बागलुङ : जिल्लामा भकुम्पकले थला परेका केही संरचना पाँच वर्ष पुग्दा पनि निर्माण हुन सकिरहेका छैन ।
लाभग्राहीले सास्ती खेप्नुपरेको अवस्था छ । यस्तो अवस्थामा भने जिल्लाको बागलुङ नगरपालिका—११ रायडाँडामा निर्माण थालिएको पाँच महिनामा बौद्ध गुम्बा निर्माण सम्पन्न भएको छ । रायडाँडाको हलहले स्थित रहेको गुम्बा पाँच महिनामा पुनःनिर्माणको काम सम्पन्न भएको हो ।
२०७२ सालको भुकम्पले क्षति पु-याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो ।
गत माघमा शिलन्यास भएको गुम्बा कुल ६१ लाखको लागतमा निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । ६१ लाख मध्ये प्राधिकरणले ४२ लाख र २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समिति तथा श्रमदानबाट जुटाएर निर्माण गरिएको हो ।
धार्मिक पर्यटक भित्राउनकालागि उपयोगी हुने भन्दै वडा कार्यालयले गौरवको योजनामा समावेश गरेकोमा गुम्बा गत असार मसान्त भित्रै निर्माण सकिएको हो ।
२०६२ सालमा स्थापना भएको उक्त गुम्बा ७० सालमा बिधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ सालको भुकम्पले क्षति पु-याएको थियो ।
वडा अध्यक्ष गौतमको निरन्तरको पहलमा गुम्बा पुनःनिर्माण गर्न प्राधिकरणले गत आर्थिक वर्ष २०७७÷७८ सम्झौता गरेको थियो ।
जिल्लामा निजी आवास, सडक, एकीकृत बस्ती तथा पुल पुनःनिर्माण गर्दै आएको राष्ट्रिय पुन ःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले यस पटक बौद्व गुम्बाको पुनःनिर्माण गरेको बागलुङका इकाई प्रमुख रेणुका पाण्डेले जानकारी दिईन । पाण्डेका अनुसार ६१ लाख रुपैयाँको लागतमा ८०० वर्ग मिटर गुम्बा निर्माण भएको हो ।
एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भुकम्पले क्षति पु¥याए पछि जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि पहल थालिएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भुकम्प प्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको शान्ति बौद्ध बिहार राडयाडाँडाका निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।
गुम्बा निर्माण शुरु भएको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको उनले बताए । गुम्बा पुर्ननिर्माण पछि धार्मिक पर्यटक आउने र यस क्षेत्रमा चहलपहल बढ्ने थापाले बताए ।
पहिला सानो ढुङ्गा माटोको गुम्बा भत्किएका कारण पुनःनिर्माण गरिएको हो ।
गुम्बा निर्माणको लागि अपुग २१ लाख रकम मध्ये केही जनश्रमदान, केही गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको र १० लाख बजेट अपुग भएकोमा सरसापट गरेर गुम्बा सम्पन्न गरिएको हो । कोरोना महामारी हटेपछि उक्त अपुग भएको बजेट जुटाइने उनले बताए ।
नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मुर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।