हेम विश्वकर्मा, बुर्तिबाङ : बाढी पीडितका लागि ढोरपाटन नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले बिहिबार वडा नम्बर ५, ६, ७, ८ र ९ का ९७ घर परिवारलाई प्रति परिवार ५० हजारका दरले पहिलो किस्ताको रकम उपलब्ध गराएको हो ।
राहत रकम उपलब्ध गराउँदै नगरप्रमुख देव कुमार नेपालीले प्राप्त गरेको राहत रकमलाई अन्यत्र खर्च नगरी घरबास निर्माण गर्न पीडित परिवारलाई आग्रह गरे । बाढी प्रभावित परिवारको आर्थिक स्थिति समेत कमजोर भएकाले जथाभावी खर्च नगरी यसलाई सही तरिकाले सदुपयोग गर्नुपर्ने उनको तर्क थियो ।
नेपालीले पीडित परिवारका लागि प्रदेश सरकारबाट हुनुपर्ने सहयोगका लागि पहल गरिरहेको जानकारी दिए । कतिपय परिवारको घर बनाउने घडेरी समेत नभएकाले उनीहरुको व्यवस्थापनका लागि पनि छलफल गरी टुङ्गो लगाउने बताए । विभिन्न संघ संस्थाबाट ढोरपाटन नगरपालिकाको
दैविक प्रकोप राहत कोषमा जम्मा भएको रकमबाट राहत रकम उपलब्ध गराइएको नगर उप–प्रमुख करमती पुनले जानकारी दिइन् । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकम चार किस्तामा दिने जनाएको छ ।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढीले ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का ३७ जनाले ज्यान गुमाएका थिए भने दर्जनौ परिवार विस्थापित भएका थिए ।