विचार

युद्धको चपेटाले च्यापिएका ढोरपाटनका तिब्बती शरणार्थी

युद्धको चपेटाले च्यापिएका ढोरपाटनका तिब्बती शरणार्थी

  • आषाढ ३०, २०८२ सोमवार
  • ०९:४७:३४ बजे
  • 10.1K
    SHARES
  • युद्धको चपेटाले च्यापिएका ढोरपाटनका तिब्बती शरणार्थी

    कुनै एक देशका नागरिकलार्ई अर्कोे देशले आफ्नो देशमा आश्रय दिन्छ भने त्यस्ता नागरिकलाई शरणार्थी भनिन्छ । शरणार्थी अर्को राष्ट्रमा शरण खोज्दै जाने गर्छन् । देशहरु बीच युद्ध, गृह युद्ध, राजनैतिक द्वन्द्व, प्राकृतिक प्रकोप, जातीय द्वन्द्व, धार्मिक तथा साम्प्रदायीक द्वन्द्व जस्ता विविध कारणले एक देशका नागरिक अर्को देशमा शरणार्थी बन्न बाध्य हुन्छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका अनुसार संसारभर ४२.७ मिलियन शरणार्थीहरु छन् । हाम्रो देश नेपालमा पनि भुटानी र तिब्बती शरणार्थीहरु अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । 

    विगतमा नेपालीहरु शरणार्थी भई अन्यत्र गई बसेको देखिदैन् । देशमा चलेको दश वर्षे युद्धमा समेत देश नछोडेका नेपालीहरु पछिल्लो वर्षहरुमा भने अमेरिका र युरोप महादेशका गरिब देशहरुमा समेत शरणार्थी बन्न लालायित छन् । हामी नेपाली अंग्रेजी भाषालाई अलिक बढी प्यार गर्छौ क्यारे । त्यसैले युरोप र अमेरिकामा शरण खोज्दै गएकाहरु आफुलार्ई शरणार्थी भन्न लाज मान्छन्, म फलानो देशको रिफ्युजी भै बसेको छु भन्दै छाती फुलाउछन् । छिट्टै आरसी (रिफ्युजी कार्ड) आउँछ भन्दै खुसी हुन्छन्, कैयौं नेपालीहरु । 

    के देशमा द्वन्द्व छ ? छैन । कुनै जातीय, धार्मिक तथा साम्प्रदायिक द्वन्द्व भएर हो ? होइन । गृह युद्ध भएर हो ? त्यो पनि होइन् । कि प्राकृतिक प्रकोपले गर्दा हो ? होइन् । तर पनि शरणार्थी बन्न चाहनेहरुको लर्को दिनानुदिन बढिरहेको छ । कानुनी र गैर कानुनी तवरले लक्षित देशमा पुगि शरणार्थी बन्नेहरुमा धेरैजसो त शसस्त्र द्वन्द्व प्रभावित जिल्लाहरु रुकुम, रोल्पा र बागलुङ तिरका छन् ।  युद्ध ताका माओवादी र राज्य पक्ष बिच चपेटामा परेको समयमा समेत घर नछोडेकाहरु शरणार्थी बन्नलार्ई ज्यान हत्केलामा राखी करोडौँ खर्चिन तम्सिन्छन् नेपालीहरु । 

    आजको बसाइँमा ज्यानको प्रवाह नगरी महिनौँ लगार्ई करोडौ खर्चेर अमेरिका र युरोपका गरिब मध्येका देशहरुमा बरालिने नेपालिहरुको कुरा हुने छैन । बाध्य भई जन्मभूमि छोड्नुपरेको ढोरपाटनमा रहेका तिब्बती शरणार्थीहरुको बारेमा चर्चा गरिने छ । सन् १९५० को दशकमा तिब्बत र चिन बीच राजनैतिक द्वन्द्व चर्कियो । तिब्बतका धर्मगुरु दलार्ई लामा सन् १९५९ मार्च ३१ मा तिब्बत छोडी भागेका थिए । उनी भारतको शरणमा गए । हालसम्म पनि भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । तत्कालिन समयमा ६० लाख जनसंख्या भएको देश तिब्बतमा १ लाख बढी तिब्बतीहरुले देश छाडेका थिए । आठ हजार ५०० सेना रहेको तिब्बतले चिनको सामु लड्न सकेन । स्वतन्त्र तिब्बत देशको रातारात नामो निशाना मेटाईदियो विशाल देश चिनले । झण्डै तीस हजार जति तिब्बती मायुल भनिने देश नेपालमा सुरक्षाको खातिर आएका थिए । (तीब्बतीहरूले नेपाललाइ मायुल भन्थे गर्थे)

    दलाइ लामा भागेसँगै उनका अनुयायीहरु, कोही चिनियाँ सेनाको त्रासले त कोही चिन बिरोधी विद्रोही चेत भएकाहरुको जत्था हुलका हुल नेपाल प्रवेश गर्दै थियो । नेपालको हिमाली भेगमा बिब्बतीहरु बस्न थालेपछि नेपाललार्ई टाउको दुखाईको विषय बन्यो । तत्कालिन राजा महेन्द्रले तिब्बतीहरुलार्ई नेपालमा आश्रय दिने निधो गरे । धेरै पश्चिमा देशले शरणार्थीहरुको व्यवस्थापन कार्यमा सहयोग गर्न थाले । स्वीजरल्याण्डको गैरसरकारी संस्था स्वीस एसोसियसन फर टेक्निकल एसिस्टेन्स नामक संस्थाले शरणार्थीहरुको लागि सहयोगको हात बढायो । उक्त संस्थाले ढोरपाटनमा तिब्बतीहरुलार्ई व्यवस्थापन गर्न लागेको हल्ला फैलिएपछि मुस्ताङमा बसिरहेको एक समूह र अर्को समूह डोल्पा नाका हुदैँ हिउँको कस्टकर बाटो पार गरी सन् १९६१ को डिसेम्बरमा ४५०० मिटर अग्लो जाङ्ला भञ्ज्याङ पार गरि ढोरपाटन आएका थिए ।

    स्वीस भूगर्वविद् स्वर्गीय टोनी हागन र उनको समुहले व्यवस्थापनको जिम्मा पाएको थियो । भूगर्भविद् हागन खोज, अनुसन्धानको सिलसिलामा पोखरा, म्यादी, ढोरपाटन हुदैँ कैयन पटक नेपालगञ्जसम्म पुगेका थिए उनी । भूगर्वको खोजी गर्न नेपाल आएका हागन भूगर्वको अनुसन्धान गर्न छोडी तिब्बती शरणार्थी व्यवस्थापन कार्यमा खटिएका थिए । खेती गर्न मिल्ने प्रसस्त जमिन, मानव बस्ती कम भएको धौलागिरी हिमालको दक्षिण भेगमा प्रसस्त धान, मकै, गहुँ, कोदो उत्पादन हुने भएकाले तिब्बतीहरुलार्ई खुवाउन सकिने र ढोरपाटन तिब्बतसँग हावापानी मिल्ने भएकाले हागनले पुनरर्वासको लागि उपयुक्त स्थान ठानेका थिए । उनले ढोरपाटनमा तिब्बती शरणार्थीहरुलार्ई राख्न तत्कालिन श्री ५ सरकार सामु प्रस्ताव राखेका थिए । सुरुवाति समयमा ८०० जना शरणार्थीहरु राखिएको थियो । टोनी हागनले ‘हिमालयन किङदम अफ द नेपालमा’ लेखेका छन् ।

    शरणार्थीहरु उच्च वर्गका व्यक्तिदेखि, विभिन्न तहका लामा, कृषक, पशुपालक, व्यापारी, भिखारी घुमन्ते, बेरोजगार, भरिया आदि पृष्ठभूमि भएका मानिसहरु आएका थिए । धेरै शरणार्थीहरु आफुले बोकेको सामानबाहेक केही नलिई आएका थिए । खासगरि नेपाली सिमानाबाट धरै टाढा बस्नेहरु । समयमै घर छोडी भाग्ने र सिमाना नजिक बस्नेहरुले भने आफुसाथ भएको गरगहना, घरका सामान, गलंैचा, भाडाँकुडा र वस्तुभाउसमेत लिएर आएका थिए । तर प्रायः सबै जनाको हातमा घुमाउने माने, धार्मिक महत्वका वस्तुहरु, थाङ्का, भगवानका मुर्तिहरु, पुराना हस्तलिखित ग्रन्थहरु साथमा लिएर आएका थिए ।

