प्रधानमन्त्रीको गृहनगरमा बन्ने डेढ अर्बको भ्यू टावरबाट के हेर्ने हो ?

प्रधानमन्त्रीको गृहनगरमा बन्ने डेढ अर्बको भ्यू टावरबाट के हेर्ने हो ?

  • चैत्र ११, २०७७ बुधवार
  • ०९:२३:०० बजे
  • 6.0K
    SHARES
  • प्रधानमन्त्रीको गृहनगरमा बन्ने डेढ अर्बको भ्यू टावरबाट के हेर्ने हो ?

    पुष्प खड्का

    झापा : सामान्यतया भ्यू टावर भन्नेवित्तिकै सूर्योदय, सूर्यास्त, हिम शृङ्खला वा कुनै रमणीय प्राकृतिक दृश्य हेर्ने उपयुक्त ठाउँ भन्ने बुझिन्छ ।

    रमणीय दृश्य अवलोकनका लागि भ्यू टावर चढ्ने गरिए पनि झापाकोे दमकमा निर्माणाधीन भ्यू टावरको अवस्था भने फरक छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको वडा नम्बर ३ दापगाछीमा निर्माणाधीन भ्यू टावरबाट माथिका कुनै पनि दृश्य देख्न सकिँदैन । तराईको समथर भूभागमा निर्माण भइरहेको भ्यू टावरबाट पर्यटकले छेउछाउको फाँटबाहेक अन्य दृश्य देख्न सक्ने छैनन् ।


    भ्याटसहित एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँको लागतमा चीनको जेडसीजीआइइसी र नेपालको आशिष–ओम साईरामले संयुक्तरुपमा टावर निर्माणको काम गरिरहेका छन् ।


    दमक चोकबाट करिब आठ किलोमिटरको दुरीमा निर्माणाधीन भ्यू टावर तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असार २७ गते ठेक्का सम्झौता भएको थियो ।

    सम्झौताको आधाभन्दा बढी समय सकिए पनि हालसम्म ३६ प्रतिशतमात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका इञ्जिनियर सुरेन्द्रकुमार साहले जानकारी दिए ।

    लकडाउनका कारण सोचेअनुरुप काम गर्न नसकिएको निर्माण कम्पनी ओम साइरामका इञ्जिनियर सूर्यनारायण साहले बताए । सम्झौता अवधिभित्र मुख्य संरचना निर्माणको काम सकिए पनि फिनिसिङ लगायत अन्य काम बाँकी रहने उनको भनाइ छ ।

    १८ तला कंक्रिट र सात तला स्टिलको टावर रहने गरी पहिलो तलाको काम सम्पन्न भएको उनले बताए । टावर २५ तलाको हुने भए पनि १८ तलासम्म मात्र पर्यटक जान पाउने इञ्जिनियर साहले बताए ।

    टावरसँगै कम्पाउण्ड वाल, टिकट घर, कोसेली घर लगायत अन्य संरचना निर्माणको कार्य भइरहेको छ । एउटै कम्पाउण्डभित्र टावरसँगै सपिङ मल, व्यावसायिक कम्प्लेक्स, चिल्ड्रेन पार्क, खुला मञ्च, सभागृह आदि रहने उनको भनाइ छ ।

     

     भ्यू टावरको औचित्यमाथि प्रश्न

    पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएर भ्यू टावर निर्माण गर्न थालिए पनि भौगोलिक अवस्थाका कारण अपेक्षित लक्ष्य हासिल गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

    तर, भ्यू टावर निर्माण भइरहेको स्थल दमक–३ का वडाध्यक्ष नविन बराल भने दमक लगायत सिङ्गो झापाको पर्यटन प्रबर्द्धनमा यसले सहयोग पुग्ने दाबी गर्छन् । सोही वडामा रहेको भुटानी शरणार्थी शिविरको ठूलो संख्या हाल विदेशमा रहेको र ३÷४ सय हाराहारीमा शरणार्थीहरु बर्षेनी दमक घुम्न आउने गरेको उनको तर्क छ ।

    ‘भ्यू टावरको निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा निकै ठूलो टेवा पुग्छ,’ बरालले भने, ‘यही क्षेत्रमा लामो समय रहेर हाल विदेशमा रहेका ३÷४ सय शरणार्थी पर्यटकलाई बर्षेनी यहाँ ल्याउन सकिन्छ ।’

    तर, बरालले भनेजस्तो पर्यटकलाई सजिलै लोभ्याएर यहाँ ल्याउन त्यति सहज भने देखिँदैन । स्वदेश तथा विदेशमा रहेका पर्यटक भित्र्याएर दृश्यावलोकन गराउने न कुनै विशेष संरचना छ, न त बस्नलाई स्तरीय होटल नै छन् । दमक तथा आसपासका आन्तरिक पर्यटकको भ्रमणमात्रैले यति ठूलो लगानी रहेको भ्यू टावरको लक्ष्य पूरा हुने देखिँदैन ।

    दमक नगरपालिकाभित्रका अन्य आधारभूत विकास निर्माण सकेर भ्यू टावर निर्माण थालिएको होइन । विकासकै दृष्टिकोणले हेर्ने हो भने दमकमा विशेषज्ञ सेवासहितको ठूलो अस्पतालसमेत छैन । एउटा रहेको सरकारी अस्पताल पनि नाम मात्रको छ । सामान्य बाहेकका स्वास्थ्य सेवा लिनु परे बिर्तामोड, विराटनगर वा धरान जानुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

    दमक क्षेत्रमा कैयन् बाटाघाटा कालोपत्रे गर्न बाँकी नै छ । कतिपय सरकारी विद्यालयको भौतिक संरचनासमेत लथालिङ्ग छन् । यति धेरै विकासका कामहरु बाँकी छँदै भ्यू टावरमा यति ठूलो लगानी हुनुमा केही फरक स्वार्थ रहेको स्थानीयवासीकै गुनासो छ ।

    स्थानीयवासीका अनुसार केही वर्षअघि जग्गा व्यवसायीहरुले माँ पञ्चकन्या हाउजिङ प्रा.लि. का नाममा ११ बिगाहा जग्गा खरिद गरेका थिए । व्यवसायीले भ्यू टावर निर्माणका लागि तीन बिगाहा र स्थानीयबासीले दुई बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

    भ्यू टावर निर्माणअघि प्रतिकठ्ठा तीन लाख रुपैयाँसम्ममा खरिद गरेको जग्गा हाल तीन लाख रुपैयाँ प्रतिधुरमा मोलमोलाई भइरहेको स्थानीयवासी नरेन्द्र गौतम बताउँछन् ।

    निर्माणाधीन भ्यू टावरकै कारण छोटो समयमै त्यस ठाउँको जग्गाको मूल्य २० गुणा बढेको छ । भ्यू टावर निर्माण हुने सुइँको समेत नपाएका स्थानीयवासी भने सस्तो मूल्यमा जग्गा बेचेकोमा पश्चाताप गर्छन् । रातारात करोडपति हुन जग्गा व्यवसायीहरुको योजनावद्ध चालअनुसार यो योजना ल्याइएको हुन सक्ने स्थानीयवासीको आशंका छ ।

    घरजग्गा व्यवसायी कृष्ण खतिवडा नगरपालिकाले भ्यू टावरका लागि कतै निःशुल्क जग्गा नपाएकाले आफूहरुले दिएको बताउँछन् ।

    टावर निर्माण पश्चात अन्य विकासका काम भए पनि वा नभए पनि हाललाई जग्गाको मूल्यवृद्धि हुनका साथै सडक कालोपत्रे हुनेमा आफू विश्वस्त रहेको स्थानीयवासी विमला गौतम बताउँछिन् । ‘भविष्यमा यही हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भनिन्, ‘तर हाललाई घर अगाडिको सडक पिच हुने र जग्गाको मूल्य बढ्नेमा म विश्वस्त छु ।’

    जथाभावी जग्गाको खरिद–बिक्री हुन थालेपछि नगरपालिकाले हाललाई जग्गा बिक्रीमा रोक लगाएको छ । अव्यवस्थित बसोवासलाई रोकेर आधुनिक सहर निर्माणका लागि नगरपालिकाले जग्गा एकीकरण गर्ने सोच बनाएकाले जग्गा बिक्रीमा रोक लगाइएको वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

    राज्यले नै ल्याण्ड पुलिङ गरिदिने र भविष्यमा व्यवस्थित बसोबासका लागि आधार तयार गरिदिने भने पनि कतिपय जग्गाधनीले कुरा नबुझेकाले समस्या भइरहेको उनको भनाइ छ । ‘ल्याण्ड पुलिङ हामी नै गरिदिन्छौँ, जसले भविष्यमा हुने अव्यवस्थित शहरीकरणलाई

     रोक्छ,’ बरालले भने, ‘तर, थोरै जग्गा हुनेहरुले बुझे पनि धेरै जग्गा हुनेहरुले कुरा नबुझ्दा समस्या भइरहेको छ ।’ रातोपाटीबाट साभार

    सम्बन्धित समाचार