बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा

बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा

  • माघ १०, २०८१ बिहिवार
  • १०:२९:३६ बजे
  • 2.0K
    SHARES
  • बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा

    बागलुङ : बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बुधबार एक विशेष समारोहका बीच उपप्रधान तथा शहरी  विकास मन्त्री प्रकाशमान सिंहले उक्त घोषणा गरे । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले बालमैत्री घोषणाले बाल अधिकारको रक्षासंगै बालबालिकालाई कर्तव्य र दायित्व पनि सिकाउने विश्वास व्यक्त गरे ।

    ‘अहिले जहाँतहीं अधिकारको मात्रै कुरा हुन्छ, दायित्व र कर्तव्यको विषयमा कसैले वास्ता गर्दैनन्,’उनले भने,‘सानै उमेरका बालबालिकालाई उनीहरुको अधिकारसंगै दायित्व र कर्तव्यको विषयमा पनि सिकायौं भने यसले भोली देशका लागि आवश्यक पर्ने असल मानवपुँजी निर्माण गर्न सहयोग पुग्छ ।’ समयक्रमसंगै नयाँ नयाँ चूनौतीहरु देखिएकाले त्यसको सामना गर्ने नेतृत्व निर्माणका लागि बालमैत्री शासनले टेवा दिने उनको भनाई छ । 

    ‘हामीले समयसंगै आउने चूनौतीको सामना गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्नेछ, त्यसका लागि बालमैत्री शासनयुक्त देश बनाउने अभियान ल्याईएको हो,’उनले भने,‘हामीले अन्तर्राष्ट्रिय समुदायसंग गरेको प्रतिवद्धता पूरा गर्ने अभियानमा बागलुङ नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिन चाहान्छु ।’ फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले आफ्नो शहरी विकास मन्त्रालय अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १, ४ र ७ मा सञ्चालन भैरहेको विश्व बैंकसंगको सहकार्यको न्यूजिप परियोजना अन्तर्गतको सडक निर्माण नमुना गतिमा अगाडि बढेको उल्लेख गरे ।

     ‘पहिले यो कार्यक्रम सुरु गर्न केही ढिला भयो तर अहिले निकै राम्रोसंग यो कार्यक्रम अगाडि बढेको छ,’उनले भने,‘यो समयमै पूरा हुने विश्वास छ । बलेवामा गणेशमानसिंह मार्गलाई शहरी विकास मन्त्रालय मार्फत निर्माण गर्नेछौं ।’ उनले बागलुङमा हुने हरेक विकास निर्माणका कार्यहरुमा व्यक्तिगत रुपमा आफु र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

    बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिस्त गरेका सूचकहरु पूरा गरेकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । बागलुङलाई बालश्रममुक्त, बाल बिवाह निषेधित, बाल हिंसा रहित, सडक बालबालिका मुक्त नगरको साथमा बालमैत्री स्थानीय शासनयुक्त नगरको रुपमा घोषणा गरिएको छ ।
     बालबचाउ सम्बन्धी १४, बालसंरक्षण सम्बन्धी १०, बाल विकास सम्बन्धी ६, बालसहभागिता सम्बन्धी ६ र संस्थागत विकासका १५ वटा गरी कुल ५१ सूचकमा झण्डै साढे दुई वर्ष काम गरेपछि बुधबार घोषणा गरिएको हो । गण्डकी प्रदेश सरका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय गरेको अनुगमनमा घोषणा गर्न मिल्ने मापदण्ड भन्दा माथि अंक प्राप्त गरेको मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले बताए । 

    ‘सबै सूचकहरुमा गरेको कुल ९२ प्रतिशत अंक यो नगरपालिकाले प्राप्त गरेको छ, ८० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्ने स्थानीय तहलाई स्थानीय शासनयुक्त घोषणा गर्ने कानुनी व्यवस्था छ,’उनले भने,‘अब यसलाई शतप्रतिशत बनाउने र घोषणालाई दिगो बनाउने जिम्मेवारी यहाँहरुकै काँधमा छ ।’ बालमैत्री घोषणा भएपछि अब हरेक योजना र बन्ने समितिहरुमा बालबालिकाको प्रतिनिधित्व सुनिश्चित हुने बागलुङ नगर बालमैत्री कार्यक्रम संयोजक तिलक आचार्यले बताए ।