    जसमध्ये ३५० जना डोल्पा नाका हुदैँ आएका थिए भने बाँकी मुस्ताङमा बसी त्यहाँका स्थानीयहरुसँग द्वन्द्व भएपछि आएकाहरु थिए । ढोरपाटनमा रहेका शरणार्थीहरुमा कोही डोल्पबाट आएकाहरु हुन् भने कोही मुस्ताङ हुदै आएकाहरु हुन् । तिब्बती शरणार्थी वाङ्डु छिरिङ (वर्ष ८०) भन्छन्, “डोल्पा नाका भएर आएकाहरुले ३५ वटा जति याक र चौरी साथमा लिएका थिए । लामो समय पाले । वर्षादमा जलजला लगेर पाल्थे भने हिउँदमा ढोरमा पाल्थे । मुस्ताङबाट आएकाहरुले भने केहीले साथमा घोडा, लत्ताकपडा र बन्दोबस्तीका सरसामान ल्याएका थिए ।” 

    सन् १९६२ को मे महिनामा ढोरपाटनमा रहेका शरणार्थीहरु कोही तराई त कसैलार्ई पोखरा लगियो । त्यसो गर्नुको प्रमुख कारण थियो ढोरपाटनको रासन ढुवानीको लागि प्रयोग गरिएको रेडक्रसले ओसारपोसार गर्दै गर्दा उत्तरी भेगमा खाम्पा विद्रोहीले तालिमका लागि सिआईएले जहाजमा हतियार तस्करी गरी खाम्पाहरुको लागि तालिम गराई रहेको समाचार अखबारहरुले छापेका थिए । त्यसपछि केही समय प्लेनबाट रासन ढुवानी बन्द नै गरियो । त्यस ताका सिङ्गल इन्जिनवाला जहाज चल्थ्यो । पाखाथर तलबाट उडान र अवतरण गथ्र्यो जहाज । चौरमा अझै पनि एयरपोर्ट वरपर तारबार गरिएको छ । अर्को कुरा ढोरपाटनमा शरणार्थीहरु व्यवस्थापन गर्न खटिएको समुहमा आन्तरिक मनमुटाव र कुरा नमिल्दा अन्यत्र सारिएको थियो । ढोरपाटनको स्वस्थकर वातावरणमा तङ्ग्रिन थालेका तिब्बती शरणार्थीहरुलार्ई पोखरा जस्तो गर्मी ठाउँमा जान नचाहेकाले तिनीहरुलार्ई जान बनाउन आठजना प्रहरीलार्ई जहाईजबाट ढोरपाटन लगिएको थियो । टोनी हागन – (हिमालयन किङदम अफ द नेपालमा )

    पोखरा र तराई लगिएका तिब्बती शरणार्थीहरु गर्मीको कारण भटाभट बिरामी हुन थालपछि केही महिनापछि पुनः ढोरपाटन फिर्ता गरिएको थियो । डोल्पा नाका भई आएकाहरु कोही भारतको हिमाञ्चल प्रदेशको कुलमनाली गएका थिए । स्वीस रेडक्रसको सहयोगमा पाखाथर, छेन्टुङ भार्टे र एकखुट्टेमा तीन ठाँउमा क्याम्प खडा गरियो । क्याम्पको नाम नेर्जेलिङ शरणार्थी क्याम्प हो । टोनी हागन ‘हिमालयन किङदम अफ द नेपाल’ अनुसार, ढोरपाटन आएका ८०० शरणार्थीहरुमध्ये ४३७ शरणार्थीहरुलार्ई ढोरपाटनमा पुनर्वास गरिएको थियो ।

    स्थानीय धनप्रसाद अदै तिब्बतीहरु ढोरपाटन आउदाँको सुरुवाति दिनहरु यसरी सम्झिन्छन्, “बख्खु र जामा लगाएका हुन्थे । छोरा मान्छेहरुले पनि महिलाले जस्तरी कपाल बाटेका हुन्थे । मान्छे देख्दै डरलाग्दा ठुला । हेर्दै फोहोरी देखिन्थे । हातमा माला जप्दै नबुझिने भाषामा ओ माने पेमे हु .............के के बोल्दै गनगन गर्थे । मराङे ढोर ठुलचौर पुछारमा गुम्बा थियो आजकाल ढुङ्गाको थुप्रो मात्रै छ । त्यहीँ दिनभरी माने पेमे भन्दै घुमिरहन्थे । वरबाट परैसम्म लम्पसार गर्दै निधार ठोक्दै पर पुगेर माथि हेर्दै दुई हात जोडेर माथि आकाशतिर फर्किन्थे । चाडामा (निधार) आलु जस्तो राटै तुतुल्का बनाएका हुन्थे । जति ठुलो निधारमा टुटुल्का भयो त्यति नै धर्म हुनेमा उनीहरु विश्वास गर्थे । उनीहरुले बोलेको भाषा केही बुझिन्थेन । ‘आमा भोक लागो ’भन्न जानेका थिए । काँखीमा थाल च्यापेर घरघरमा ‘आमा भोक लागो’ भन्दै आउँथे । बुकी गोठसम्मै पुग्थे कोही त । केटाकेटी हामी ति भोटेहरु देख्यो कि भाग्थ्यौ । सातो नै जाने नि ति नौला मान्छे देख्दा त । दुई बर्खा त खुबै सताए भोटेहरुले । ( तिब्ब्तीहरुलार्ई स्थानीयहरु भोटे भन्ने गर्दछन् ।) पछि त उनीहरुलार्ई विदेशी सरकारले हेर्न लागेपछि नेपालीहरु भन्दा धनी पो भए त । हिजोआज सबै भोटेहरु धनी भएका छन् । प्रायः काठमान्डौं र पोखरा बस्छन् । तिनका छोराछोरी ठुल्ठुला देशमा छन् रे, कहिलेकाहीँ मात्रै आउछन् घुम्न ।”

    स्वीस संस्थाले पुनर्वास गरेसँगै विभिन्न दातृ निकायहरुले सहयोग गर्न थाले । कुनै समय ढोरमा उत्पादन हुने गलैचा युरोपको विभिन्न देशहरुमा पुग्थ्यो । बढी त जर्मनीमा निर्यात हुन्थ्यो । ढोरपाटनमा उत्पादन हुने गलैचा नेपालकै उत्कृष्ट मध्येमा पथ्र्यो । टोनी हागनले, “ढोरपाटनमा नेपालीलार्ई तिब्बतीले गलैचा उद्योग उपहार दिए सरह भयो ।” भनेका थिए । तर अहिले गलैंचा उद्योगको नामोनिशाना छैन् । तत्कालिन समयमा नेपालीहरुले फाईदा लिएका  थिए । गलैचाँ उद्योग सञ्चालमा आएपछि तिब्बती सँगै नेपालीहरुले रोजगार पाएका थिए । स्वीस संस्थाले स्याउ, ज्वाटो, उवा र रातो आलु लगाउने कार्य सफल भएसँगै नेपाली समुदायले पनि ती उत्पादनमा विस्तार गर्न थाले । जुन रातो आलु अहिले ढोरपाटनमा ब्राण्ड जस्तै भैसकेको छ । सिजनको बेला ती आलु काठमान्डौं ,पोखरा तथा बुटवलसम्म पुग्ने गर्छ । दहखर्क (बुकी) मा केही वर्ष सञ्चालन गरिएको चिज फ्याट्रीमा स्थानीय गोठालाहरुले दुध बेची राम्रो आम्दानी गरेका थए । ढोरपाटन बासीहरुले  घोडा पाल्न थालेको पनि तिब्बतीहरु ढोरपाटन आएपछि नै हो । 

    सुरुवाती समयमा नेपाली र तिब्बती बिच द्वन्द्व चर्किएको थियो । जानकार बुढापाकाहरु भन्छन्– “चैत्रमा गोठालाहरु गाईवस्तु लगि ढोर जादाँ अनौठा मान्छेहरु आफ्नो गोठमा देख्दा छक्कै परेका थिए रे बाउ बाजेहरु । गाउले र भोटेहरु बीच घमसान लडाईसमेत भएको थियो । पछि एकअर्काको घरबेटी भएका रे । पछि मेलमिलाप राम्रो भएको रहेछ ।” ढोरपाटनमा रहेका तिब्बत र नेपाली बिच घरबेटी साइनोले सम्बोधन गर्ने चलन हिजोआज पनि छ । जुन नेपाली समुदायको मितेरी साइनो सरह हो । घरबेटी बन्ने चलनले नेपाली र तिब्बती बिच गहिरो अर्थ राख्छ । तिब्बती शरणार्थी पुनर्वास कार्यक्रमपछि नेपाली समुदायले प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाभ लिएका थिए । तिब्बती शरणार्थी र ढोरपाटनवासी बारे स्वगीर्य समाजशास्त्री डा. हर्क गुरुङ सन् १९६६ मे २३ मा ढोरपाटन पुगेको बेला ‘मैले देखेको नेपाल ’ पुस्तकमा लेखेका छन्, “ गार्ईवस्तु चराउने र कृषिका उदेश्यले बसोबास गर्ने र तिब्बती शरणार्थीहरु बिच ढोरपाटनमा सङ्घर्ष चल्यो र केही वर्षमा टुङ्गियो । बुटवलतिर निकासी हुने केही भारी घिउ गुमायो बदलामा ढोरपाटनलार्ई समृद्धिशाली बनाउने समुदाय पायो ।” देशमा दश वर्ष चलेको माओवादी द्वन्द्वको कारण ढोरपाटनमा रहेका तिब्बती र नेपाली दुबै समुदाय छिन्नभिन्न भए ।   

