बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष सम्मानित भएका छन् ।
पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेलेको भन्दै गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङले शिरीषलाई सम्मान गरेको हो ।
संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो ।
काठेखोला—२ भिमापोखरामा आयोजित कार्यक्रममा शिरीषलाई गाउँपालिका अध्यक्ष अमर थापाले नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष टिकाराम उपाध्यायले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको ‘कलगाौरी स्मृति अक्षयकोष–२०७५’बाट सञ्चार (पत्रकारिता) क्षेत्रको विकासको लागि अहमभुमिका निर्वाह गरेकोमा अध्यक्ष शिरीषलाई समान गरिएको गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीले बताए ।
उक्त अक्षयकोष मार्फत काठेखोला गाउँपालिका–२ का जेष्ठ नागरिक ८४ बर्षिय खडक बहादुर थापालाई पनि सम्मान गरिएको छ । संस्थाले गत आर्थिक वर्षमा लाख रुपैयाँ कारोबार गरेको जनाएको छ ।
सहकारीका कोषाध्यक्ष प्रसाद थापाले सहकारीले आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ९७ लाख २८ हजार ७ सय ७४ रुपैयाँ कारोबार गरेको जानकारी दिए ।
२०६४ सालमा स्थापना भएको सहकारीले भीमापोखरामा मुख्य कार्यालय राखि हाल बागलुङ बजारमा सेवा केन्द्र स्थापना गरि दैनिक कारोबार गरिरहेको बताए । सहकारीमा हालसम्म ७ सय ७ जना सेयर सदस्य छन् ।
साधारणसभाको समापन समारोहको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारीहरु नाफामुखि नभइ समाजप्रतिको दायित्व पनि निर्वाह गर्नुपर्ने बताए ।
उनले सहकारीको ७ सिद्धान्त अन्तरगत सामाजप्रतिको दायित्व भएपनि सहकारीहरु सधै नाफामुखि भइरहेको भन्दै त्यसको अन्त्य गरि सम्पूर्ण सहकारीहरुले समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्ने बताए ।
थापाले अब सम्पूर्ण नागरिहरु उत्पादनमा जोडिनुपर्ने उल्लेख गरे । उनले खेतीयोग्य जमिन बाँझो रहेको र उक्त स्थानमा अनावश्यक रुखहरु रहेकाले तिनीहरुलाई कटान गरि सवै उत्पादनमा जोडिन अनुरोध आग्रह गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, सल्लाहकार चन्द्रमणि उपाध्याय, जनकल्याण आधारभूत विद्यालय काठेखोला–१ पालाका प्रधानाध्यापक बद्री
बहादुर भण्डारी, सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष चुडामणी उपाध्याय, समाजकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर थापा, महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमाकुमारी गौतम (सविना), सम्मानित व्यक्तिहरु सोमराज पाण्डेय र नारायण प्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिक साधारणसभाको अवसरमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाममा अग्रमोर्चामा रहि काम गरेका सहकारीका शेयर सदस्य तथा काठेखोला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिअहेब अधिकृत सोमराज पाण्डेय, बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङको तित्याङ स्वास्थ्य चौकीका प्रमुख सिअहेब नारायण प्रसाद पौडेल र बागलुङ नगरपालिकाका सवारी चालक कमल कार्की (रमेश)लाई सम्मानित गरिएको थियो ।
कोरोना महामारीको बेला सामाजिक दायित्व निर्वाह गरि अग्रमोर्चामा रहि काम गरिरहेका आफ्ना शेयर सदस्यहरुलाई सम्मानित गरिएको सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले बताए ।
उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका विच क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन र संक्रमितहरुलाई आइसोलेसनमा पु-याउने काममा खटिएका शेयर सदस्यहरुलाई सम्मानित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
सहकारीले काठेखोलामा जन्मिएर सहकारी क्षेत्रमा र गुहेली सञ्चार सहकारीमा योगदान दिएको भन्दै सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका अध्यक्ष चुडामणि उपाध्याय, उत्कृष्ट बालबचत कर्ता दिव्या पौडेल र सहकारीको शेयर बृद्धिमा उत्कृष्ट काम गरेको भन्दै शेयर सदस्यहरु शशिधर शर्मा, लक्ष्मी हमाल र डम्मर बहादुर श्रीसलाई सम्मान गरेको थियो ।
साधारणसभाले सहकारीका सचिव सुर्य बहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रसाद थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सिता शर्माले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा वाइनटुवाटरको सहयोग र सहकारीको व्यवस्थापन काठेखोला गाउँपालिका–२ भीमापोखराका ७ ओटा विद्यालयलाई हात धुनको लागि स्टन, बाल्टी, गमला र साबुन वितरण गरिएको थियो ।
सहकारीले वाइनटुवाटर मार्फत काठेखोला गाउँपालिकाका २३ ओटा विद्यालयलाई २८ ओटा र बागलुङ नगरपालिका १ ओटा विद्यालयलाई २ ओटा हात धुने स्टन सहितको सामाग्रि वितरण गरिएको सहकारीका अध्यक्ष कार्कीले बताए ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गरेका थिए ।
सहकारीले यस वर्ष एकाईगत साधारणसभा अन्तरगत मंसिर २४ गते बागलुङ बजार र २५ गते काठेखोला गाउँपालिका–३ धम्जमा सम्पन्न गरेको थियो ।
एकाइगत साधारणसभाबाट छनोट भएका प्रतिनिधिहरुले साधारणसभा सम्पन्न गरेका हुन् ।