     ‘अब बन्ने हरेक योजनाका समिति र निर्णय प्रक्रियामा  बालबालिकाको सहभागिता हुनेछ,’उनले भने,‘बालबालिकासंग सरोकार राख्ने हरेक संघ संस्थामा बालबालिको प्रतिनिधित्व रहनेछ । बालबालिकाको अधिकार रक्षासंगै शासन सञ्चालनमा बालबालिकाको उपस्थीति गराउनु बालमैत्री स्थानीय शासन हो ।’ बागलुङ नगरपालिका सामाजिक विकास समिति संयोजक बानपा—११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले मानवीय पुँजी निर्माणका लागि बालमैत्री शासनयुक्त नगरपालिका बनाउन लागिपरेको उल्लेख गरे ।

     ‘भौतिक विकास मात्रै विकास होईन, मानवीय पुँजी उत्पादनमा ध्यान दिनुपर्छ भनेर हामीले कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेर अगाडि बढ्यौं,’उनले भने,‘अहिले घोषणाको चरणसम्म आईपुग्दा बालबालिकाको क्षेत्रमा धेरै काम भएका छन् र आगामी कार्यक्रमहरु बालमैत्री बनाउन लागि परेका छौं ।’ स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बागलुङ नगर कार्यपालिकाको २०७९जेठ ६ गतेको कार्यपालिका बैठकले बागलुङ नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको थियो ।

     हरेक निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउनेगरी बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विद्यालय तहबाटै काम सुरु गरेर नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको बागलुङ नगर शिक्षा शाखा प्रमुख एवं बालमैत्री फोकल पर्सन धनप्रसाद पोख्रेल बताउँछन् । ‘बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउनका लागि सबैभन्दा पहिले घर विद्यालय बालमैत्री बनाउनुपर्छ भनेर हामी लाग्यौं,’उनी भन्छन्,‘यो अभियानमा हामीले २६ वटा विद्यालयको नयाँ भवन निर्माण गरेका छौं  भने नगर क्षेत्रका सम्पूर्ण १०४ वटै विद्यालयको संरचनालाई बालमैत्री बनाउने र रङरोगन गर्ने काम गरेका छौं ।’ 

    बागलुङ नगरलाई बालमैत्री बनाउनका लागि १५ वटा कानुन निर्माण गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘हामीले बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने १५ वटा कानुन नै निर्माण गरेका छौं,’उनले भने,‘घोषणापछि दिगोपनमा समस्या नहोस् भनेर पन्चवर्षीय योजना बनाएर कार्यान्वयनको चरणमा लगेका छौं । यो एउटा अभियान हो, यसलाई निरन्तर अगाडि बढाउनुपर्छ अहिले पाएको ९२ प्रतिशत अंकलाई शतप्रतिशत बनाउनेमा हाम्रो ध्यान जानेछ ।’ अब बालबालिकाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित भएको उनले जानकारी दिए । 

    अहिले बालबालिकासंगै अभिभावकमा पनि बालअधिकारका बारेमा सचेत भैसकेकाले यसको दिगोपनमा समस्या नआउने उनको विश्वास छ । ‘जिल्ला सदरमुकाम भएको र अन्यत्रबाट पनि मजदुरीका लागि यहाँ आउने भएकाले बालश्रमको समस्या हुन्छ भिन्ने चिन्ता हो,’उनले भने,‘अहिले यहाँको अभिभावक र बालबालिका तथा बालक्लबहरु यसप्रति सचेत भएर सक्रियता पूर्वक लाग्ने वाताबरण बनेको छ । यसले हामीलाई भोलीका दिनमा काम गर्न सजिलो हुने विश्वास लिएका छौं ।’ 

    बालमैत्री शासनयुुक्त नगरपालिका घोषणा हुने बागलुङ नगरपालिका जिल्लामा दोस्रो गण्डकी प्रदेशमा चौथो र देशव्यापी रुपमा पच्चिसौं स्थानीय तह हो । बागलुङ नगरपालिका बालमैत्री शासनयुक्त नगर बनेको प्रमाणपत्र गण्डकी प्रदेश सकारका स्वास्थ्यमन्त्री कृष्ण पाठक र वन तथा वाताबरणमन्त्री भेषबहादुर पौडेलले नगरप्रमुख वसन्तुकमार श्रेष्ठलाई हस्तान्तरण गरे । 

     

  • सम्बन्धित विषय:

  • # बालमैत्री
  • # बागलुङ

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार