, जनताले तिरेको कर र नगरपालिकामा आएको बजेट सहि तवरले प्रयोग नगरेको, वडालाई २५ लाख बजेट विनीयोजन गरेर आफ्नो नाम कमाउने उद्देश्य
सहित मनोमानी तवरले क्लवको मेलालाई ठुलो परिमाणमा वजेट विनियोजन गर्ने गरेको, जनतालाई अनावश्यक प्रलोभन देखाएर पार्टी प्रवेशको नाटक गर्ने र निहित स्वार्थका निम्ती नगरको स्रोत साधनको दुरुपयोग गर्ने गरेको विज्ञप्तीमा उल्लेख छ । नगरपालिकामा निर्वाचित भइसकेपछी हालसम्म शिक्षा, स्वास्थ्य, कर्मचारी नियुक्ति, सरुवा, जग्गा व्यवस्थापन, सडक एवम भौतिक निर्माण सामग्री खरिद,
कोरोना व्यवस्थापन तथा नियन्त्रण बाढी पीडितलाई दिने राहात वितरण, जस्तापाता, पाईप, खरिद तथा वितरण लगायत विभिन्न शिर्षकहरुमा चरम अनियमितता र बेरुजु रहेको र छिट्टै तथ्यगत वास्तविकता जनतामाझ ल्याउने ६ दलले जनाएका छन् । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस ढोरपाटन नगरसभापती धन बहादुर कायतको अध्यक्षता, नेकपा माओवादी केन्द्र ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्याल,
नेकपा माओवादी केन्द्र ढोरपाटन नगर संयोजक भिम गौतम, नेकपा एकिकृत समाजवादी जिल्ला सचिवालय सदस्य हरिबहादुर घर्ती, केशर छन्त्याल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष गौरीश्वर पाण्डे, ढोरपाटन नगर उपाध्यक्ष तमबहादुर घर्ती, नेकपा क्रान्तीकारी माओवादी केन्द्रीय सदस्य निल बहादुर पुन, जसपा ढोरपाटन नगर संयोजक गंगाबहादुर घर्ती लगाएतको सहभागिा रहेको थियो । कार्यक्रम गोपाल महतले सञ्चालन गरेका थिए ।