    खाम्पा गुरिल्ला युद्ध र दश वर्षे माओवादी युद्ध
    तिब्बतको खाम प्रान्तमा बसोबास गर्नेहरुलार्ई खाम्पा भनिन्थ्यो । खाम प्रान्तका मानिसहरु जमिनदार, सम्पन्न व्यापार ब्यबसायमा लागेका र सेना, प्रहरीमा संलन्न हुन्थे ।  त्यस्तै ग्रामीण क्षेत्रका गरिब, फिरन्टे, भेडा, चौरी पालेर घुमन्ते पशुपालन गर्नेलार्ई ढोक्मा भनिन्थ्यो । नेपाल आएका अधिकाशं खाम्पा र ढोक्मा थिए । सेना प्रहरीमा लागेका खाम्पा समुदायले सङ्गठित भई नेपाल र भारतमा चिनियाँ सेनासँग स्वस्फुर्त लड्न स्वगिर्यस्वयंसेवी खाम्पा विद्रोही समुह बनाएका थिए । मुख्यालय मुस्ताङको कैसाङमा थियो । विद्रोही गुरिल्ला सेनाहरु १६०० भन्दा बढी थिए । उनीहरुलार्ई तालिम अमेरिकी गुप्तचर सस्था सिआईए (सेन्ट्रल ईन्टेलिजेन्स एजेन्सी) ले दिने गथ्र्यो । सिआईए ले कम्युनिष्ट चिनलार्ई दबाबमा राख्न र तिब्बती राजनिती स्वतन्त्रताको मुद्धालार्ई मर्न नदिन भारत डेहरादुनको चक्रता र पछि अमेरिकाको क्वलोराडोमा तालिम दिएको थियो । आधुनिक हातहतियार सहयोग गर्यो ।

    नेपालको उत्तरी हिमाली जिल्लामा बसी १४ वर्षसम्म ति गुरिल्लाहरुले चिनियाँ फौजसँग गुरिल्ला शैलीमा लडे । चिनीयाँ कम्युनिष्ट कार्यकर्ताहरुले चिनमा अपनाएको गुरिल्ला शैली अपनाएका थिए खाम्पा विद्रोहीले । खाम्पा गुरिल्ला नेताहरु वाङ्डु ग्याटोट्साङ (गे वाङ्डी) र गे वासी बिच मनमुटाव भयो । दुई समुहमा विभाजित भए । सिआईए ले सहयोग गर्न छोड्यो । खानाको अभावमा कैयन दिन भोकभोकै लडे खाम्पाहरुले । चिन विरुद्ध लड्न हिडेकाहरु आपसमा लड्न थाले । एकले अर्को समूहलार्ई कारबाही गर्न दोहोरो भिडन्त सम्म गर्न थाले । 

    पत्रकार लेखक सुधिर शर्मा आफ्नो पुस्तक ‘भिक्षु व्यापार र विद्रोहमा लेख्छन्,
    दलार्ई लामाले आफ्नो ज्वाइँ एवं सुरक्षा प्रमुख फुन्त्सो ताशीलार्ई नेपाल पठाए । उनी दलार्ई लामाको २० मिनेट लामो अडियो सन्देश लिएर आएका थिए, जसमा हतियार बुझाएर आफ्नो उदेश्य प्राप्तिका लागि शान्तिपूर्ण बाटो रोज्न आवान गरिएको थियो । टासीले त्यसलार्ई क्याम्प क्याम्पमा गएर सुनाए । आफ्नै धर्मगुरुको आवाजमा त्यस्तो आग्रह सुनेपछि अधिकाशं खाम्पाले आत्मसमर्पणको बाटो रोजे, आधा दर्जनले त आत्म हत्यासम्म गरे । उनीहरु न आत्मसमर्पण गर्न सक्थे न दलार्ई लामाको आदेश उल्लङ्घन गर्न सक्थे,न त बन्दुक बुझाउन । त्यसैले बरु आफ्नै जीवन त्याग्ने बाटामा लागे । कोही नदिमा हाम फाले कसैले आफैलार्ई गोली हाने ।   

