पूर्णभद्र निउरे, ताराखोला: ताराखोला गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालय भवनको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
भवन उद्घाटन कार्यक्रमपछि बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले स्थानीय सरकारको पहिलो वडा कार्यालय भवन उद्घाटन गर्न पाउनु गाउँपालिका कै गौरवको विषय भन्दै नागरिक र जनप्रतिनिधिले हातेमालो गरेमा मात्र विकास सम्भव रहेको बताए ।
अध्यक्ष घर्तीले प्रतिनिधि सभा भंग गरेर प्रधानमन्त्रीले देशलाई प्रतिगमन तिर धकेलेकोले देश अस्थिरता तर्फ गैरहेको बताउदै छिट्टै सत्यको विजय हुनेमा विश्वस्त रहन स्थानीयलाई आग्रह गरे ।
गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले कतिपय ठाँउमा कुनै पनि संरचना निर्माणका लागि जग्गाकै अभाव भएर संरचना निर्माण हुन नसकेको भन्दै वडा नम्बर ४ ले जग्गा व्यवस्थापन गरी वडा कार्यालयको भवन निर्माण गर्नु वडाबासीको लागि सुखद पक्ष रहेको बताइन् ।
ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जनतालाई प्रशासनिक काममा कुनै समस्या नहुने गरी गाउँपालिका काम गरेको बताउँदै पूर्वाधार विकासको क्षेत्रमा गाउँपालिका धेरै अगाडि रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन, कार्यपालिका सदस्य धन बहादुर विक, निर्माण व्यवसायी नरेश केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि जिल्ला समन्वय समिति बाग्लुङको २० लाख र ताराखोला गाउँपालिक ले ६० लाख बजेट विनियोजन गरेको थियो ।
कार्यक्रममा वडा कार्यालय भवन निर्माण कर्ता निर्माण ब्याबसायी घुम्टे कन्स्ट्रक्सन का नरेश केसी, जग्गादाता ताराखोला गाउँपालिका वडा नम्बर ४ धन बहादुर थापा र तलबिर रोकालाई सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षयता, वडा सदस्य सपनाधरी बुढाथोकीको स्वागत र वडा सचिव कमल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।