सन्दर्भ : गणतन्त्र दिवस

टुहुरो भयो गणतन्त्र !

टुहुरो भयो गणतन्त्र !

  • जेठ १५, २०७८ शनिवार
  • ०८:५०:०२ बजे
  • 10.6K
    SHARES
  • टुहुरो भयो गणतन्त्र !

    सरकार !
    राणा र राजतन्त्र फालेर 
    गणतन्त्र ल्याएको होइन र ?
    खोइ गणतन्त्र ?
    कहाँ छ नागरिक शासन ?
    तिम्रो शासकीय व्यवहार 
    महाराज महारानीको जस्तो भयो 
    यो कुन तन्त्र हो ? 
    तिमीहरू किन पदको गरिमा बिर्सदै
    जनताले बनाएको संविधानको 
    घाँटी थिच्न लागि परेका छौ
    संघर्ष गरेर ल्याएको गणतन्त्रको 
    बारम्बार हत्या गरेका छौ ।।

    तिमी किन देख्दैनौ ?
    गणतन्त्र ल्याउन लडेकाहरु
    अस्पताल नपाएर मरेको 
    लकडाउनको बेला गरिबहरु 
    भोकले प्याक–प्याकी परेको 
    कोरोना संक्रमित छट्पटाउदै 
    अक्सिजनको भिख मागेको 
    घाटमा लासको लस्कर लागेको 
    तिमीलाई किन दुख्दैन ?
    देशमा कहालीलाग्दो बज्रपात पर्दा,
    तिम्रो गैह्रजिम्मेवारीले गर्दा
    शोकमा दुबेको छ देश
    रोग र भोकले थलिएको छ गणतन्त्र  ।।

    सरकार ! 
    जनता कोरोना जित्न खोप माग्दा 
    तिमी चुनाव जित्न भोट माग्छौ 
    देशको चिन्ता गर्न छोडेर
    पार्टी भागबन्डा तिर लाग्छौ 
    स्वास्थ सामग्री अनुदान माग्दै 
    छिमेकी सामु लम्पसार पर्छौ 
    मानवीय संकटको बेला
    अरबौको चुनाव घोषणा गर्छौ 
    तिम्रो असंवेदनशीलताले नै 
    आजसम्म हजारौं मानिस मरे,
    अक्सिजन नपाएर सुत्केरी मरिन् 
    ती आमा गुमाएको शिशुसँगै
    टुहुरो भयो गणतन्त्र  ।  

  • सम्बन्धित विषय:

  • # लक्ष्मी अर्गेजा मगर

  • लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार