बागलुङ : हरेक सरकारी निकायको काम कारवाही र गतिबिधि नागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ । सरकारी निकायबाट हुने गतिबिधि जान्न पाउनु नागरिकको अधिकार पनि हो । कुनै पनि सरकारी निकायले नागरिकको सूचना पाउने अधिकारको ख्याल गरि सूचना उपलब्ध गराउनु पर्छ । तर बागलुङको ढोरपाटन नगरपालिकाले नागरिकको सूचना पाउने हकमाथि हस्तक्षेप गरेको छ ।
मंगलबार सुचनाको हक अनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व्यक्तिको नामसहितको तथ्यांक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका स्थानीयलाई नगरपालिकाले सूचना नदिइ फर्काएको छ । सूचनाको लागि निवेदन पेश गर्न नगरपालिकामा पुगेका स्थानीय गोपाल महत बिना सूचना फर्किएका छन् । सुचनाको हक सम्बन्धी ऐन अनुसार सुचना अधिकारी समक्ष आर्थिक वर्ष २०७४/०७५ देखि २०७९ हालसम्म नगरपालिकाबाट दिइएको आर्थिक सहायता (विशेष राहत) कार्यक्रम अन्र्तगत
उपलब्ध गराइएको रकम र रकम पाउने व्याक्तिको नामसहितको तथ्यांक लिन नगरपालिका पुगेका महतलाई प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराइले यत्तिकै पठाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराइले महतले दिइएको निवेदनको माग सुचनाको सम्बन्धमा प्रत्यक्ष सरोकार नदेखिने भन्दै आधिकारीक निकाय बाहेक अन्यलाई नदिने गरी तोक आदेश दिएका छन् । हाललाई निवेदन अनुसारको सुचना उपलब्ध गराउन नसकिने भन्दै आधिकारीक निकायबाट पत्र आएको खण्डमा मात्र
निवर्तमान नगरप्रमुख देवकुमार नेपाली समक्ष पेश गरी आवश्यक कारवाही गर्ने तोक आदेशमा उल्लेख गर्दै फिर्ता पठाइएको हो । आफुले माग गरेको सुचना नगरपालिकाले उपलब्ध गराउन नचाहेको र निश्चत समय समेत नदिएको भन्दै महतले जनतालाई सुचनाको हकबाट वञ्चित गराइएको बताए ।