विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

  • श्रावण १९, २०७८ मंगलवार
  • १८:५२:१९ बजे
  • 2.4K
    SHARES
  • विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

    काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।


    कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

    प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

    कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए ।  अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक–पटक आग्रह गरेका थिए । 

    तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए ।

    नयाँ सरकार बनेपछि नै प्रचण्डले कुलमानलाई पुनः प्राधिकरणमा गएर काम गर्ने तयारी थाल्न भनेको स्रोतले बतायो ।

    सम्बन्धित समाचार