    गुरिल्ला योद्धाहरु दुई समुहमा विभाजित भएपछि गे वासी समुहले नेपाल सामु हातहतियार बुझाएर आत्मसमर्पण गर्यो । गे वासी समुहले सरकारी संरक्षण पाए ।  नेपालमा अंगिकृत नागरिकता पाए । उनीहरुका सन्तानहरुले वंशजका आधारमा नागरिकता पाए । जोरपाटी, नुवाकोट, तनहुँ, नवलपुरमा जग्गा दिलार्ईयो । हातहतियार बुझाएर आत्मसमर्पण गर्न नखोज्ने वाङ्डी समुह भने चिनसँग लड्ने मनसाय जारी राख्यो । मुस्ताङ, डोल्पा हुदैँ भारत जाने क्रममा नेपाली सेनाको कारबाहीमा परि (सन १९७४ सेप्टेम्बर १५) दाचुर्लाको टिङ्कर नजिकै केही गुरिल्लाहरु सहित गे वाङ्डी मारिए । 

    त्यसताका नेपाल र भारतको सम्बन्ध राम्रो थिएन । भारतले नेपालको उत्तरी सिमनामा भारतिय सेनाको क्याम्प नै खडा गरेको थियो । अर्को नेपालको भूमिमा रहि खाम्पाहरुले चिन विरुद्ध लडेको थियो । भारतले तिब्बतबाट भागेका दलार्ई लामालार्ई सुरक्षा दिएको थियो । राजा महेन्द्रले भारतको दबाबप्रति असन्तुष्ट थिए । चिनसँगको सम्बन्ध मजबुत बनाउन चाहन्थे । उता चिन पनि तिब्बतीहरुले नेपालमा गरेको गतिबिधिप्रति असन्तुष्ट थियो । नेपालमा दबाब दिइरहन्थ्यो । त्यसपछि चिनले नेपाललार्ई आर्थिक सहयोग गर्यो । राजमार्ग बनाउन, विभिन्न उद्योग, कलकारखाना बनाउनमा सहयोग गर्यो । त्यतिबेला नेपाली र तिब्बती गरी झण्डै ९० हजार जनाले रोजगारी पाएको इतिहासमा पढ्न पाईन्छ । राजा महेन्द्रले तिब्बती शरणार्थी नितिमा कडाई गर्न थाले । नेपाल आउने तिब्बतीहरुलार्ई आरसी (सिफ्युजी कार्ड) मा कडाई गरे । दुई समूह गे वासी र गे वाङ्डी बिचको आन्तरिक द्वन्द्व, सिआइएको सहयोग बन्द र नेपाली सेनाको कारबाहीले गर्दा खाम्पा विद्रोहको अन्त्य भएको थियो । 

    ढोरपाटनका तीन जना तिब्बती गुरिल्ला बनेका थिए । स्टेफेन बुजु्रका, कारपाङ नामलाङ र अर्का एक जना थिए । ति मध्ये कारपाङ नामलाङ जिवीतै छन् । उनी हाल तनहँुको डुलेगौडामा रहेको जम्पालिङ टिबेटन शरणार्थी क्यापमा बस्छन् । खाम्पा गुरिल्लाको इतिहास भावी सन्ततिहरुका लागि एकादेशको कथामा सिमित हुनेछ  ।

    तिब्बती स्वयमसेवी खाम्पा गुरिल्ला र माओवादी दश वर्षे द्वन्द्वकालका माओवादी गुरिल्ला बीच गज्जबको केही संयोगहरु छन् । चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परि नेपालमा माओवादी छापामारहरुले चिनियाँ जनमुक्ति गुरिल्ला लालसेनाको शैलीमा दश वर्ष युद्ध गरेका थिए । त्यस्तै चिनको विरुद्धमा तिब्बती खाम्पाहरुले पनि १४ वर्ष त्यही शैली अपनाएर चिन विरुद्ध लडेका थिए । कम्युनिस्ट चिनविरुद्ध लड्न खाम्पाहरुले प्रयोग गरेका २ वटा राईफल मनाङ घर भएका गनेशबहादुर गुरुङबाट १० हजार रुपैयाँमा पुस्पकमल दाहाल (प्रचण्ड) र राम बहादुर थापा (बादल) ले किनेका थिए । जुन हतियार खाम्पाहरुलार्ई (सिआइए) ले गोप्य रुपमा दिएको थियो । माओवादी नेता देव गुरुङले गोरखा लगेका थिए । अनि गोरखाको सिरानचौरमा राईफल, बन्दुक चलाउन र बम बनाउन तालिम गरेका थिए ।

