साहित्य

प्रिय ढोरपाटन

प्रिय ढोरपाटन

  • श्रावण ३१, २०८० बुधवार
  • ०८:२४:१२ बजे
  • 56.8K
    SHARES
  • प्रिय ढोरपाटन

    प्रिय ढोरपाटन
    तिमीलाई सोध्न मन छ ?
    रङ्गीचंगी फूलहरूको सारी अनि
    शिरमा धप्पक बुकी फूल 
    सिउरिएर बसेकी तिमी
    मनका तन्नेरी नै नभेटी 
    कति पटक ओइलाएकी छौ ?
    घोडा चेढेर राजकुमार 
    लिन आउने आशामा
    हिउँको सेतो घुम्टो ओडेर
    लजाउँदै बसेकी तिमी
    कसैको आँखामा कैद नै नभई
    कति पटक यसै पग्ली गएका छौ ?

    आज हेर त 
    तिम्रो बैंशको रापले
    क्या मज्जाले तटाई रहेछ
    सामाजिक सञ्जालका भित्ताहरू
    तिमी सजिईरहेकी छेउ
    रङ्गीचङ्गी फुलाहरुमा
    हुलका हुल भमराहरु
    घुमी रहेछन्, हातमा क्यामेरा लिएर


    तर तिमी मख्ख नपर ल !
    जब मौसमसँगै तिम्रा फूल
    ओइलिएर झर्छ नी
    घुम्दैनन भमराहरू,
    देउरालीमा ध्वजा बाँधेर
    सुसेली हाल्दैनन् तन्नेरीहरु
    तिम्रा हिउँका पछ्यौरी तान्दै
    झ्याउरे गाउन आउँदैनन्
    लोक्कलमा लठ्थिएका गिताङ्गेहरु
    काठको साङ्गोमा बसेर
    तिम्रा जवानीको बयान गर्दैन कसैले
    अनि सुन त 
    तुवाँलो लागेको बुकिका फाँटहरुमा
    तिम्रा हात समाएरसँगै हिँड्दैनन् कोही
    तिमी एक्लै रुझ्छौं बर्खे झरीहरुमा
    तिमी एक्लै हुन्छौं हिउँदे तुसारोहरुमा 


    प्रिय ढोरपाटन
    तिमी सिकार मात्र भयौ
    आरक्ष कहिलै भएनौ
    तिमी मागी खाने भाँडो मात्र भयौ
    विकास कहिलै भएनौ
    तिम्रा गर्भमा हुर्किएका
    नाउर र झारलहरु
    विदेशीका सिकार भए
    विदेशीले तिरेको राजस्व
    सरकारको सिकार भयो
    यहाँका जनता सधै 
    गरीबीका सिकार भयौं
    अनि तिमी दुर्गमता र
    अविकासको सिकार भयौ
    नत्र हेर त 
    संसारले देख्न पर्ने तिमीलाई
    सरकारले किन कहिले नदेखेको होला ?


    तिम्रो नाम बेचेर
    सत्तामा पुगेकाहरुले
    राजनीतिक दलको चस्मा
    उत्तरगंगा नदीमा पखालेर 
    लगाएको मात्र भए पनि
    तिमीमा देख्ने थिए 
    पर्यटनको संभावनाहरु
    बजेटको चाबी लिएर
    खोल्ने थिए विकासका ढोकाहर
    अनि तिमी 
    गनिन्थे स्वर्गको टुक्राहरुमा
    चुलिने थियो तिम्रो चर्चा,
    भित्रिने थिए लाखौं पर्यटक
     

    विदेशी सिकारीले 
    अखेटाे उपहारको अनुमति लिदा 
    नाउरको सिङमा सिउरिएर
    यहाँको सुन्दरता पठाईदिउँ न हुँदैन ?
    झारलको छालामा बेरेर  
    एक अँगालो माया पठाइदिउँ न हुदैन ?
    नेपाल सरकारलाई चाहिँ 
    एउटा दुरपिन पठाइदिउँ 
    जस्ले भिउ टावरबाट
    ढोरपाटनको खाल्डो परेको
    हिलाम्य बाटोहरु देखोस् 
    दुर्गमता सँगै रोकिएका
    सम्भावनका पाटोहरु देखोस् 


    अनि 
    हामी पर्यटकसँगै 
    फागुनेको फाँटमा फूल हेरेर 
    आफै लाई बिर्सिउला 
    जलजलाको जमीनलाई नरम 
    सिरानी बनाएर
    बादलको सिरक मुनि
    स्वर्गको सपना देखौंउला ।

  • सम्बन्धित विषय:

  • # ढोरपाटन

  • लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार