कमल पौडेल
बडिगाड गाउँपालिकाको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८÷७९ को लागि ६२ करोड १ लाख २५ हजार बरावरको बजेट नवौं गाउँसभाले पारित गरेको छ । बडिगाड गाउँपालिकाको गाउँसभामा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेट सभाले सर्वसम्मत पास गरेको हो।
जस अन्तरगत बजेट तर्फ चालु तर्फ १० करोड ८३ लाख, सशर्त अनुदान तर्फ २९ करोड २६ लाख र पुँजीगत खर्च तर्फ २१ करोड ९२ लाख २५ हजार विनियोजन गरेको हो। बजेटमा आम्दानी तर्फ आन्तरीक राजस्ववाट १ करोड ३५ लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट ९ करोड ७ लाख ९९ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६६ लाख ३० हजार, नगद मौज्दातबाट ४ करोड ५० लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदान ११ करोड ७८ लाख, प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय सम्मानीकरण अनुदान तर्फ १ करोड ३५ लाख ९६ हजार, संघिय सरकारको ससर्त अनुदान २९ करोड २६ लाख, संघिय सरकारको विशेष अनुदान २ करोड ३७ लाख, प्रदेश सरकारको विषेश अनुदान ६० लाख, संघिय सरकारको समपुरक कोषबाट ६५ लाख र प्रदेश सरकारको समपुरक कोषबाट ४० लाख गरि ६२ करोड १ लाख २५ हजार आय प्रस्ताव पास गरेको हो।
जस अन्तरगत सुरक्षीत नागरिक आवास तर्फ खरका छाना हटाउने कार्यक्रमको लागि २ करोड २५ लाख विनियोजन गरेको छ। बडिगाड गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड १० लाख तथा गाउँपालिका भित्रका सवै वडामा वडा कार्यालय निर्माण सम्पन्न गर्न दुइ करोड ५० लाख वजेट विनियोजन गरेको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संगको सहयोगमा गाउँपालिकाको वडा नं. ३, ७, ८ र ९ मा खानेपानी योजना सञ्चालन गर्न २ करोड ८१ लाख ९८ हजार विनियोजन भएको छ।
वजेटले वाल विकासका सहजकर्ता तथा विद्यालय कर्मचारीको लागि आवश्यक तलवभत्ताको व्यवस्था गरेको छ भने समुदायवाट सञ्चालित वालविकासका सहजकर्ताको लागि पहिलो पटक ५ लाख वजेट विनियोजन गरेको छ।
महिला तथा वालवालिका लक्षित कार्यक्रमको लागि १५ लाख, आदिवासी जनजाती लक्षित कार्यक्रमको लागि १० लाख, दलित लक्षित कार्यक्रमको लागि १० लाख विनियोजन गरेको गाउँपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागि ८ लाख वजेट विनियोजन गरेको छ। त्यस्तै युवा लक्षित कार्यक्रमको लागि १० लाख, अल्पसंख्यक लक्षित कार्यक्रमको लगि ५ लाख, मुस्लिम लक्षित कार्यक्रमको लगि ५ लाख, अपाङगता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि ८ लाख विनियोजन गरेको पालिकाले सहिद परिवार एवं द्धन्द पिडित तथा अति विपन्न परिवारको राहतको लागि ४ लाख वजेट छुट्याएको छ।
बडिगाड गाउँपालिका भित्र पहिलो पटक डम्पिङ साइट निर्माण गर्नको लागि ४० लाख वजेट विनियोजन भएको छ। पूर्वाधार तर्फ सडकमा पुरानोगाउँ फोर्सा सडकको लागि २५ लाख, रणसिंह भेडिखोर सडकको लागि २५ लाख, दर्लिङ निगालपानी सडकको लागि २५ लाख सिरनी शिसाखानी सडकको लागि २५ लाख रकम विनियोजन भएको छ।
स्वास्थ्य तर्फ गाउँपालिकाले ४० लाख वजेट विनियोजन गरेको छ। स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाहरुको लागि विगत देखि दिँदै आएको प्रोत्साहन रकमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।
कृषि तथा पशुपालन र पुर्वाधार विकास बडिगाडको प्रगति एवं समृद्धिको निकास भन्ने नारा सहितको निति तथा कार्यक्रममा अति गरिव परिवारको लागि साझा सुविधा केन्द्र सञ्चालन गर्ने लगाएतका कार्यक्रम समेटेको छ। अघिल्ला वर्षहरुमा लिएको हरेक महिना एक दिन अनिवार्य जनश्रमदानलाई यस वर्ष पनि निरन्तरता दिएको छ। एक घर दश फलफुल वोट, विसंगति विकृति विरुद्धको अभियानलाई पनि निरन्तरता दिएको छ।
पहिलो वर्षबाटै सुरु गरिएको सुरक्षीत नागरिक आवास कार्यक्रमलाई यस वर्षपनि सञ्चालन गर्ने घोषणा गरिएको छ। भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलताको निति अवलम्बन गर्ने वताइएको निति तथा कार्यक्रममा सामाजिक विकृति र कुरितिलाई दुरुत्साहन गर्ने नितिलाई निरन्तरता दिएको बताइएको छ।
आगामी वर्षको निति तथा कार्यक्रममा शिक्षातर्फ स्थानिय पाठ्यक्रम तयार गर्ने, आधारभूत तहको परीक्षालाई मर्यादित बनाउने, शिक्षकहरुको पेशागत क्षमता विकासको लागि तालिमको व्यवस्था गर्ने उल्लेख गरिएको छ। ट्युसन, कोचिङ सेन्टरलाई व्यवस्थित गर्ने, वडा नं. ५ न्वारमा कृषि तथा पशु विज्ञान विषयमा स्नातक तहको क्याम्पसको सम्बन्धन ल्याउनको लागि पहल गर्ने उल्लेख गरिएको छ।
निति तथा कार्यक्रममा जनसहभागितामा आधारित योजना कार्यान्वयनमा स्थानिय उपभोक्ता समितिले विधिको पालना नगरेको र जनसहभागिता जुट्न नसकेको स्वीकार गरिएको छ। विपद व्यवस्थापन, जलवायु परिवर्तनन र वातावरण संरक्षणमा नयाँ प्रविधि अवलम्बन गर्न नसकेको पनि निति कार्यक्रमले स्वीकार गरेको छ।
निति तथा कार्यक्रममा कृषि तथा पशु विकासमा तर्फ खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, रैथाने जातका वालिलाई प्रवद्र्धन गर्ने, व्यवसायीक पशुपालनमा जोड दिने गरि वजेटको समेत व्यवस्थापन गरिएको छ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को यथार्थ आम्दानी खर्च विवरण, आर्थिक वर्ष २०७७÷७८ संसोधित अनुमान र २०७८ जेष्ठ महिना सम्मको यथार्थ आम्दानी खर्च विवरण, आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आम्दानी खर्च विवरण साथै मध्यकालिन खर्च संरचनाको विवरण, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पनि पास गरेको छ।
गाउँ सभामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। जस अन्तरगत प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मी, स्वास्थ्य शाखाका प्रमुख चुडामणि कँडेल, सवारी चालक राजन कुमार पाइजा र पूर्व लेखापाल जोक बहादुर बुढालाई प्रतिव्यक्ति नगद ५० हजार सहित सम्मान गरेको हो।
सभा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीको सहजिकरणमा सञ्चालन भएको थियो।