विचार

ढोरपाटन, फूल र पर्यटन

ढोरपाटन, फूल र पर्यटन

  • आश्विन ७, २०८२ मंगलवार
  • ०८:४९:२९ बजे
  • 9.4K
    SHARES
  • ढोरपाटन, फूल र पर्यटन

    पर्यटनको क्षेत्रमा धेरै सुनिने एउटा शब्द छ त्यो हो ‘अफसिजन’ । जुन समयमा पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको चहलपहल कम हुने गर्दछ । पर्यटन व्यवसायीहरु पनि आराम गरि बस्ने गर्दछन् । नेपालमा वर्षादको समयलाई अफसिजन मानिन्छ । त्यहीँ अफसिजनमा ढोरपाटनमा आन्तिरिक पर्यटकहरुको आगमनले गुल्झार बनेको छ । दैनिक सैयौँको संख्यामा आन्तरिक पर्यटकहरु सिमसिमे झरीमा भिज्दै ढोरपाटन पुग्ने गरेका छन् ।  

    हिन्द महासागर र अरब महासागरबाट दक्षिण पश्चिम मनसुनी बतासको एक धार बहेर बंगालको खाडी पार गर्दै हिमालयलाई छोप्दै पूर्वबाट पश्चिम तिर बहन थाल्छ अनि मनसुन बन्छ । आसाम, भुटान र सिक्किम पार गर्दै नेपाल भित्रिन्छ । पहाडी भेगमा मुसलधारे वर्षा हुन्छ भने मनसुनी वायु हिमाल पार गर्न सक्दैन त्यसैले मुस्ताङ, मनाङ, डोल्पा र तिब्बती भू–भाग सुख्खा हुन्छ । त्यस्तै लेकाली भेगमा सिमसिमे वर्षा हुन्छ । त्यही समय अनेक फूल फुलेर पाटन सिंगारिएकी बेहुली झैँ ढपक्कै हुन्छ ।

    वनस्पति विज्ञ डा. तिर्थबहादुर श्रेष्ठको अनुसार, “लेकाली भेगमा एक हजार भन्दा बढी प्रजातिका भुइँफूल प्रसस्तै फुल्छन ।” ढोरपाटनको खर्क, पाटन, खगर, सिम,चौरहरुमा पनि प्रसस्तै फुलहरु फुल्छन् । ति फूल, काण्ड, जरा र पात ढोरवासीहरुले विभिन्न प्रयोजनको लागि प्रयोग गर्ने गर्छन । अधिकाशं फूलहरु बहुउपयोगी छन् । छेन्तुङमा सन् १९८८ देखि सञ्चालनमा रहेको पूर्व परम्परागत चार चिकित्सा शाख विद्यालयमा घम्ती अध्यायन अध्यायपन हँुदै आएको छ । हिँउदको समयमा काठमाण्डौँ र वर्षादको समयमा ढोरपाटन । जडिबुटीहरुको पहिचान गरी त्यसको  प्रशोधन गरि औषधिको रुपमा प्रयोगमा लिने काम गरिन्छ । विद्यार्थीहरु अधिकाशं हिमाली भेग डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ , मनाङ, सोलुखुम्बुदेखि दार्जिलिङसम्मका छन् । गुम्बाका लामा, व्यवस्थापक तथा गुरु डेनी लामाका अनुसार, ढोरपाटनमा पूmल्ने ३०० बढी जडिबुटीका बोट विरुवाहरु औषधिका लागि उपयोग गरिन्छ ।

    विश्वका वैज्ञानिकहरु वनस्पतिहरुलाई आफ्नै ईच्छा अनुसार नाम राखि दिन्छन् । फ्रान्सका अंगे्रज अन्भेषक ह्यामिल्टनले काठमाडौँै वरपर फुल्ने फूलहरुलाई नेवारी भाषामा नाम जोडेर वैज्ञानिक नाम दिएका छन् । उच्च पहाडी भेगमा असोज कात्तिक महिनामा खर बारीमा लपक्कै फुल्ने सेते रङको सुगन्धित बुकी फूललाई एनाफालिस बुसुवा नाम जुराईदिएका छन ह्यामिल्टनले । धैरै प्रकारका फूलहरुको पण्डित भइ न्वारन गरिदिएका छन् उनले ।