    द्वन्द्वकालमा माओवादीहरुको तालिम केन्द्रनै थियो ढोरपाटन । खाम्पा विद्रोहीहरुले प्रयोग गरेको राईफलबाट माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । कालान्तरमा त्यहीँ माओवादी युद्धको कारण ढोरपाटनमा रहेका तिब्बती शरणार्थीहरु बिस्थापित हुन पुगे । कम्युनिष्ट चिन र माओका सेनाको त्रासले भागेर नेपाल आएका तिब्बती शरणार्थीहरु कम्युनिस्ट चिन र माओको अनुसरण गर्दै नेपालमा उदाएको कम्युनिष्ट पार्टी – माओवादी युद्धको कारण ढोरपाटन बाट लखेटिनु पर्यो । हिजोआज शरणार्थी क्याम्पमा रहेका स्वीस रेडक्रसको सहयोगमा बनेका स्वीस स्टाईलमा बनेका अधिकाशं घरहरु भत्किसकेका छन् । केही जीर्ण अवस्थामा छन् । कुनै घर ,तबेला र गोठहरुको अस्थिपञ्जर मात्रै बाँकी छ । आलु, ज्वाटो, उवा र डन्डु घास रोपिने बारि बञ्जर भएका छन् । स्याउका बोटहर जल मल नपाएर कठाङ्ग्रिएका छन् । छेन्टुङ स्थित भार्टेमा ४ घर परिवार र पाखाथरमा १३ घर परिवार मात्रै बसोबास गर्दछन् । बस्नेहरु तिनै छन् जसले ढोरपाटनलार्ई माया मार्न सक्दैनन् । बुढाबुढी र जो असक्त छन् । 

    तिब्बती शरणार्थी ढोरपाटनबाट विस्थापित हुनको प्रमुख कारण माओवादी द्वन्द्व हो । के देशमा चलेको दश वर्षे द्वन्द्वले मात्रै गर्दा बिस्थापित भएका हुन त ? अर्को बसाइँमा लेख्नेछु । छुटाउनै नहुने कारण हो, सन १९९५ पछि नेपालमा जन्मिएकाहरुलार्ई आरसी ( रिफ्युजी कार्ड ) नदिनु ,नेपालले एक चिन नीति आत्मसात गर्नु ।  अर्को महत्वपूर्ण कारण नेपालले संयुक्त राष्ट्रसघीय शरणार्थी महासन्धि (सन १९५१ ) मा हस्ताक्षर गरेको छैन । जसमा शरणार्थीहरुलार्ई अधिकार र संरक्षणको व्यबस्था गरिएो छ ।  

    ढोरपाटन आएका पहिलो पुस्ताका तिब्बती शरणार्थीहरु अधिकाशं परलोक गइसके । दोस्रो पुस्ताहरु शहर, बजार, युरोप ,अमेरिका छन् । तेस्रो पुस्ताकाहरु ढोरपाटनमा देख्न मुस्किल छ । उनीहरु अबका दिनमा हाम्रो पुर्खाहरुलार्ई आश्रय दिएको भूमी भन्दै ढोरपाटन फर्की जीर्ण क्याम्प, गोठ, तबेला मर्मत गर्न, बन्जर बनेको बारीमा ज्वातो, उवा र रातो आलु रोपि हराभरा बनाउन अनि कठ्याङ्ग्रिएका स्याउका बोटहरुलार्ई पुनः मलजल गर्न आउलान् जस्तो लाग्दैन । कम्तिमा एक पटक पर्यटक भई घुम्नका लागि मात्रै पुर्खाहरुलार्ई आश्रय दिएको थलो भनि ढोरपाटन आउलान कि ? 

  • सम्बन्धित विषय:

  • # तिब्बती शरणार्थी
  • # ढोरपाटन

  • जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार