थाहा छैन, कुन दिन
गुडिया खेलाउदै गरेकी नानी
पिपासुहरुको खेलाउना बन्छिन्
आफ्ना शरीरको अंगसम्म
थाहा नपाएकी बालिका
गिद्दहरुको पन्जामा पर्छिन्
रजस्वलाको कष्टप्रद क्षण
भोगिरहेकी एक युवती
लुटिन्छिन परिवारबाटै
थाहा छैन,
कुन सुन्दर बिहान
एक युवतीको चिहान बन्छ
खोसिन्छ उनको हासो
च्यातेर रक्ताम्य बनाइन्छ
उनका घाघर र फरियाहरु
चिच्याउदा चिच्याउदै थाक्छिन
लुटिएपछी पनि मारिन्छिन
प्रतिकार गर्दा गर्दै हार्छिन
अनि
थिचिन्छिन कहिलै नउठ्ने गरेर
एका बिहानै
अखबारको पहिलो पानामा
बलात्कार पछि हत्या भन्दै
समाचार छपिन्छ
न्यायलयको ढोकामा बसेर
न्यायको भिख मागिन्छ
चुप बस्छ पुलिस प्रसासन
खुल्दैन न्यायको ढोका
जाहेरी दर्ता गर्न आन्दोलन गर्नुपर्छ
बलात्कारी पत्ता लगाउन
महिनौ कुर्नु पर्छ
ती काख रित्तिकि आमाले
न्यायका लागी सबैको खुट्टा ढोग्छिन
छोरी गुमाउनुको मात्र होईन
न्याय नपाउनुको हर पिडा भोग्छिन
यहाँ
भर्खरका कोपिला मात्र होईन
सेताम्मे फुलेको कपाल
बुढेसकालले चाउरिएका गाला
अनि शरीरका रंग रस सकिएर
साहारा खोज्दै गरेकी आमा
छोराबाटै बलात्कारमा पर्छिन
प्रसवकालको सिमातित कष्टबाट
भर्खर छुटकारा पाएकी सुत्केरी
सामुहिक बलात्कारमा मर्छिन
यसरी हरेक दिन
बलात्कारको घटना बढिरहदा
तिमी ले छातिमा हात राखेर
देश र जनतालाई सुरक्षा दिन्छु भन्दै
सपथ लिएको बर्सौ बितिसक्दा
किन असुरक्षित छन चेली ?
किन बढिरहेको छ बलात्कार?
कहिले बनाउछौ कडा कानुन ?
साच्चै सरकार
कहिले फेर्ने छोरीहरु ले न्यायको सास ?
कतिजना लुटिएपछी गर्न पाउछौ
हामीले सुरक्षाको आभास ?