थम्मन थापा
नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । वि.सं २०७५ वैशाखमा माइक्रो वेभ रेडियो लिङ्कमार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिवारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोवाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ एलटिई सहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए । शर्माले भनें “भौगोलिक विकटता र दूरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरी यो सेवा शुभारम्भ गरेका हौं यसबाट स्थानीयबासी र त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुनेछन् ।
यसभन्दा पहिला उक्त टावरमा विद्युत नहुँदा सोलार सेटमार्फत टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रोसँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्ब हुने समस्या थियो अब भनें विद्युत जडान भएसँगै उक्त समस्या हटेको छ । ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनासँगको समन्वय, जनप्रतिनिधि, त्यहाँ रहेको नेपाली सेना र स्थानीयबासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पुर्याइएको छ । विद्युत पुराउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो । बागलुङ सदमुकामदेखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरी आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका वडा नं ९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँसँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए । समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा मोवाइल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका वडा नं ८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिङ्कमार्फत सेवा सञ्चालन गरिएको छ ।
अब कपिलवस्तु सालझण्डीदेखि ढोरपाटनसम्मको सडकअन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन सिकार आरक्षसम्मका भू–भागमा मोवाइल सेवा पुगेको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए । यसअघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरी तार लाइन टेलिफोन, क्रमशः सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाइसमा सीमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन् ।
भौगोलिक विकटता विविध कठिनाइका बाबजुद ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोवाइल सेवालाई स्तरोन्नति र विद्युतीकरण गर्न एक वर्षदेखि गृहकार्य गरिरहेको थियो । फोरजी मोवाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोवाइल डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । ढोरपाटन उपत्यका पर्यटकीय र सिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउ हो ।
त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सूचना आदानप्रदानको निमित्त मोवाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।