    ह्यामिल्टनसँग जोडिएको एउटा रमाइलो किस्सा छ । उनले काठमाडौँ उपत्यकाको जंगलमा एउटा सुन्दर सुनाखरी प्रजातिको फूल फेला पारेछन् । स्थानीयहरुलाई “यो फूलको नाम के हो ?” भनि सोधे छन् । स्थानीयले, “छु स्वाँ, छु स्वाँ” नेवार भाषमा के फूल के फूल भने छन् । उनीहरुलाई नाम थाहा नभएर छु स्वाँ भनेका रहे छन् । ह्यामिन्टनले ठाने छन् फूलको नाम ‘छु स्वाँ’ रहेछ । अनि उक्त फूलको वैज्ञानिक नाम ‘आर्किस छुसुवा’ राखिदिए छन् । आज पनि त्यस फूलको ‘आर्किस छुसुवा’ दर्ज भएको छ । 

    फूल, रैथाने नाम अनि रैथाने ज्ञान
    पछिल्लो समय आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्र बिन्दु बनेको बुकी फूलको कथा पौराणिक कालसँग पनि जोडिने गरेको पाइन्छ । पाटनमा रंगिन फूल ढकमक फुलेको समयका देवताहरु खुसी हुने र त्यही बेला जनै पुर्णिमा पर्ने भएकाले उत्तरगंगामा रहेको ढोरबराहमा पूजा गर्ने गरिन्छ । लगत्तै जल्पा बराह, शिद्ध बराह, सलह बराह, सिम बराह आदी बराह देवताको पूजा गर्ने प्रचलन छ । स्थानीयको जनजीवनसँग जोडिएको रितीरिवाज, परम्परा, चालचन, संस्कृति र जीवन पद्धतिमा फूलको गहिरो प्रभाव छ । 

    फूल फुल्यो कप्टेरी 
    दाईभन्दा भाउजू झन् अप्ठ्यारी ।।
    स्थानीय ६० वार्षिय अबिसरा अदैले वाल्यकालमा गाउने लोक भाकाको केही अंश । गुजुक्क बुच्का निस्किने पहेलो रंगको कप्टेरी फूल सुगन्धित हुन्छ । जुन फूल मध्ये भदौ देखि भदौ अन्त्यसम्म फुली सक्छ । “तेरो चिहानमा कप्टेरी फूलले बास गरोस् ।” “तलाई कप्टेरी फूलले हान्नु परोस् ।” कसैलाई गाली गर्नु परेमा बोलिने शब्द । स्थानीयको जनजिब्रोमा झुण्डिएको हुन्छ । यसको अर्थ के हुन्छ भने छिटै मरि जा कप्टेरी फूल चिहानमा चढाउनु परोस् भन्ने हुन्छ । अशुभ कार्यमा यसको बढी प्रयोग गरिन्छ । कसैको निधन भएमा मृतकको चिहानमा चढाउन प्रयोग गरिन्छ । त्यस्तै देउराली, बिसौना, मृतककोसम्झनामा यसलाई टिपेर चढाउने चलन छ ।

    साउने सक्रान्ति अर्थात साउन १ लाई स्थानीय भाषामा राके सक्रान्ति भन्ने चलन छ । साउनको महिनामा भारी वर्षातले गर्दा बाढी पहिरो जाने हुन्छ । अप्रिय दुर्घटना घत्ने हुन्छ । लुतो, खटिरा, झाडापखला, हैजा जस्ता रोग व्याधीले सताउने जसले गर्दा धन जनको क्षति हुने, आफन्त गुमाउनु पर्ने हुन सक्छ । साउनको महिनामा दैविक शक्ति सलबलाउने, देवता रिसाए बाधा हुने अनि पशुचौपाय र धनजनको क्षति हुने विश्वास रहेको छ । भुत पिचास जाग्ने अनि राक्षसले मानिसहरु पशुचौपायाहरुलाई दुःख दिने विश्वास गरिन्छ ।

    राक्षसलाई राकश भन्ने चलन छ । भुत, दैव, राक्षस आदिलाई खुसी पार्न पाटनमा फुलेका नौ प्रकारका फूलहरु जम्मा गरी साउने सक्रान्तिको साँझ विधी पूर्वक घरमा तयार पारिएको परिकारहरु चढाइन्छ । आगोको राँको सल्काई बलेको आगोसहितको अगुल्टो घर बाहिर फाल्ने प्रचलन छ । जसलाई राके फाल्ने भनिन्छ । यसरी राके फाल्ने साँझ प्रयोग गरिने फूललाई राके फूल भनिन्छ । राँके फूल कुनै लहरे त कुनै सुनाखरी प्रजातिका हुन्छ । अधिकांश भुइँफूल रातो, पँहेलो, बैजनी र निलो रंगको सुन्दर हुन्छन् ।

