बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकाले ६ सय जना कृषकलाई व्यावसायिक बनाउने अभियान थालेको छ । नेपाल सरकारले घोषणा गरेको फलफूल दशक कार्यक्रम अन्तर्गत ताराखोला गाउँपालिकाका किसानलाई व्यावसायिक फलफूल उत्पादन गर्ने गरी विरुवा वितरण थालेको हो ।
ताराखोला गाउँपालिकाले यो वर्ष ओखर, किवी र आल्मोनका विरुवा वितरण गरेको तारोखाला गाउँपालिकाका सूचना अधिकारी प्रकाश गैरेले बताए ।‘दुई हजार आठ सय दाँते ओखरका कलमी विरुवा टर्कीबाट ल्याइएको छ,’ उनले भने,‘नेपालमै किनेको चार हजार गरी हामीले ६ सय ८ सय ओखरका विरुवा यस वर्ष किसानलाई वितरण कार्य सुरु गरेका छौं ।’
फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिरहेको उनले बताए । कृषि प्राविधिकहरुले ताराखोलाको सबै ठाउँमा ओखर फल्ने बताएपछि सबै ठाउँका किसानलाई ओखरका विरुवा वितरण भैरहेको उनले बताए ।
‘ताराखोला गाउँपालिका भित्रका पाँच वटै वडाका सबै ठाउँमा ओखरको उत्पादन हुन्छ भन्ने प्राविधिक निष्कर्ष रहेको छ,’ उनले भने,‘त्यसैले पनि हामीले सबै किसानलाई कम्तीमा १० वटाका दरले बिरुवा वितरण गरेका छौं ।’
ओखरसंगै गाउँपालिकाले किवी र आल्मोनको विरुवा पनि किसानलाई वितरण गरेको छ । ‘किवी पकेट क्षेत्र पहिलेदेखि नै छ, अहिले नयाँ परीक्षणका लागि आल्मोनका बिरुवा पनि वितरण गर्दैछौं,’ गैरेले भने । ताराखोलाको पँधेराखोला र बराहखोला क्षेत्रमा मात्रै तीन हजार ओखरका बिरुवा लगाइँदैछ ।
‘सबैतिर खेती हुने भए पनि पँधेराखोला र बराहखोलामा ठूलो संख्यामा ओखरका बिरुवा लगाउने कार्यक्रम रहेको छ,’ उनी भन्छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर ३० रुपैयाँ गाउँपालिकाले अनुदान दिने गरेको छ ।
सबै कार्यक्रम गरी ओखरका लागि २७ लाख बजेट विनियोजन भएको गैरेले जानकारी दिए । यो वर्ष ताराखोलामा १६ सय किवीका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखाका कर्णखर भट्टराईले बताए ।
‘ताराखोलामा किवीको परीक्षण सफल भएको छ,’ उनले भने,‘किवीको पकेट क्षेत्र नै घोषणा गरेर चार सय हेक्टर क्षेत्र छुट्याइएको छ । ती ठाउँका किसानले यो वर्ष एक हजार पाँच सय किवीका नयाँ बिरुवा लगाउँदैछन् ।’
संघ र स्थानीय तहको बजेटबाट किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको उनको भनाइ छ ।टर्कीबाट ल्याएको क्लेन्डर नामको ओखरको कलमी बिरुवाको प्रति बिरुवा ५ सय ५० रुपैयाँ मूल्य परेको छ ।
नेपालमै किनिएको विजु बिरुवालाई भने प्रति बिरुवा ७५ रुपैयाँ मूल्य परेको छ । किसानले कुल लागतको ५० प्रतिशत मात्रै रकम तिरेर बिरुवा लगेका छन् । किवीको बिरुवा खरिदका लागि ताराखोलाले करिब १० लाख रुपैयाँ लगानी गरेको छ ।
ताराखोला गाउँपालिका कार्यालयका चिन्तामणी शर्माका अनुसार यो वर्ष ६ सय जना किसानलाई व्यावसायिक फलफूल खेतीमा लैजाने गाउँपालिकाको योजना छ ।
‘पाँच सय जनाले ओखरका बिरुवा लगाउँदैछन, ५० जना किसानले किवी र ५० जनाले आल्मोनका बिरुवा गरी गाउँपालिका भित्रका ६ सय जना किसानले अहिले फलफूलको व्यावसायिक खेती गर्दैछन्,’ उनले भने,
‘एक दुई विरुवा दिँदा व्यावसायिकता हुँदैन भनेर अनुदानमा बिरुवा लैजान चाहाने किसालाई कम्तीमा १० वटा बिरुवा लैजानुपर्ने प्रावधान बनाएका छौं ।’
ताराखोला गाउँपालिकाको ७५ सय रोपनी क्षेत्रफलमा यो वर्ष ओखर र आल्मोन लगाउने उनले बताए । किवी खेतीका लागि विशेष गरी ताराखोलाको वडा नम्बर ३ र वडा नम्बर ५ लाई किवी खेतीको पकेट क्षेत्रको रुपमा निर्धारण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगर बताउँछन् ।
‘वडा नम्बर ३ को बराहखोला, पँधेराखोला, वडा नम्बर ५ को नाँगी, औलादी, मकेश, सिप लगायका ठाउँमा व्यावसायिक रुपमा किवी खेती सुरु भएको छ,’ उनले भने,‘वडा नम्बर २ को हल्पु, खलडाँडा क्षेत्रमा किवी खेती सुरु भएको छ ।’
ताराखोला गाउँपालिका भित्र कृषि, पशुपालन तथा उद्यमको माध्यमबाट स्थानीयलाई आर्थिक क्षेत्रमा अगाडि बढाउन गाउँपालिका लागेको घर्तीले बताए ।
‘स्थानीयलाई उद्यमशील बनाउने अभियानमा छौं,’ उनले भने,‘कृषि पशुपालन तथा अन्य उद्योग व्यवसायमा लाग्नेहरुलाई गाउँपालिका प्राथमिकताका साथ सहयोग गर्नेछ ।’
किवीको बिरुवा लिने किसानले प्रति बिरुवा १५० रुपैयाँ र आल्मोनको बिरुवा लैजाने किसानले प्रति बिरुवा २५० रुपैयाँ तिर्नुपर्नेछ । टर्कीबाट ल्याइएको ओखरको कलमी विरुवाले लगाएको दुई वर्षमै फल दिने कृषि प्राविधिकले बताएका छन् ।
दुई वर्षमै फल्ने उक्त ओखरको वयस्क बोटले वर्षमा १८ किलो फल दिन्छ । विजु बिरुवाले भने पाँचदेखि सात वर्षमा उत्पादन दिन थाल्छ । अहिले ओखरको बजार मूल्य प्रतिकिलो ६ सय रुपैयाँ छ । आल्मोनले दुई वर्षमा फल दिन्छ ।
वयस्क बोटले वर्षमा १२ किलो फल दिने कृषि प्राविधिकहरु बताउँछन् । आल्मोनको प्रतिकिलो बजार मूल्य पाँच हजार रुपैयाँ भन्दा माथि पर्छ । किसानहरुलाई व्यावसायिक बनाउनका लागि न्यूनतम १० वटा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।