सन्दर्भ : आमाको मुख हेर्ने दिन

आमाको मुख लुकेर हेरेँ

आमाको मुख लुकेर हेरेँ

  • बैशाख २८, २०७८ मंगलवार
  • ०६:३४:११ बजे
  • 19.7K
    SHARES
  • आमाको मुख लुकेर हेरेँ

    आमा !
    तिम्रो मुख हेर्ने दिनमा 
    मैले ब्याचलरसम्म पढेर पाएको 
    ती सर्टिफिकेट सिलाएर 
    न त तिमीलाई उपहार दिने 
    साडी बनाउन मिल्दो रहेछ 
    न त तिम्रो फाटेको चोली टाल्ने 
    टालो बनाउन मिल्दो रहेछ ।

    मैले परिक्षा पास गर्दा 
    लेखेर सकेको कलमको 
    तिम्रो बुढेसकालमा टेक्ने 
    लठ्ठी नबन्दो रहेछ 
    तिमी भोकै बसेर किनिदिएको 
    ती कपिको पानाहरुले 
    तिम्रो गालाको कुलेसो हुँदै बगेको 
    वेदनाका आँशु नपुछ्दो रहेछ ।

    आमा मलाई याद छ 
    म सानो हुँदा, तिमी भन्थेउ 
    ‘मलाई भोक लाग्यो भने 
    पटुकी कसेर निको बनाउछु’
    त्यही पटुकीको छेउ च्यातेर 
    मलाई गहुँको पिठो पोको पारी 
    सहर पठाइदिएकी थियौ 
    छोटो पटुकीले तिम्रो पेट नकसिएर 
    भोकले कति छ्टपट्यायौ होला 

    तिमी ले टाउको बाध्ने मजेत्रोमा 
    भुटेको मकै पोको पारेर 
    मलाई खाजा पठाएकी थियौ 
    त्यो खाली कपाल भारी बोक्दा 
    नाम्लोले कति बिझायो होला ।

    तिम्रो गुण्निउ च्यातेर 
    मलाई जामा सिलाइदिन्थेउ 
    तिमी खाली खुट्टा हिडेर 
    मलाई चप्पल किनिदिन्थेउ 
    मलाई धेरै पढाएर ......
    ठुलो मान्छे बनाउने सपनामा 
    रगतको खोली बगायौ 
    अभावै अभावमा संघर्ष ग¥यौ 
    कयौं अप्ठ्यारा पहाडहरु चढ्यौ  ।।

    आमा !
    आज तिम्रो मुख हेर्न भनेर 
    म तिम्रो अगाडी उभिए भने 
    तिम्रो चप्पल बिहिन खाली खुट्टा,
    पुरानै च्यात्तिएको चोली देख्नेछु
    तिम्रा दुःख अनि पीडाहरुले  
    गिज्याउने छन् मलाई  
    तिमीलाई खुशी राख्ने सपनासँगै
    तिम्रा आँखाबाट बगेको आँशुले
    खिल्ली उडाउने छ मेरो 
    त्यसैले आमा तिम्रो मुख लुकेर हेरेँ ।।

  • सम्बन्धित विषय:

  • # लक्ष्मी अर्गेजा मगर

  • लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार