बागलुङ : चूडामणि छन्त्यालको उमेर चार दशकबाट उकालो लाग्यो । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदुर लेकको गाउँमा उनी जन्मेका हुन् । तमानखोला गाउँपालिका—२ को कटेरीमा उनको जन्मगाउँ पर्छ । जटिल भौगोलिक अवस्था ।
अनकन्टार पाखा पखेरा बीचमा कटेरी गाउँ छ । जीवनका यी चार दशक समय पार गर्दै गर्दा उनले धेरै उकाली ओराली र घुम्तीहरु पार गरे । खोल्सा र डाँडा पखेराका यात्राले मात्र के पुग्थ्यो जिन्दगीमा । उनले समुन्द्र समेत पार गरे । चार दशक बढिका जीवनमा उनको एक दशक बढिको उमेर त प्रदेशमा बित्यो । भर्खरको भर्भराउँदै वैशमा उनी मलेसिया पुगे ।
२२ वर्ष पुगेर २३ वर्ष लाग्दा मलेसिया पुगेका उनले २ वर्ष मलेसियामा बिताए । मलेसियाबाट फर्केपछि ५÷६ वर्ष काठमाडौंमै भौतारिए ।
काठमाडौंमै रहँदा त्यहीबाट दक्षिण कोरिया जाने मौका जु¥यो । उनले १० वर्ष दक्षिण कोरियामा बिताए । सन् २००५ मा दुई वर्षका लागि भनेर दक्षिण कोरिया पुगेका थिए चूडामणि । तर सरकारले इपिएस प्रणाली लागु गरेपछि उनीहरुको भिजा इपिएसमा परिणत भयो । त्यसले गर्दा उनले १० वर्ष कोरियामा बिताए । कोरियामा पुगेपछि राम्रो कमाइ भयो । काठमाडौंमा घर किने । सपरिवार त्यतै बस्न थाले । पछि दुई छोरा विदेश पठाउँदा काठमाडौंको घर बेचे । अनि गाउँको बसाइँ सुरु भयो ।
उनी गाउँ फर्किदा राज्यको पुनः संरचना भएर देशमा तीन तहको सरकार बनेको थियो । उनी जन्मेको गाउँ तमानखोला गाउँपालिकाको वडा नम्बर २ मा समावेश भयो । पालिकाका मुकाम बोङ्गादोभान बजार । मुकामबाट उनको घर पुग्न झण्डै दुई घण्टा पैदल हिँड्नुपर्ने अवस्था कायमै थियो । यति हुँदा हुँदै पनि उनी गाउँमै फर्के र गाउँमै खेतीपातीको काम गर्न थाले । ग्रामीण जीवन, सबैजसो खेतीपाती र पशुपालनसंग जोडिएकै हुन्छन् । तर चूडामणिलाई भने खेती पनि फरक व्यावसायिक ढंगले गर्नुपर्ने थियो । उनले त्यो सुदुरको गाउँमा टनेल निर्माण गरेर व्यावसायिक रुपमा तरकारी खेती गर्न थाले । खेतीका लागि डायमन्ड एग्रो फार्म प्रा.लि. नाम संस्था दर्ता गरे ।

२३५० मिटरको उचाइमा उनले टनेल स्थापना गरेपछि आफ्नो चाहाना अनुसारको तरकारी बाली उत्पादन गर्न थाले ।
मलेसियामा बस्दा खेतीमै काम गरेकाले उनलाई त्यसबारेमा धेरथोर ज्ञान थियो । त्यसले पनि सहयोग प-यो । खानेपानीको प्रशस्त स्रोत भएका कारण सिंचाइको समस्या थिएन । उलने थोपा सिंचाइको विधि प्रयोग गरेर कृषि कर्म अगाडि बढाए । विस्तारै उनको कर्मले प्रतिफल दिन थाल्यो । सुरुवातमा १२÷लाख खर्च गरेर टनेल तथा थोपा सिंचाइ तयार गरेपछि उनले गोलभेडा, काउली, बन्दा मूला, खुर्सानी लगायतका तरकारीजन्य वस्तु उत्पादन गर्न थाले ।
करिब चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती सुरु गरेपछि राम्रो आम्दानी हुन थाल्यो । पछि गण्डकी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत केही अनुदान दिएपछि उनले अहिले अरु दुई वटा टनेल थप गरेर कृषिलाई विस्तार गरेका छन् । उनी भन्छन्,‘जीवनको धेरै ऊर्जाशील समय विदेशमा खर्चिएँ, नेपालमै केही गरौं भन्ने सोंच त्यो बेला पनि थियो तर लगानी गर्ने पैसा थिएन । गाउँमै केही गर्छु भन्दा कसैले दुई पैसा पत्याउँदैनथे त्यसैले प्रदेश जानुप¥यो ।’ स्थानीय सरकारले गाउँ गाउँमा मोटरबाटो खन्ने कामलाई तिव्रता दिएपछि अहिले गाउँसम्म मोटरबाटो पुगेको छ । बोङ्गादोभानबाट अहिले आधा घण्टाको समयमा उनको गाउँसम्म पुगिन्छ ।
विगतमा कृषि उपज र सामग्री खच्चडको सहायताले ओहोरदोहोर गराउनपर्ने बाध्यता रहेको उनी सम्झन्छन् । ‘त्यो बेलासम्म बोङ्गादोभानसम्म गाडीमा सामान ल्याएर यहाँसम्म ल्याउँदा खच्चडलाई बोकाउनुपर्ने अवस्था थियो,’ उनले भने,‘अहिले मोटरबाटोले सहज भएको छ ।’ त्यो बेला उनले गाउँमा व्यावसायिक कृषि कर्म गर्छु भन्दा धेरैले पत्याउदैनथे । खेतीपातीबाट पनि आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सोंच गाउँमा विकसित भएकै थिएन । अहिले उनको पदचाप पछ्याउँदै धेरैले टनेलमा कृषि कर्म गर्न थालेका छन् । गण्डकी प्रदेश सरकारको नमुना कृषि गाउँको रुपमा छनोट भएपछि त अहिले त्यो ठाउँमा टनेलको संख्या ५० को हाराहारीमा पुगेका छन् ।
‘त्यो बेला कसैले पत्याएनन्, अहिले धेरै यही काम गर्न थालेका छन्,’उनी भन्छन्,‘मलाई असाध्यै खुसी लागेको छ । गण्डकी प्रदेश सरकारे कृषि नमुना गाउँ घोषणा गरेपछि धेरैले यो काम गर्न थालेका छन् ।’ उनका दुई छोराहरु विदेशमा अध्ययनरत छन् । उनको कृषि कर्मलाई श्रीमतीले साथ दिएका छन् । ‘अहिले गाउँमा बुढाबुढी बसेर खेती गरेका छौं, चालिस केटसी रमाउँला भन्ने गीत हामीलाई मिलेको छ,’ उनी मुसुक्क मुस्काउँछन् । गाउँमै बसेर खेतीपातीमा रमाउँदै गर्दा उनलाई आनन्द लाग्छ । ‘गाउँको स्वच्छ हावापानी, आफन्तहरुको बीचमा काम गर्नुको मजा नै बेग्लै छ,’ उनले भने,‘गाउँघरको अर्गानिक खाना खायो, उकाली ओराली ग¥यो । ज्यान पनि स्वस्थ हुने ।’

अहिले उनको दुई वटा टनेलमा स्ट्रबेरी फल्न थालेका छन् । उनी भन्छन्,‘मैले दुई वर्षदेखि यहाँ स्ट्रबेरी परीक्षण गरेको थिएँ, राम्रो हुने देखिएपछि दुई वटा टनेलमा गरी पाँच सय हाराहारीमा स्ट्रबेरीको विरुवा लगाएको छु । अहिले उत्पादन दिन सुरु गरेको छ ।’ यस पटक परेको बाक्लो हिमपातले उनले तीन सय विरुवा स्ट्रबेरी लगाएको टनेल भत्काइदिएको छ । जसले गर्दा उनलाई ठूलो क्षति पुगेको छ । ‘दुई लाख ३० हजार खर्च गरेर बनाएको टनेल कामै नलाग्ने गरी भत्किएको छ, त्यहाँभित्र तीन सय बोट स्ट्रबेरी भर्खर फल दिन थालेका थिए,’ उनी भन्छन्,‘मैले करिब करिब लगानी उठाएर अब नाफामा पुग्छु भन्ने लागेको थियो । यही बेलामा प्रकृतिले दुःख थियो । कति स्ट्रबेरी जोगाउन सक्छु भन्ने टुंगो छैन ।’
उनले बोङ्गादोभानसम्म गाडीमा स्ट्रबेरीको विरुवा लगेपछि घोडामा बोकाएर गाउँमा पु¥याएका थिए । त्यो बेला गाउँसम्म विरुवा पु-याउँदा एउटै विरुवाको तीन सय रुपैयाँ मूल्य परेको थियो । अहिले स्ट्रबेरीको बजार मूल्य सात रुपैयाँ किलो पर्छ । स्ट्रबेरीको बजार मूल्य पनि राम्रो भएको र राम्रो उत्पादन हुने भएपछि आफूले स्ट्रबेरी लगाएको उनी बताउँछन् । अहिले गाउँभरी नै व्यावसायिक कृषि कर्म लागेपछि चूडामणि खुसी छन् ।
समय परिवेशले प्रदेशमा पु¥याए पनि उनी त्यो अगाडि सामाजिक र राजनीति क्षेत्रमा सक्रिय थिए । जनजागृति माविमा कक्षा ८ पढ्दै गर्दा २०४८ सालमा उनी नेपाल विद्यार्थी संघका इकाई अध्यक्ष भएका थिए । पछि उनी क्षेत्रीय अध्यक्ष भए । विदेशमा रहँदा पनि विभीन्न संघ संस्थाहरुमा सक्रिय भएर लागे । अहिले उनी नेपाली काँग्रेस बागलुङको जिल्ला सदस्य पदमा छन् ।
राजनीतिमा लाग्ने हरेक व्यक्ति उत्पादनसंग जोडिनुपर्ने उनी बताउँछन् । ‘राजनीति पेशा होइन सेवा हो, त्यसैले पनि राजनीति गर्नेहरुको आफ्नो खर्चका लागि उत्पादनमूलक क्षेत्रमा लाग्नु जरुरी छ,’ उनले भने ।