बागलुङमा मंसिरपछि झण्डै १३ हजार मतदाता थपिए

बागलुङमा मंसिरपछि झण्डै १३ हजार मतदाता थपिए

  • माघ २८, २०७८ शुक्रवार
  • १९:०२:४४ बजे
  • 3.2K
    SHARES
  • बागलुङमा मंसिरपछि झण्डै १३ हजार मतदाता थपिए

    बागलुङ : जिल्लामा मंसिरपछि झण्डै १३ हजार मतदाता थपिएका छन् ।

     जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार गत मंसिर यता बागलुङमा १२ हजार ८ सय ९५ जना मतदाता थपिएका हुन् । मंसिर यता जिल्ला निर्वाचन कार्यालयले पालिकास्तरमा सञ्चालन गरेको मतदाता संकलन अभियानमा ५ हजार २ सय ८१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताए ।

     ‘हामीले पालिकास्तरमा सञ्चालन गरेको अभियानबाट ५ हजार दुई सय ८१ जना मतदाता थपिएका छन्,’ उनले भने,

    ‘अभियान बाहेक कार्यालयमा आएर तथा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा दर्ता हुनेहरु सहित मंसिर महिनायता १२ हजार ८ सय ९५ जना थपिएका छन् ।’ सरकारले स्थानीय निर्वाचनका लागि आगामी वैशाख ३० गते मिति तोकेपछि निर्वाचन आयोगले मतदाता संकलनको काम रोकेको छ । निर्वाचन आयोगले मतदाता संकलनको काम रोक्ने बेलामा बागलुङमा करिब दुई लाख एक हजार ६ जना मतदाता दर्ता रहेको उनले जानकारी दिए ।

     ‘यो नै अन्तिम होईन, भेरिफाई हुन बाँकी नै छ,’ उनले भने,‘दुई लाख एक हजार बढि मतदाता आगामी स्थानीय निर्वाचनका लागि कायम रहन्छन् भन्ने अनुमान हो ।’ कुल मतदातामध्ये एक लाख दुई हजार ६ सय ४३ जना महिला र ९८ हजार तीन सय ६३ जना पुरुष रहेको छन् ।

    सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंग निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम रोकेको र अब निर्वाचनका अन्य कामहरु अगाडि बढ्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनाराण शर्माले बताए ।

     ‘निर्वाचन आयोगले छलफल गरेर कार्ययोजना बनाएपछि जिल्लास्तरमा त्यही अनुसार काम अगाडि बढ्छ,’ उनले भने,‘अब नयाँ मतदाता नामावली संकलनको कार्य रोकिएको छ । निर्वाचन कार्यक्रम बनेर आउन केही समय लाग्नसक्छ ।’ २०७४ को स्थानीय निर्वाचनमा बागलुङमा ६९ प्रतिशत मतदाताले मतदान गरेका थिए । गत स्थानीय निर्वाचनमा एक लाख ५६ हजार ८ सय ६८ जना मतदाताले आफ्नो मदताधिकारको प्रयोग गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    कुल खसेको मतमध्ये ३ प्रतिशत मत बदर भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # मंसिर
  • # बागलुङ
  • # मतदाता

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार