पूर्णभद्र निउरे, ताराखोला : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हितमान शाक्यले २३ गतेको संसद अधिवेशनबाट प्रधानमन्त्री पदमा केपी शर्मा ओली नरहने कुरा ठोकुवा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखोला गाउँकमिटीद्वारा आयोजित सहिश तथा बेपत्ता परिवारजन सम्मान कार्यक्रममा बोल्दै उनले राजिनामा नदिएर हलत्याएर निकाल्ने बताए ।
बागमती प्रदेश कमिटीका सह–इन्चार्ज समेत रहेका शाक्यले प्रधानमन्त्री ओलीले शृङ्खलाबद्ध रुपमा असंबैधानिक कदम चाल्दै गएको भन्दै पार्टीबाट एक्लिदै गएको बताए ।
शाक्यले सहिदका सपनालाई पूरा गर्न पार्टी प्रतिबद्ध भएर लागेकाले सहि बाटो तर्फ लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । गण्डकी प्रदेश सांसद तथा जिल्ला पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले केही व्यक्तिहरुले आफ्नो स्वार्थ र पदलोपका कारण तितरवितर हुन खोजे पनि सच्चिएर फेरि मुलधारमा आउन आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद चन्द्रबहादुर बुढा, प्रदेश कमिटिका सचिवालय सदस्य हिरा बहादुर केसी, जिल्ला कमिटीका सचिव ज्ञामनाथ गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य भबिकला रोका लगायतले बोलेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखोला गाउँ कमिटीले जनयुद्धका क्रममा ताराखोलाबाट सहादत प्राप्त गर्ने २१ जना सहिदका परिवार र २ जना बेपत्ता परिवारका सदस्य तथा आफन्तलाई सम्मान गरेको थियो ।
कार्यक्रम नरेश केसीको अध्यक्षता, फुलमाया पुनको स्वागत मनतव्य र भद्र बहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।