    प्रकृतिको लिला पनि कस्तो बिचित्र ? एक जातको फुल ओइलाउने बेलामा अर्को फुल्न सुरु हुन्छ । हप्ता पन्ध्र दिनमा पाटनले मुहार फेरि रहन्छ । त्यसैले पाटन झनै सुन्दर । कस्तो गुनी प्रकृति ? साउन दोस्रो सातादेखि अन्तिमसम्म पाटनलाई पँहेलै बनाउने सुर्यमुखी फूलझै माथि आकाशमा फर्किने फूललाई बिजौरी नाम दिएका छन् । 


    पाटन नै बगैचा जस्तो बनाउने साना भुइँ फूलहरुको आकार, प्रकार र गुण र दोषको आधारमा ढोरवासीका पुर्खाहरुले नामाकरण गरिदिएका छन् । छिउने, पटेनी, पुतली, फत्याङ्ग्री, फत्गेरी, ओठे, नाकेफुली, सिमफूल, बोक्सी, भेडामुखे, बुर्कासी, चरीबाके, चरिनाउरे, दहिथेकी, सुर्यमण्डल, तारामण्डल, अत्तिस, चिराइतो अदी । ति भुइँ फूलहरु अधिकांश साउनदेखि फुल्न सुरु हुन्छ । ति मध्ये भदौसम्ममा ओइलाउँ छन् ।  

    मदाने, थाक्रे, सुनकाउली, झ्याकुता ÷कापचुच्चे, गोरुजुधे, धुपजरी, कन्जरी, बाओटे, कासपाटे, बाँके, भुत्तिस आदी भदौ महिनाभरी फुल्छन् । बैजनी रङको काली काठ (सिर्लिङे) फूल भदौ अन्तिमदेखि फुल्न सुरु गरी असोज महिनाभरी फुल्ने गर्छ । काली काठ फुल्न थालेपछि जाडो बढ्न थालेको सङ्केत गोठालाहरु थाहा हुन्छ । अनि त गोठ बुकीबाट तलतल गर्दै दशँै लाग्दासम्ममा हिउदेँ थरी (औल) झार्ने गर्छन् । उचाई अनुसार ति फूलहरुको बनावट र रङमा फरकपन देखिन्छ । समुन्द्री सतहदेखि ३००० मिटर तलको चौर र झाडीमा फुल्ने रक्तमुल निख्खर रातो हुन्छ । त्यहीँ फूल ४००० मिटर माथिको पाटनमा निलो आकर्षक हुन्छ । त्यस्तै फाँटको जलथले सिममा रातै फुल्ने राके (राक्से) फूल पाटनमा गुलाबी रङमा बदलिएको हुन्छ । बुकीमा फुल्ने ति पूmलहरु देउराली, पानीको मुहान, चिना बिसौना, चिहान, कुलानी पूजा गर्दा, देवी देवता पुज्न, मृत आफन्तलाई सम्झँदा घरबाट कतै टाढा जानुपरेको खण्डमा कुल कुलान सम्झिदा चढाउने गरिन्छ ।

    स्थानीय बासिन्दाहरुले परापूर्वक कालदेखि आफ्ना पुर्खाहरुले सिक्दै आएको सिप र ज्ञानको भरपुर सदुपयोग गर्दै आएका छन् । जस्तै रक्तमुल ओसिल ठाउमा उम्रने सुन्दर भुइँ फूल हो । जसलाई पखला लागेमा, रगत मासी परेमा र महिलाहरुको माहिनावारी गडबड भएमा जरा खनेर खाने गर्छन् । रुघा खोकी लागेमा तितो र अतिस खाने गर्छन् । बाइलो परेमा सतुवा र अरेली, ज्वरो आए, टाउको दुःखेमा सितामोलको सट्टा बिखमाको जरा खोज्न जंगल जान्छन् बुढापाका । त्यस्तै ज्वरो, सुगर, प्रेसरको दबाईको काम केतुकीले चलाउँछन् । ज्यान कमजोर भएमा भिटाभिनको काम यार्सागुम्बा र पाँचऔलेले गर्छ । घरमा उपियाँ र जुम्राले सताएमा मेडिकलमा मालाथिन किन्न जाँदैनन् । मक्रमलको प्रयोग गर्ने गर्छन् । चोटपटक लागेमा रगत बग्न रोक्न गोरुजुधेको पात मिची त्यसको रस लेपन गर्ने गर्छन् । जसले गर्दा रगत बग्न रोकिन्छ । निको पनि हुन्छ ।

    भेडाबाख्रा, भैसी, गाई, कुकुर लगायतका पशुचौपाय बिरामी परेमा निको पार्न पाका गोठालाहरुले  झोलीको बन्दोबस्ता गरेका हुन्छन् । जसमा जडिबुटी राख्ने गर्छन् । पशुचौपाय बिरामी परेमा लक्षण हेरी के रोग लागेको हो भन्ने थाहा पाउने गर्छन् । कुनै पशु प्राबिधिकलाई गुहार माग्न जादैनन् । पशुचौपायलाई चोटपटक लागि घाउ खटिरा भएमा मक्रमल घोतेर लेपन गरि दिन्छन् । कुकुर बिरामी परेमा निरवंशी र बिख । त्यहीँ बिख अन्य पशुचौपाय लगायत मान्छेको लागि भने घातक हुन्छ ।

    झोलीमा जम्मा गरिने जडिबुटीको ओखती कुन बार संङ्कलन गर्ने कुन बार नगर्ने भन्ने रैथाने ज्ञान हुन्र्छ  । संकलन गर्दा काट्ने कसरी ? कसरी खन्ने  ? ति ज्ञान हुनुपर्ने विश्वास गरिन्छ । खनाई, कटाई र बार नमिलेमा ओखती नभई विष हुने मान्यता छ, त्यसैले अत्याश्वयक पर्ने जडिबुटीको संकलन ओखती जानकार पाका गोठालाहरुले मात्रै गर्ने गर्छन् । गुणी र बैगुनी गुण र दोष हेरी चिन्न जानेका छन् । त्यसैको आधारमा नाम जुराइ दिएका छन् । एउटै प्रजातिको जो बहुउपयोगी छ । त्यसलाई बिख मह (बिखमा) हानिकारकलाई बिख नाम जुराईदिएका छन् जुन रैथाने ज्ञानको उपज हो ।  

    गोठालाहरुले कुन फूल तथा घासको सेवन गरी पशुचौपाय बिरामी परेकको हो, तिनीहरुको हाउभाउ हेरी सहजै चाल पाउछन् । पाटनमा फुलेको फूल हेरी गोठ एक ठाउँबाट अर्को ठाउँ सार्ने गर्छन् । पशुले पोषिलो घाँस खाएमा दुध धेरै दिन्छन् । घिउ राम्रो लाग्ने, कम लाग्ने पनि वस्तुभाउले खाने घाँसमा निर्भर हुन्छन् गोठाला । कुन चरन क्षेत्रमा पोषिलो घाँस छ भन्नेमा पूर्ण जानकार हुन्छन् । भदौ अन्तिममा पाटनै मगमगाउने गरि बैजनी रङमा फुल्ने पूल हो कालीकाठ । अत्याधिक सुगन्धित हुन्छ । उक्त फूल वस्तुभाउले खाएमा तिनीहरुले दिने दूध तितो हुने गर्छ । अनि त हानिकारक मानिन्छ । लगत्तै गोठालाहरुले वस्तुभाउ खेडि औल(बेसि) झार्ने गर्छन् । कालीकाठ फुल्नु भनेको हिउँद लाग्न लागेको संकेत हुन्छ । कुनै भित्ते पात्रोको जरुरत पर्दैन । जुन रैथाने ज्ञान हो ।

    पाटनमा फुल्ने सबै फूल गुणी भने हुँदैनन् । जति गुणी हुँन्छन् त्यतिनै बिवषाक्त पनि हुन्छन् । जेठ असारमा फुल्ने च्यामलो (चिमली), भदौ अन्तमा फुल्ने बिख, अतिस लगायतका पूmलको रस जम्मा गरी भिर माहुरीले ढोरपाटनको भिर पहरामा यत्रतत्र महको घार बनाएको हुन्छ । माहुरीको घारबाट निकालिएको मह खान नजान्दा हप्तौ बेहोस भएको रमाइला अनुभव सुनाउने बुढापाका भेटिन्छन् ।

    बुकी फूलको सुवासको खोजिमा पाटन उक्लिने आन्तिरिक पर्यटकहरुले जथाभावी फूलहरु टिप्ने, शिरमा सिउरिने र राम्रो लाग्यो भन्दै खेलाउदैँ गर्दा अप्रिय घटना नघट्ला भन्न सकिन्न । देख्दा उस्तै उस्तै तर कुनै गुणवान हुन्छन् त कुनै विषाक्त । एउटा उदाहरण अतिर र बिखको जोडौँ । अतिस भदौमा फुल्छ । बास्नादार निलो रङको हुन्छ । एक फुट जति अग्लो हुन्छ । प्राय ओसिलो ठाउँमा धेरै मात्रामा पाइन्छ । जरा रुघा खोकीको औषधिका रुपमा प्रयोग गरिन्छ । त्यस्तै देख्दामा फूलको रङ उस्तै पात फरक बोट अतिसभन्दा अग्लो जहाँतहीँ पाइदैन । झाडीमा पाइन्छ बिख । जुन अत्याधिक बिसाक्त हुने गर्छ । गाई, बाख्राले भुलवश खान पुगेमा थहरै पर्छन् । कहिले काहीँ मानिसहरुले आवेगमा सेवन गरि प्रण त्याग गर्ने गरेको पनि सुनिन्छ ।

    फूलको जरा, काण्ड र पात जस्तै अंकुरणपछिको बीज पनि बहुउपयोगी हुन्छ ।  घोरज्वानो, मेला र झुलोको कुरा गरौँ । घोरज्वानाको फूल चियापत्तिको रुपमा चिया खानलाई प्रयोग गरिन्छ भने बीज मसलाको रुपमा प्रयोग गरिन्छ । त्यस्तै मेलाको बीजलाई अचार र मसलाको रुपमा प्रयोग गरिन्छ । ढोरवासीले समुन्द्री सतहदेखि ४००० मिटरमाथि खगरमा फल्ने खानयोज्ञ बिजलाई मेला नाम दिएका छन् । उस्तै प्रकारको मेला तर जुन खानयोज्ञ हुदैँन त्यसलाई मेलाको कमरा अथवा थाङ्ने मेला न्वारन गरि दिएका छन् । उपभोग गर्न मिल्नेको नाम जुराइ दिएका छन भने उस्तै जाति जो उपभोगमा आउँदैनन् हानिकारक हुन्छन् । तिनीहरुलाई त्यसैको पछाडी कमरा थपिदिएका छन् । कमरा भन्दासाथ उपभोगमा आउँदैन । हानिकारक छ भन्ने बुझिन्छ । त्यसैगरी उलेनी ढुङ्गामा रगडेर आगो बाल्न मिल्नेलाई झुलो । नमिल्नेलाई झुलोको कमरा भन्ने गरिन्छ ।

    मेला, थाङ्ने मेला, चुल्ठे अमिलो, राके, मदाने, नाके फुली, सतुवा, बिखमह, निरवंशी, पाँचऔले जस्ता नाम जुराईदिन अर्को कुनै गोरो छाला भएको अगे्रज ह्यामिल्टनको जरुरत पर्दैन् । ढोरवासीका पुर्खाहरुले सिकेको परम्परागत ज्ञान,सिप र मान्यतालाई हस्तान्तरण र पुस्तान्तरण गरे पुग्छ ।  परम्परागत ज्ञान, सिप र मान्यतालाई हस्तान्तरण र पुस्तान्तरण नभए रैथाने नामसहित रैथाने ज्ञान लोप भई नजाला भन्न सकिदैँन । अहिलेसम्म स्थानीय गोठाला, जानकार वयोवृद्धालाई सोधीखोजी गर्दै जाँदा ७० बढी थरीको रैथाने नाम र केहीको काम जानकारीमा आएको छ ।

    तिनीहरुको अभिलेखिकरण गर्नु जरुरी छ । होइन भने ह्यामिल्टनले खोजी गर्दा जस्तो ‘छु स्वाँ’अर्थात ’नेवारी भाषमा ‘के फूल हो के’ थाहै नभएको जनाउने वाक्यले सुनाखरी प्रजातिको फूलले वैज्ञानिक नाम ‘आर्किस छुसुवा’ पाए जस्तै कालान्तरमा ढोरपाटनको पाटन, खोल्सा, खर्क, खगर, सिम, आलुबारी, ज्वातोबारी माझमा सर्वत्र पूmल्ने बुकीपूmलले पनि रैथाने पहिचान गुमाउने त होईनन् ?
    अन्तमा 
    ढोरपाटनमा फुल्ने बुकिफुलहरुको पहिचान गरि रैथाने नाम र तिनीहरूको उपयोगिता पहिचान गर्न सकेमा आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि कानमा बुकीफुल सिउरिँदै नतमस्तक भै ‘हाउ बिउटिफुल ढोनपाटन’ भन्दै रमाउँथे कि ?

  • सम्बन्धित विषय:

  • # पर्यटन
  • # ढोरपाटन

  • जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार